• असार १८ २०८१, सोमबार

स्थानीय सरकारका योजना सफलताका सूत्रहरू

असार ३२ २०७९, शनिबार

स्थानीय सरकार र जनप्रतिनिधिको राजनीतिक आर्थिक सामाजिक विकास लक्ष्य वा सफलता चुट्कीका भरमा प्राप्त हुँदैन । स्थानीय सरकारको सफलता स्थानीय योजनाको सशक्त निर्माण र कार्यान्वयनमा निर्भर गर्दछ ।

यदि हामी योजना बनाउन चुक्यौं भने हामी असफल हुने योजना बनाइरहेका हुन्छौं । यसकारण, स्थानीय योजना बनाउँदा भिजन, उद्देश्य लक्ष्य र प्राथमिकता तथा रणनीति स्पष्ट हुनुपर्छ भने योजना ‘नलेजवेस्ड’ पनि हुनुपर्दछ । यस सन्दर्भमा स्थानीय सरकारका योजनाको सफलताका सूत्रहरू यहाँ छलफलका लागि प्रस्तुत गरिएको छ ।

योजनाको तर्जुमाका प्रक्रिया र चरणहरू पछ्याउँदै योजना तर्जुमा गर्ने र कार्यान्वयन गर्ने विषय नितान्त प्राविधिक विषय हुन् । योजना तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन, स्थानीय सरकारसम्बन्धी कानुनको सम्यक ज्ञान तथा प्रशासनिक कार्यविधिका सम्बन्धमा स्थानीय तहका जनाप्रतिनिधिलाई स्थानीय सरकार वा प्रदेश वा संघीय सरकार वा राजनीतिक दलले तालिम वा सेमिनार सञ्चालन गर्नुपर्छ ।

स्थानीय तहपिच्छे नीति वा योजना आयोग बनाउने भन्ने तर्क खर्चका हिसाबले सम्भव हुँदैन । यस कारण हरेक प्रदेश सरकारले दक्षिण अफ्रिकामा जस्तो नीति योजना र बजेट सम्बन्धमा जानकार विज्ञ भएको एउटा ‘मोबाइल नीति सल्लाहकार टिम’ बनाउनुपर्छ ।

सो टिमले आफ्नो प्रदेशभित्रका स्थानीय तहहरूमा निरन्तर भिजिट गरी स्थानीय सरकारहरूलाई स्थानीय नीति, योजना तथा बजेट बनाउन र कार्यान्वयन गर्न प्राविधिक, प्रक्रियागत एवं प्रशासनिक रूपमा काम गर्न सक्नेगरी सशक्तीकरण गर्नुपर्छ ।

स्थानीय सरकारका योजनालाई सूचनामा आधारित बनाउन स्थानीय तहमा सबै प्रकारका (जनसंख्या, राजस्व स्रोत, स्थानीय पूर्वाधार, स्थानीय नागरिकको आवश्यकता र चाहनासम्बन्धी) तथ्याङ्कको डाटावेश खडा गर्नुपर्छ ।

स्थानीय सरकारले आफ्नो पालिकालाई कस्तो बनाउने सो सम्बन्धमा संविधानको मर्म, जनताको चाहना, समय र प्रविधि परिवर्तनसँगै सिर्जित माग, राजनीतिक दलको घोषणपत्र, संघीय र प्रदेश सरकारका योजनाका आधार र सिद्धान्तमा आधारित भई पालिकाको दूरदृष्टिकोण बनाउनुपर्छ ।

योजना तर्जुमा, कार्यान्वयन र मूलयाङ्कन प्रक्रियामा नागरिक, सरोकारवाला, समुदाय एवं विषयविज्ञको सहभागिता सुनिश्चित गर्नुका साथै योजना प्रक्रियालाई पारदर्शी बनाउनु पर्छ पालिकाले शासन सञ्चालनमा प्रदेश र संघीय सरकारसँग समन्वय, सहकार्य र सहयोग पनि गर्नुपर्छ ।
स्थानीय योजना तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि स्थानीय सरकारको प्रशासनयन्त्रलाई सक्षम, सरल, उत्पेरित, उत्तरदायी र प्रविधीमैत्री बनाउनु पर्छ ।

स्थानीय विकासका लागि स्थानीय निजी क्षेत्र, नागरिक समाज, सहकारी, समुदाय तथा गैरसरकारी संस्थासँगको सहभागिता वा साझेदारीलाई प्रभावकारी बनाउन सहभागिता र साझेदारीका क्षेत्र पहिचान गर्नुपर्छ ।

सारमा, स्थानीय सरकारमा निर्वाचित हुने बित्तिकै जनप्रतिनिधिले अधिकार क्षेत्र, कानुनी प्रक्रिया, प्रशासन सञ्चालन, योजना तर्जुमा र कार्यान्वयनका विषयमा जानेर काम गर्न कठिन हुन्छ । पढेर जानेको ज्ञान वास्तविक कार्यक्षेत्रमा अभ्यास गर्दा पर्याप्त पनि हुँदैन ।

यसकारण जनप्रतिनिधिलाई राज्य सञ्चालनका राजनीतिक, आर्थिक, सामाजिक, विकास तथा कानुनी आयाममा तालिम दिई सक्षम, उत्प्रेरित र क्रियाशील बनाई स्थानीय सरकारलाई सफल बनाउने वातावरण निर्माण गर्नुपर्छ ।