• असार २५ २०८१, सोमबार

१ सय २० रुपैयाँमै मासुभात खान जाने होइन त ?

असार ३१ २०७९, शुक्रबार

घोराही ३१, असार । १ सय रूपैयाँमा सादा दाल, भात र तरकारी पाइने होटलहरू घोराही–१४ सेवार खोला नयाँ बसपार्कमा थपिने क्रम बढेको छ । सबैभन्दा पहिले जक्सन होटल खुलेको थियो । ५/६ वर्ष अघि नै त्यसको मुल्यले धेरैलाई आश्चर्य चकित बनाएको थियो ।

घोराही बजारका चल्तीका मुख्य चोकहरूमा १ सय रूपैयाँमै खाना खुवाउने होटल धमाधम खुल्दैछन् । ठूला होटलभन्दा कम पैसामा खाना खुवाउने होटलको संख्या बढिरहेको छ । उनीहरूले शुद्ध, गुणस्तरीय तथा ताजा खाना खुवाउन मेहनत गरिरहेका छन् ।

कोहीले त ग्राहक पस्ने बित्तिकै साबुन सहितको हात धुने बेसिन, बस्नका लागि सजिला फर्निचर र गलैँचा बिछ्याएका हुन्छन् । ती होटल हेर्दा सुन्दर र अकार्षक देखिन्छन् । महंगो मूल्य तिर्नुपर्ने होटल र १ सय रूपैयाँमै खान पाइनेमा होटलमा खानाको गुणस्तरमा खासै अन्तर देखिँदैन ।

यही असार २ गते नेपाल कम्युनिष्ट पार्टीले साबिक राप्ती अञ्चल स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण गर्‍यो। जिल्ला सदस्यस्तरीय प्रशिक्षणमा सहभागीलाई भात खान पनि ती होटेलहरू नै सजिला भए ।

घोराही–१४ पुरानो बसपार्कमा रहेको बहुउद्देश्यीय सभागृहमा भएको कार्यक्रमका ती सहभागी भात खान नयाँ बसपार्क गए । हाल घोराहीमा १ हजार क्षमताको ठुलो सभाहल बनेको छ ।

त्यहाँ धेरैले कार्यक्रम गर्छन् । घोराही उपमहानगरपालिकाको मतगणना त्यहीँ गरियो । बजारभन्दा टाढा टाढाका वडाबाट आएका रातभरि बस्नेलाई पनि त्यही होटल उपयोगी भयो ।

यति बेला घोराही बजारमा १ कप चियाको मूल्य २५ रूपैयाँ निर्धारण गरिएको छ । दिनमा ४/५ कप चिया पिउने धेरै छन् । त्यसो गर्दा दैनिक एक/डेढसय रूपैयाँ चियामा खर्च हुने गर्छ । केही महिनाको अन्तरालमै १५ रूपैयाँ कप पर्ने चिया बढेर २५ पुगिसकेको छ ।

यता चियाको मूल्य बढ्दा भातको मूल्य भने घटेको छ । अहिले निम्न स्तरका व्यक्तिले पनि होटलमा खान सक्ने अवस्था सिर्जना भएको छ । ज्याला मजदुरी गर्नेहरू खुशी छन् अहिले ।

कोराना महामारीपछि बजार सुस्ताएको छ । धेरैले पसलको विकल्प खोजेका छन् । घडेरी र पसल साटेर गाउँतिर फर्किएका छन् । किस्ता तिर्न, घर भाडा तिर्न मुस्किल छ भनेर धेरै व्यवसायी कनकन गर्छन् ।

सामान्यत: बजारका होटलमा सादा खानाको दर २ सय रूपैयाँ, चिकनसहित ३ सय ५० रुपैयाँ र मटनसहितको खाना ४ सय रूपैयाँ पर्ने व्यवसायी बताउँछन् ।

यसरी ठुला होटलहरू १ सयमा तरकारी मात्रै पनि खुवाउन नसकिने दाबी गर्छन् । आआफूहरूलाई १ सय रूपैयाँमा खाना खुवाएको सुन्दा अचम्म लागेको दाङ–देउखुरी होटल व्यवसायी समितिका महासचिव टीकाराम भुसालले बताए ।

उनले त्यति सस्तोमा खाना खुवाउन नसकिने स्वीकार गरे । उनी उल्टै भन्छन्, ‘कसरी खुवाए ?’ एक पटक कार्यसमिति गएर तिनै होटलमा खाना खाने हो कि भन्ने प्रसंग चलेको थियो ।

पदाधिकारीको व्यस्तताले भ्याइएन । समितिबाटै निर्णय गराएर न्यूनतम मूल्य निर्धारण गरौँ भन्ने कुरा उठ्यो । त्यो पनि सफल हुन सकेन ।
व्यक्तिले लगानी गरेको छ, घाटा खाएर बेच्छ भने के गरौँ त भन्ने दुविधा सिर्जना भयो ।

अनि मापदण्डअनुसार चले/नचलेको हेरौँ भनियो । त्यसरी हेर्ने गुणस्तर डिभिजन कार्यालय वा सम्बन्धित पालिकामा रहेका उपभोक्त हित संरक्षण शाखाले हो भन्ने तर्क छ ।

उनीहरूले सडेको तरकारी, मरेका कुखुराको मासु, कम क्वालिटीको चामल खुवाएको हुनसक्ने आशंका गरे । त्यो प्रमाणित गर्न नसकेपछि आरोपमै सिमित छ ।

रिसइबीले भनेको अर्थ लागेको छ । सस्तोमा खाना खाएका कसैले पनि गुणासो गरेका छैनन् । उनीहरूले पकाएकोमा प्रश्न उठाएका छैनन् । खानेहरूले प्रतिक्रिया नदिएपछि अरू मापदण्ड छैन ।

खाना खुवाउनेहरूले भने त्यसलाई ‘व्यापारिक पोलिसी’ मानेका छन् । उनीहरूले बताए अनुसार सस्तोमा खाना खाने लोभले ग्राहक आउँछ । खाना सस्तोमा पाइएको बेलामा खाइहालौँ त भनेर अरू पनि खान्छन् ।

बोत्तलको पानी, चिसो खान्छ, मदिरा खान सक्छ, सलादहरू खान्छ, मासु थप्न खोज्छ यसरी अनेक परिकार खाँदा फाइदा त्यताबाट निकालिन्छ । भात मात्रै खाएर फर्किने कमै हुन्छन् ।

मजदुरहरू, चालक सहचालक, निम्न स्तरका कर्मचारी, मजदूरहरू धेरै लाभान्वित भएका छन् । होटलमा छिर्न डराउनेहरू निर्धक्कसँग खानपिन गरेर खुशी भएका देखिन्छन् ।

हुने पुग्ने पैसावाल पनि ‘फोकटमा किन बढि तिर्नु ?’ भनेर तिनै होटलतिरै जान थालेका छन् । घरमा पाहुना आएको बेला नानाथरी दु:ख गर्नुभन्दा उतै लैजान सजिलो छ ।

ती होटलले दैनिक ५० देखि १ सय सम्मलाई खाना खुवाउने गरेको अनुभव सुनाउँछन् । उनीहरूका अनुसार परिवारै आएर होटलको स्वाद चाख्न थालेका छन् ।

घरमा ग्यास सकिदा, चामल नहुँदा, पकाउन थकाइ लाग्दा, पाहुना आउँदा चिन्ता गर्नुपर्दैन । नजिकको १ सयमा खान पाइने होटलमा गएर अघाउन्जेल थपिथपी खान पाइन्छ । सबै खर्च र आफ्नो परिश्रम जोड्दाखेरि होटलको भन्दा घरमा महंगो पर्छ ।

सबै होटलले यसरी नै खाना खुवाउन थालेपछि ग्राहकका लागि चिन्ता गर्नु नपर्ने ती व्यवसायीका अनुभव छन् । तिनका अनुसार दिनभरि व्यस्त भइन्छ । थोरतिनो नाफा पनि कमाइन्छ ।

खाना मात्रै खुवाउँदा पनि दश पन्ध्र रूपैयाँ फाइदा आउँछ । धेरै जनाले खाँदा फाइदा झन् धेरै फाइदा हुन्छ । होटलमा ग्राहक बढाउने महत्वपूर्ण उपाय बनेको छ, सस्तो मूल्यको खाना ।

मानिसहरूलाई होटलमा खाने लत बसाल्नका लागि पनि केही वर्ष खुवाउनु पर्छ । यो कसैले रिसखिस मान्ने विषय होइन । होटलप्रति आकर्षण बढाउने अभियान हो यो । गुणस्तरमा कतै पनि प्रश्न गर्ने ठाउँ नराख्ने उनीहरूको भनाइ छ ।

यतिबेला घोराहीमा २० देखि ३० वटा १ सय रूपैयाँमा खाना खुवाउने होटल खुलेको समितिका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढाको भनाइ छ । उनका अनुसार बसपार्कमा पनि त्यस्ता होटल धेरै थपिएका छन् ।

सुरूमा एउटै थियो, केही वर्ष चल्यो पनि । अहिले तुलसीपुर चोक, विद्युत पछाडि, डिके पेट्रोल पम्प, ट्राफिक चोक लगायतमा १ सयमै खाना खुवाउने होटलहरू खुलेका छन् ।

त्यस्ता थप होटल खोल्नमा तिब्रता दिएका छन् । चियाको मूल्य हरेक महिनाजसो बढिरहेको बेला खानाको मूल्य घटिरहेको छ । बफाउँदै गरेको ताजा भात, उम्लिरहेको दाल तिनै होटलमा पाइन्छ । ग्राहकको लर्को लाग्ने भएकाले भात पकाएर पर्खि बस्नु पर्दैन ।

अहिले राजमार्गमै त्यस्ता होटल खुलेकाले यात्रुहरूलाई पनि सस्तोमा ताजा खाने अवसर दिएका छन् । सबै वस्तुको मूल्य वृद्धिहुँदा घोराहीमा खानाको मूल्य घट्नु सबैका लागि आश्चर्यको विषय बन्न पुगेको छ ।