शाहिदा वानो शाह, नेपालगन्ज बाँके ।आजभोलि अन्तर जातीय विवाहको समाचार दिनदिनै आइरहेको छ । फलाना दलितको छोरीको विवाह फलाना बाहुनका छोरासँग गरेको वा फलाना दलितको छोरालाई फलाना बाहुनले आफ्नो ज्वाइ बनाए। यसैगरी मुस्लिम समुदायमा हेर्ने हो भने फलाना अंसारीका छोरी फलाना खानकी बुहारी बनेकी छिन् । फलाना शेखका छोरा फलाना जसगढका ज्वाइ बनेका छन् । यस्ता खबर र समाचार सुन्दा हेर्दा हामीलाई पनि खुशी लाग्छ कि ओहो अब हाम्रो समाज फेरिदैँछ । अब तल्ला जातीसँग माथिल्ला जातीहरुको विवाहवारी चल्न थाल्यो । हामी मनमनै ख्याली पुलाव बनाउन सुरु गर्छौं कि छुवाछुतबाट मुक्त हुन लागि सकेको छ ।
समाजभित्रको यथार्थ यो छ कि दलित विद्यार्थी, सांसद र मन्त्रीले कोठा समेत नपाएको देश यही नेपाल हो । जहाँ जातीय विभेद अन्त्यकालागि ठुलाठुला उदाहरणहरु सामाजिक सञ्जाल र समाचार मार्फत साझा गरिन्छ । जुन समाचार सुन्दा पढ्दा र हेर्दा राम्रो लाग्छ कि अब समाजमा विभिन्न खाले विभेदको मुख्य कारण जातीय विभेदको अन्त्य हुँदैछ । जातीय विभेद गर्ने त्यही समाजको वास्तविकता र त्यसमा पनि अन्तर जातीय विवाहको यथार्थता भिन्दै रहेको छ । अहिले पनि समाजमा तल्लो जातीलाई माथिल्लो जाति समुदायले अछूत भनि घृणा गरी प्रताडि़त गरेका प्रशस्त घटनाहरु छन् । अहिले पनि दलित समुदायलाई मन्दिर जान दिदैन् । कति ठाँउमा त दलित समुदायको बस्ती नै छुट्याइएको छ। उनीहरुले सार्वजनिक धारा छोएमा कुटपिट गरिन्छ । समुदाय बीच अहिले पनि जातीय विभेद कायम छ ।
कालीकोटको घटना हेरौं जसमा दलितले चुलो छोएको भन्ने निहुमा निर्घात कुटपिट गरि जुत्ताको माला लगाइयो । दलितले धारा छोएको भन्दै कुटपिट गरी कालोमोसो लाउने यही नेपाल नै हो । फलानाका कारण धर्म मास्यो भनेर दिसा खुवाइने र निर्दयताको सीमा नाघि दलितको हत्या समेत गरिने देश यही हो । अन्तरजातीय विवाहमा नीजि स्वार्थ लुकेका हुन्छन् । होइन भने आज पनि समुदायमा धेरै यस्ता महिलाहरु छन् जसका उमेर पुगेर पनि विवाह हुन सकेको छैन् । यसै विषयसँग जोडिएर नेपालगंजकी २७ वर्षीय हसीना बानो भन्छिन् –“सब भन्दा ठुलो विभेद आर्थिक असमानता हो आर्थिक हैसियत हो । नत्र यहाँ अहिले पनि अधिकांश यस्ता अविवाहित महिला छन् जसको विवाह परिवारको आर्थिक अवस्था कमजोर रहेकोले हुन् सकिरहेको छैन् ।”
यसैसँग सम्बन्धीत रही नेपालगंज कि ४३ वर्षीय नन्कइ कनौजिया (नाम परिवर्तित) ले भनिन् – “आज भोलि वैवाहिक नाता धन, ओहदा र नामका आधारमा तय गरिन्छ । जो धनी छ जसको ओहदा र नाम बढी छ उसकी छोरीलाई माग्न आउँछन् दलित समुदायभित्र जो साधारण हैसियतका परिवार छन् तिनका छोराछोरीलाई आज पनि बिहे हुन गाह्रो नै छ ।” यिनीहरुले भनेका कुराले प्रष्ट हुन्छ कि जातीय विभेद अन्त्यका नाम लिई ख्याति कमाएका यी विवाह साच्चिकै भन्ने हो भने जातीय विभेद अन्त्यका लागि नभई आफ्ना व्यक्तिगत फाइदाका लागि गरिने वैवाहिक सम्झौता मात्र हुन् । समाचारमा आएका अन्तर जातीय विवाहको वास्तविकता थाहा पाउन व्यक्तिहरुको पृष्ठभूमि पनि हेर्न आवश्यक छ ।
अन्तर जातीय विवाह बारे आएका समाचारमा जहिले पनि हेर्नुहुन्छ होला ठुलाठुला अक्षरमा अघिल्लो पृष्ठमा लेखिएको हुन्छ फलाना दलित गायकको विवाह फलाना जनजाति(डाइरेक्टर)सँग, फलाना जयसवाल व्यापारीको छोराको विवाह ढिस्काना गुप्ता (सांसद)की छोरीसँग, फलाना यादव नेताकी छोरीको विवाह ढिस्काना आचार्य (वरिष्ठ अधिकृत)सँग, फलाना शर्मा (मन्त्री)का छोराको विवाह ढिस्काना झा (मन्त्री)की नतिनीसँग, फलाना खान (वरिष्ठ पत्रकार)की सालीको विवाह ढिस्काना शाह (वरिष्ठ नेता)को भाईसँग, फलाना अंसारी (डाक्टर)का नातिको जो डाक्टर रहेको छ उसको विवाह ढिस्काना शेख (डाक्टर)को डाक्टर रहेकी बहिनीसँग, फलाना जसगढ (इन्जीनियर)को (इन्जीनियर) छोराको विवाह ढिस्काना अंसारी (अधिवक्ता)की (सरकारी जागिरे) दिदीसँग, फलाना क्षेत्री (न्यायधीश)का (वरिष्ठ वकिल) रहेकी छोरीको विवाह ढिस्काना दलित (जमिन्दारको विधायक) छोरासँग, फलाना बाहुन (न्यायाधीश)का भतिजाको विवाह ढिस्काना दलित (न्यायाधीश) कि छोरीसँग, फलाना साहुको (खेलाडी) छोरीको विवाह ढिस्काना भट्टाचार्यको (कोच) छोरासँग । यहाँ कुनै सामान्य परिवारको कुरा गरिएको छैन् । दलितका नाममा कुनै सामान्य लुहार वा दमाईकी छोरीको बाहुनसँग विवाहको जिकिर छ त छैन् नि । हेर्नुस् कुनै जनजातिको नाममा थारुको जिकिर छ त छैन् । हेर्दै जानुस् के एक सामान्य पहाडी परिवार र सामान्य मधेशी परिवारको जिकिर छ त छैन् ।
मुस्लिम समुदायको कुरा गर्न हो भने समुदायको आधार नै हरेक खाले विभेदको अन्त्य गरी समानतालाई आत्मसात गर्ने शिक्षा दिन्छ । जहाँ न अरबीलाई गैर अरबीमाथि उत्कृष्टता छ न गोराहरुलाई कालामाथि उत्कृष्टता छ । न अग्लालाई होचामाथि उत्कृष्टता छ । न शहरीलाई गाउँलेमाथि उत्कृष्टता छ । न जमिन्दारलाई किसान माथि उत्कृष्टता छ । न हाकिमलाई जनतामाथि उत्कृष्टता छ । न त एशियनलाई अफ्रीकन माथि उत्कृष्टता छ । मश्जिदमा अल्लाहको घर प्रार्थना गर्ने स्थान हो । त्यहाँ सबै जातजाति समुदायलाई एक ठाँउमा काँधमा काँध जोडेर उभिनुपर्छ मश्जिदमा नमाज पढ्दाखेरि सब समान हुन्छ त्यतिबेला कोई ठुलो कोई सानो हुदैन् एक इमामका पछाडि सबैले नमाज पढ्छन् नमाज पढाउने इमाम लुगा धुने धोबीको छोरा किन न होस् त्यतिबेलाको बादशाहलाई पनि त्यतिबेला पछाडि नै बस्नुपर्छ । यस्तो समानताको पाठ सिकाउने इस्लाम धर्ममा कहाँ कम छन् र आफु आफै ठूलो बन्ने र आफुलाई उच्च भनाउँदाहरु । अलिकति सम्पत्ति जोड्यो कि अब उसलाई समाजका गरीबहरु झिनामसिना लाग्न थाल्छन् । अब उसको आफ्नो हाई शोसाइटी सर्किल बिल्डप हुन्छ । जो लगजरियश जीवन बिताएका हुन्छन् र साना र मध्यम वर्गमा बस्न गाह्रो मान्छन् ।
अब आफै सोच्नुस् के माथिका यी उल्लेख गरिएका वैवाहिक सम्बन्धहरु जातीय विभेद अन्त्य गर्ने उद्देश्य लिएर नै गरिएका हुन् त ?के यस्ता वैवाहिक सम्बन्धले सामाजिक रुपमा कायम रहेको अन्तर जातीय विभेदलाई साच्चिकै कम गर्न टेवा पुर्याएको छ ? तपाईको मनले के जवाफ दिन्छ ? हो ती अन्तर जातीय विवाह नीजि स्वार्थमा नै केन्द्रित रहेका हुन्छ कुनै राजनैतिक स्वार्थका आधारमा हुन्छन् कि यदि यसो भयो भने मलाई राजनैतिक संरक्षणका साथै पदोन्नति मिल्छ । कुनै आर्थिक स्वार्थमा आधारित कि यदि यसो भयो भने उसले आर्थिक लगानी गर्छ । कुनै स्टेटस मेन्टेनेन्स अर्थात सामाजिक प्रतिष्ठाका नाममा आधारित हुन्छन् कि यदि यसो भयो भने मेरो गरिमा बढ्छ । कुनै व्यवसायिक स्वार्थमा आधारित हुन्छन् कि यदि यसो भयो भन्दा मेरो व्यापार माथि जान्छ । कुनै विवाह त ऊ आफ्नो नाम जोडेर समाजमा आफु प्रख्यात हुने लोभमा हुने गरेको हेर्नु भयो होला कि यदि मेरो उसँग जोडियो भने म सफल हुन्छु । चलचित्र क्षेत्रमा हेर्नु हो भने त्यहाँ सोच्छन् यदि यसो भयो भने मेरो फिल्मका लागि उसले गीत गाउँछ वा मलाई नयाँ फिल्ममा आफर दिलाउँछ । यसै गरी स्वास्थ्य क्षेत्रमा हेर्ने हो भने यदि यसो भयो भने मलाई नीजि अस्पताल बनाउन वा स्वास्थ्य सम्बन्धित सुविधा, बजेट र अन्य सहुलियतहरु दिलाउँछ ।
यस कारण भ्रममा नपर्नुस् कि अन्तर जातीय विवाह समाजमा सकारात्मक परिवर्तनका लागि गरिदैछ । यसरी सम्झौता र स्वार्थमा आधारित रहेर गरिएका विवाह कुनै हालतमा जातीय विभेद अन्त्यका लागि गरिदैन् न त यसले सामाजिक रुपान्तरण नै गर्छ । यो नितान्त आफ्नो व्यक्तिगत फाईदालाई मध्यनजर गरी गरिन्छ । स्वार्थपूर्तिका लागि मात्र विहे गर्ने हुँदा अन्तर जातीय विवाह सफल नभएको स्पष्ट देखिन्छ ।