कोलम्बो । श्रीलङ्काको सेनाले बिहीबार संसद भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसदमा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ ।
श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीहरूले बुधबार आक्रमण गरेका छन् ।
अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ । जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर विरोध जनाएका थिए । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका थिए ।
देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षे र उनकी श्रीमती आज साउदी अरेबियाको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन् । अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसदको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहिले श्रीलङ्का इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ । बढ्दो मुद्रास्फीतिका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ ।