• आश्विन १३ २०८१, आईतवार

आफू हुने प्रयास गर, अरूको ‘कपिक्याट’ होइन

असार २९ २०७९, बुधबार

ज्याक मा चिनियाँ खर्बपति हुन् । उनी अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान हुन् । उनी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् ।

ब्लूमबर्गको इन्डेक्स अनुसार ज्याकको सम्पत्ति २३ बिलियन डलर रहेको छ । उनी सुरूमा अंग्रेजी शिक्षक थिए । उनको चासो इन्टरनेटतिर बढ्दै गयो ।

उनले इन्टरनेटको सानो उद्यम थालनी गरे । अलिबाबाको स्थापनसँगै चीनमा उनको बिजनेस हावासरी बिस्तार भएपछि उनले आफ्नो बिजनेस अमेरिका, युरोप र अफ्रिकी देशहरूमा बिस्तार गरे ।

उनी अहिले सफलताको शिखरमा छन् । बेलाबेलामा अन्तरविरोधी कुरा गर्ने र चर्चामा आउने ज्याक मा चिनियाँ सरकारको कर छलीको दायरामा पनि पर्ने गरेका छन् ।

ज्याक माका अनुसार कोही पनि व्यक्ति सफल हुन तपसिलका कुराहरूको गम्भीर भएर ख्याल गर्नुपर्ने बताउँछन् :

१. सफलताको शिखरमा पाइला टेक्न धैर्यता निकै जरूरी हुन्छ ।

२. जीवन अत्यन्तै छोटो, अति सुन्दर र अनुपम छ ।

३. काममा जति गम्भीर भएर लागिन्छ, उत्तिकै स्वादका साथ जीन्दगीको रसास्वादन गर्न सकिन्छ ।

४. संसारमा पैसाको कमी छैन, बरू कमी छ सपना देख्ने मानिसहरूको !

५. प्रतिस्पर्धा वस्तुको मूल्यमा कहिल्यै नगर्नुस्, सेवा र सिर्जनशीलतामा गर्नुस् ।

६. यो संसारमा अवसर छ कि छैन भन्ने कुरा थाह पाउन प्रयत्न गर्नैपर्छ । विनाप्रयत्न अवसर छ कि छैन भन्ने कुरा कसरी थाह हुन्छ ?

७. तपाई जो हुनुहुन्छ, आफू हुने प्रयास गर्नुस् । अरूको देखासिकी वा ‘कपिक्याट’ले खुसी र सफलता मिल्दैन ।

८. संगतका लागि इमान्दार व्यक्ति रोज्नुस्, अति इमान्दार होइन ।

९. हार नखानुस्, आज कठिन छ । भोलि झनै कठिन हुनेछ तर पर्सी अवश्य सरल बनेर आउने छ ।

१०. हार नखाने मानिसको अघिल्तिर अर्को एउटा मौका वा विकल्प आइरहन्छ । हार खानेको अघिल्तिर असफलता मात्र हुन्छ ।

११. जहाँबाट गुनासो आउँछ, त्यहीँबाट मौका पनि आइरहेको हुन्छ ।