• मंसिर ११ २०८१, मंगलवार

अविराम प्रयत्नमा फूलेका गण्डकी रत्न महावीर पुन

असार २८ २०७९, मंगलवार

पोखरा । गण्डकी प्रदेश सरकारले अविराम अनुसन्धानमा लागिपरिरहेका वैज्ञानिक तथा अनुसन्धानकर्ता महावीर पुनलाई गण्डकी रत्नबाट विभूषित गरेपछि स्वाभिमानी नेपालीहरू माझ खुशी छाएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरूङले प्रदेश राजधानी पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेर उनको मर्यादाक्रम प्रदेशसभा सदस्य बराबरको उचाइमा पुर्‍याएका छन् ।

ठीक यति नै बेला प्रदेशसभा र प्रदेश सभाका सदस्यहरूको उचाइ खोजकर्ता तथा अनुसन्धानकर्ता महावीर पुनको उचाइ बराबर रहिरहन सक्ला कि नसक्ला भन्ने अर्को प्रश्न पनि एकसाथ उठेको छ । तथापि गण्डकी प्रदेशले गरेको निर्णयमा सर्वसाधरण निकै खुशी छन् ।

महावीर पुनको हैसियत र मर्यादाको सम्मानमा देशभरका जनता खुशीसाथ सहभागी भइरहेका बेला केन्द्रीय सरकारमाथि केही प्रश्नहरू गम्भीर रूपमा उठेका र उठाइएका पनि छन् । महावीर पुनले सम्मान हुँदाका अवसरमा दिएका सरल अभिव्यक्तिमा पनि त्यसको स्पष्ट छटाहरू देखिन्छन् ।

गण्डकी प्रदेशले गण्डकी रत्न प्राप्तिका लागि योग्य व्यक्तिहरूको छनौटको मापदण्ड तय गर्दा वास्तविक धरातललाई छोएको छ । यसले मापदण्ड अनुरूप योग्य व्यक्तिको खोजी गरेर सबैलाई खुशी पनि गराएको छ ।

मापदण्डमा ‘शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट’ भन्ने कार्यविधि तय गरेर महावीर पुनसम्म पुग्ने र योग्यहरूमा पनि सुयोग्य व्यक्ति खोज्ने वातावरण निर्माण गरेको छ ।

धेरैको यस कुरामा आलोचनात्मक टिप्पणी पनि छ कि सुरूका दिन भएकाले सबैका मनमस्तिस्कमा बस्न सफल महावीर पुनलाई छनौट गरियो, तर पछि आफ्ना आसेपासे र चम्चे र चाकरहरूलाई छनौट गर्ने परिपाटीमा भुलेर पनि यसलाई नलगियोस् ! यो आलोचनात्मक चेतलाई गण्डकी प्रदेशले व्यवहारिक रूपमा नै पछ्याइरहोस् ।

यस अतिरिक्त संघीय सरकारसँग आमजनताले गरेका गम्भीर प्रश्नहरू आफैमा जायज छन् । पहिलो हो, महावीर पुन संघीयसभा वा संघीय प्रतिनिधिसभा बराबर योगदान दिएका व्यक्तिमा पर्न किन सकेनन् ? वा, संघीय सरकार महावीर पुनसँग किन पूर्वाग्रही छ ?

आमजनताको सहज अनुमान छ, उनी संघीय सरकार र ‘राष्ट्रिय पार्टी’ भनिएका दलहरूको सदस्य रहेनन् । नेताका चाकरी पनि गरेनन् । र, उनीहरूको जयगान गर्ने समय पनि पाएनन् । उनी स्वाभिमानी र अनुसन्धानगामी न परे ।

यी ‘गुणहरू’ नहुनुका कारण केन्द्रीय सरकारको आँखामा महावीर पुनप्रति पूर्वाग्रहको अन्धपट्टी बाँधिइरह्यो । अर्कोतिर उनको स्वाभिमानी खोज र अनुसन्धान केन्द्रीय सरकार र नेताहरुको दलाल प्रवृत्तिविरुद्ध पनि अनजान रूपमा जबर्जस्त ठोक्किन पुग्यो ।

वास्तवमा महावीर पुनका खोज तथा अनुसन्धान केन्द्रीय सरकार र नेताहरुका लागि ‘किन टोक्यो कमिलाले पत्तो पा’को छैन, यहाँनिर टोक्यो भनी भन्नु भा’को छैन’ भनेजस्तै हुन गयो । यसमा अव्यक्त अन्तरविरोधले घर गर्न पुग्यो ।

महावीर पुन सम्मानित भएपछि उनले व्यक्त गरेको सरल अभिव्यक्ति आफै बोल्छ, ‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो ।’ त्यसैले त राणा, राजा र अहिलेका शासकहरुलाई गेहेन्द्र शमशेर, मुसे थापा र महावीर पुनहरू मन नै पर्दैन ।

पहिलो र दोस्रो विश्व युद्धमा नेपाली युवाहरुको मानव फौज व्यापार गर्ने, ब्रिटिश तथा इण्डियन साथै सिंगापुरमा युवाहरु पैठारी गर्ने नेपाली शासकहरुको निरन्तरताले जनमुक्ति सेनालाई ड्रेससहित किनबेच गर्नेसम्मको निरन्तरता पायो ।

तर महावीर पुन भन्छन्, ‘युवाहरू रोजगारी खोज्दै विदेश धाउँदा देशको अर्थतन्त्र अस्तव्यस्त भएको छ ।’ रेमिटेन्सले अघाएर डकार्नेहरूका लागि पुनको यो सरल र यथार्थ अभिव्यक्तिले मुटुमा च्वास्स संगीन घोप्न पुग्छ ।

परनिर्भरताको पराकाष्टामा पुगेको यो देश अरू देशहरुबाट सियो र धागो आयात गरेर जीवन धान्न रमाउँछ । यस कारण पनि पुनको ‘अनुसन्धान र विकासका लागि अब ढिलाइ गर्नु हुँदैन’ भन्ने अभिव्यक्तिले त्यत्तिकै अधैर्य र उत्तेजित बनाउँछ ।

देशको समग्र आयस्रोत र साधनस्रोत कब्जा गरेर बसेको संघीय सरकारले संरचनागत रूपमै देशमा अध्ययन र अनुसन्धानमूलक काम कार्यका लागि कुनै पनि आर्थिक सहयोग दिन नमिल्ने परिपाटी निर्माण गरेको छ । यसको गहिरो अनुभूति पुनको ‘हाम्रो बजेट सिष्टमले (अनुसन्धानका क्रममा) असफल भएको कार्यक्रमलाई रकम दिन नमिल्ने भन्छन्, तर सबै अनुसन्धान सफल नै हुन्छन् भन्ने छैन,’ भन्ने पंक्तिमा अभिव्यक्त हुन गएको छ ।

पुनको देश विकास र देशको समृद्धिमा गहिरो चासो र अडान छ । उनले गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमार्फत् आविष्कार केन्द्र खोलेकाले आफू गण्डकी रत्न स्वीकार गर्न मञ्जु भएको कुरा खुलासा गरेका छन् ।

यस अघि नै रामोन म्यागासेसे पुरस्कारबाट सम्मानित पुन स्वयम् राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । उनले सफलतापूर्वक खोज तथा अनुसन्धान गरेका बायोमेडिकल, कृषि, शिक्षा, ड्रोनलगायत क्षेत्रमा युवा वैज्ञानिक तथा खोजकर्ताहरूले अग्रसरता लिनु आजको आवश्यकता हुन गएको छ ।