नेपालमा पर्यावरणीय प्रदुषण बढेसँगै क्षयरोग (टीबी) का विरामीहरुको संख्यामा पनि बढोत्तरी हुँदै गएको छ । पहिले शरीर जीर्ण देखिने र कुपोषणका कारण लाग्ने गरेको क्षयरोग अहिले विना लक्षण र हृष्टपुष्ट मानिसमा पनि लाग्ने गरेको छ ।
सरकारी तथा निजी स्वास्थ्य निकायहरुले क्षयरोग यसरी किन फैलन थालेको छ भन्ने बारेमा आफ्ना धारणा आधिकारिक रूपमा सार्वजनिक त गरेका छैनन्, तर पनि उनीहरु वातावरण प्रदुषणका कारण क्षयरोगले शरीरमा सजिलै संक्रमण गर्नसक्ने अनुमान भने सांकेतिक रूपमा अभिव्यक्त गर्ने गरिरहेको छन् ।
माइक्रोब्याक्टेरिया ट्युवरक्युलोसिस नामक व्याक्टेरियाको संक्रमणबाट हुने क्षयरोग मूलतः यो रोग लागेका मानिसहरुको नजिकैको संपर्कमा आउँदा सर्ने गर्दछ । यो सरुवा रोग हो । अस्वस्थ जीवनशैली, खानपानमा अनियमितता र धुम्रपान तथा मध्यपानका कारण क्षयरोग लाग्ने गर्दछ ।
तर अहिले हेर्दा स्वस्थजस्ता देखिने, युवा युवती र कतिपय बालबालिकामा पनि यो रोग देखिने गरिरहेको छ । समाजमा अहिले पनि लोकलाजको मान्यता हराएको छैन ।
कतिपय क्षयरोग रोगीले आफूमा क्षयरोग रहेको बताउँदा समाजले बहिस्कार गर्ने, अपहेलित हुने, आफ्नो पहिचान खुल्ने आदि डरका कारण पनि आफू क्षयरोगबाट संक्रमत भएको बताउन नचाहने गरिरहेका देखिन्छन् । रोगी मानिस आफन्त हुन सक्छ, तर रोग आफ्नो वा आफन्त हुन सक्दैन ।
नेपालमा हरेक वर्ष ६८ हजारका दरले क्षयरोगीको संख्या थपिने गरेको छ । यो पहिलेका वर्षहरुमा थपिने गरेका १०, २०, ३० र ४२ हजार संख्याको तुलनामा निकै बढी हो । यो संख्याले सबैलाई अत्याएको पनि छ ।
नेपालमा क्षय रोगका बारेमा अझै पनि भ्रम रहने गरेको छ । क्षय रोग केवल फोक्सोमा मात्र हुन्छ र फोक्सो जँचाएपछि पत्ता लागिहाल्छ भन्ने छ । तर क्षयरोगको संक्रमण बहुआयामिक रहने गरेको खोजले देखाएको छ ।
छातीभित्र रहेको फोक्सोमा हुने क्षयरोग वा टीबी त्यहाँ मात्र सिमित हुँदैन । यो हड्डीमा पनि हुन्छ, आन्द्रामा पनि हुन्छ । यो रोग गिदी र डिम्बाशय लगायतका विभिन्न अंगहरुमा पनि हुन सक्छ ।
तर हालसम्म क्षयरोगको जाँच केवल फोक्सोमा मात्र गरिन्छ र नभेटिएमा क्षयरोग संक्रमितलाई तपाईमा क्षयरोग छैन भनेर चिकित्सक स्वयम्ले घोषणा नै गरिदिन्छन् । विभिन्न अंगहरुमा क्षयरोग छ कि छैन भनी जाँच नगरिने भएकाले पनि मानिस क्षयरोगले ग्रस्त भएर जीन गुमाउन पुगेको उदाहरण हाम्रासामु छन् ।
यस्ता कारकहरुमध्ये सबैभन्दा ठूलो मनोवैज्ञानिक कारण रहेको छ । त्यो हो, समाजमा अपहेलित हुने डरले क्षय रोगीहरू उपचार गर्न आउन हिच्किचाउनु हो । यसले पनि क्षयरोग संक्रमणको दरमा निकै बृद्धि हुन गइरहेको छ ।
पहिले निकै ठूलो महामारीका रूपमा लिइएको क्षयरोग अहिले नियन्त्रणमा आइसकेको छ । विश्व मानवले यो रोगबाट मुक्त हुँदै र पुनर्जीवन प्राप्त गर्दै गइरहेको पनि छ । सामान्यतः नछुटाएर औषधिको मात्रा पूरा गरेमा यो रोग समयमै निको हुने गरेको पनि छ ।
नेपालमा यसको उपचार ९० प्रतिशत सफल रहेको अवस्थामा छ । तर लुकेको तथ्यांक भने के छ भने क्षय रोगबाट संक्रमितमध्ये ५० प्रतिशत मानिस अझै पनि उपचारको दायरामा आउन सकेका छैनन् ।
यसमा क्षय रोगका विविध प्रकृतिहरुको ज्ञान नहुनु, समाजमा अपहेलित भइन्छ भन्ने डरले अनकनाउनु, आफूलाई स्वास्थ्य परीक्षणमा राखिरहनु पर्छ भनेर सोच नबनाउनु, अस्पतालमा गएपछि एउटा न एउटा रोग छ भनिदिइहाल्छ भनेर उल्टै रोगमैत्री मनोरोग पालेर बस्नु आदि कुराहरूले काम गरिहेका छन् ।
यी भ्रमात्मक कुराहरूबाट बाहिर नआउँदासम्म समाजमा क्षयरोगको नियन्त्रण अभियान सोचे झैं सफल नहुने देखिन्छ । यसका लागि प्रचार प्रसारका साथै वैयक्तिक तत्परता र सहभागिता पनि जरूरी छ ।