• फाल्गुन २६ २०८२, मंगलवार

विक्षिप्त अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते,

असार २७ २०७९, सोमबार

लस एन्जेलस, २७ असार ।

अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार राती १२ः४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । ती मध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् । गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुक सम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ । तर बन्दुक राख्न पाउने कानून भएपनि पछिल्लोचरणमा नै किन त्यसको दुरुपयोग भइरहेको छ भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।

विश्लेषकहरुले अमेरिकामा विश्व राजनीति, आर्थिक संकटका साथै रुस–युक्रेन युद्धका कारण छाएको आर्थिक मन्दीबाट धेरै मानिसहरुमा निरासा छाइरहेको बताउँदै आएका छन् ।

सोही निरासा र विक्षिप्तताका कारण त्यहाँ एकले अर्कोलाई गोली हान्ने जस्ता अपराध गर्दै आएका छन् ।

राजनीतिक विश्लेषकहरुले यसलाई शक्तिशाली अमेरिकाको ओरालोतिरको यात्रा बताइरहेका छन् । यसअघि पनि अमेरिकामा थुप्रै गोलीकाण्डहरु भइसकेका छन् ।