• मंसिर १४ २०८१, शुक्रबार

रुस-युक्रेन युद्धले नित्याएको आर्थिक संकट टार्न विदेशी लगानी भित्याउनु पर्छ : ढकाल

असार २७ २०७९, सोमबार

काठमााडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधारणसभाका अवसरमा लन्डनमा आइतबार आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो– ‘विश्वमा देखिएको कोरोनाको प्रभावको आर्थिक मन्दी तथा संकटका बाछिटा नेपालमा पनि नदेखिएको भन्न मिल्दैन, त्यो समस्या हामी पनि झेलिरहेका छौँ ।’

उहाँले नेपाललाई यस्तो संकटमा पर्न नदिन र आर्थिक अवस्थालाई बचाईराख्न संसारभरमा रहेका नेपालीहरुले नेपालमा पूँजी र प्रविधि भित्र्याउन र वैदेशिक लगानी गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको समन्वयमा अब यहाँहरुले पनि डलरमा खाता खोल्ने अवसर प्राप्त गर्नुभएको छ, यसबाट लाभ लिनुहोुस् र नेपालमा बढी भन्दा बढी लगानी ल्याउनुहोस् भन्ने मेरो आग्रह छ ।’

उहाँले सुरुमा कोरोनाको कहर र पछिल्लो समयमा आएर रुस युक्रेन युद्धका कारण विश्वको अर्थतन्त्रमा अनेकन समस्याहरु देखा परिरहेको र महंगी बढेको, र त्यसको मारमा हामी नेपाली पनि परेको धारणा राख्नुभयो ।

लगानी गरेर राम्रो प्रतिफल लिन मिल्ने संसारका धेरै देशहरुमध्ये नेपाल पनि एक रहेको उहाँको भनाई थियो ।

उहाँले नेपालमा लगानीका कैयौँ सम्भावना रहेको र नेपालमा लगानीबाट धेरैभन्दाधेरै प्रतिफल लिन सकिने उदाहरण पनि पेश गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष ढकालले आफूहरुले गैरआवासीय नेपालीहरुसँग लगानी गरेकाले त्यो अनुभव रहेको दृष्टान्त पनि पेश गर्नुभयो ।