• असार २५ २०८१, सोमबार

पाँच वर्षमा हुनेकाम पाँच महिनामै गर्ने राज्यमन्त्री केसीको घोषणा

असार २७ २०७९, सोमबार

घोराही २७, असार ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहकुलपतिको हैसियतले आइतवार प्रवेश गर्नुभयो । प्रतिष्ठानका सम्पूर्ण संरचना एवम् सेवा सुविधाको अवलोकन गर्नुभयो । उहाँले निकै गहिरो ढंगले नियाल्नुभयो । ‘केन्द्रबाट कुनै कमि हुनेछैन’ राज्यमन्त्री केसीले भन्नुभयो, ‘यसैमा केन्द्रित छौँ थप व्यवस्थित गर्न चाहन्छौँ ।’

उहाँका अनुसार दाङको इज्जत प्रतिष्ठाको विषय हो । विगतमा प्रतिष्ठानले शिर निहुराउने बनाएको छ । अब विशेष जिम्मेवारी पाएकाले कुनै कसर बाँकी नराख्ने प्रतिष्ठानका सहकुलपति समेत रहनुभएका केसीको भनाई थियो । उहाँले पाँच वर्षको स्पिरिट पाँच महिनामा पुरा गर्ने बताउनुभयो ।

यस क्षेत्रका बासिन्दालाई उच्च स्तरको सेवा दिन प्रयत्नरत रहेको उपकुलपति डा.विकास लामिछानेले जानकारी गराउनुभयो । उहाँले यस अघिको पाँच हजार पाँचसयको क्याबिनलाई तिन हजारमा झारेको जानकारी गराउनुभयो ।
‘सेवा राम्रो नभए तलबै खुवाउन सक्दैन’, उपकुलपति डा. लामिछानेले भन्नुभयो, ‘बेच्ने सेवा नै हो ।’

उहाँका अनुसार विशेष सुविधा खोज्नेलाई अटेज सहितका प्रभाइभेट क्याबिन चलाएको छ । नवनिर्मित भवनमा राज्यमन्त्री केसीलाई अबिर, पुष्पगुच्छा तथा खादा पहिराएर नर्स एवम् चिकित्सकहरुले स्वागत गरेका थिए । त्यस लगतै नयाँ भवन अवलोकन गराइएको थियो ।

लेक्चरल हलमा पुगेपछि प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले स्लाईड मार्फत् समग्र अवस्थाको प्रस्तुतिकरण गर्नुभएको थियो ।

उहाँले हेलिप्याड र आकाशे पुल सहितका आधुनिक भवन बनाउने परिकल्पना भिडियो क्लीप मार्फत् देखाउनुभयो । यसैगरी स्किृति पाउने बित्तिकै बिएससी नर्सिङ र बिएनएसको पढाई सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा गरेको जानकारी दिनुभयो । स्वास्थ्य बीमाको रकम एक करोड नौ लाख बढि भुक्तानी आउन बाँकी रहेकाले काम गर्न कठिन भएको बताउनुभयो ।

रजिष्ट्रार थापाका अनुसार संस्थानले कर्मचारी अपुग भएकै कारण बीमा रकम भुक्तानी दिन ढिला भएको छ भनेर जवाफ पठाउँछ । आवश्यक पहल गरिदिन निवेदन गर्नुभयो । दैनिक छ सय बिरामी उपचार सेवा लिने गरेको असपताल निर्देशक डा. प्रज्ञासिंह बस्नेतले जानकारी गराउनुभयो । उहाँले सकारात्मक प्रचारको खाँचो रहेको बताउनुभयो । धेरै विरामी यतै रोकीराख्न सफल भएको मेडिकल डाइरेक्टर डा. रमेश कँडेलको भनाई थियो । उच्चस्तरको सेवा दिन कुनै कन्जुसस्याँई नगरेको बताउनुभयो ।

त्यस लगतै प्रतिष्ठानले प्राप्त गर्न खोजेको घोराही १८ नवलपुरको २० विघा आठ कट्ठा जमिन अवलोकनमा जानुभएको थियो । त्यहाँ पुगेका मन्त्री केसीलाई वेसिक साइन्स विल्डीङ, डाक्टरका क्वाटरहरु बनाउन उपयुक्त भएको घोराही–१८ नवलपुरको जग्गा व्यवस्थापन समितिका अध्यक्ष बलिभद्र रानाले जानकारी गराउनुभएको थियो ।

यदि मंसिरमा चुनाव भएमा त्यसअघि नै आचार संहिताले बाँध्छ । त्यस अघिनै काम सक्न मन्त्री केसीलाई बढिमा पाँच महिना छ । त्यस अवधिमा पाँच वर्ष जतिको काम गर्ने अठोट गर्नुभयो । उहाँले लगभग सबैजसो संरचना हेर्नुभयो । प्रतिष्ठान पदाधिकारीसँग पटक पटक तिनका बारेमा छलफल चलाउनुभयो । लामो समय खर्चिएर ध्यान लगाउनुभयो ।

अन्तमा राज्यमन्त्री केसीले भवन, उपकरण, जग्गा प्राप्ति लगायत आवश्यक सम्पूर्ण सहयोग गर्ने विश्वास दिलाउनुभयो । अहिलेको नेतृत्वले मेहनत गरेको भन्दै डा. लामिछाने नेतृत्वको टिमको प्रशंसा गर्नुभयो ।