• फाल्गुन २६ २०८२, मंगलवार

दक्षिण अफ्रिकाको सोवेटो बारमा गोली चल्दा १४ जनाको मृत्यु

असार २६ २०७९, आईतवार

केप टाउन। दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनशिपमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य नौ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोवेटो ओर्लान्डो टाउनशिपमा आइतबार बिहान सबेरै सो घटना भएको जोहानेसबर्ग र अन्य क्षेत्रहरू समेट्ने गौतेङ प्रान्तका प्रहरी आयुक्त इलियास मावेलाले जानकारी दिएका हुन् ।

आक्रमणकारीहरूले बारमा प्रवेश गरी स्थानीय समय अनुसार बिहान १२:३० बजे अन्धाधुन्ध गोली चलाएका थिए । उनले १२ जनाको घटनास्थलमै र दुई जनाको उपचारकाक्रममा मृत्यु भएको बताएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको पनि उनले बताएका छन् । प्रहरीका अनुसार घाइतेहरुको उमेर १९ देखि ३५ वर्ष रहेको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान जारी छ।