काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुदको तयारी अघि बढाएको छ । गण्डकी प्रदेशमा यसै वर्ष प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको सरकारले तयारी अघि बढाएको हो ।
मन्त्रीपरिषद् बैठकले जेठ २२ देखि २९ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । तर स्थानीय चुनाव, सार्वजनीक खरिद ऐन, विद्यार्थीको परिक्षा, वर्षा र आवश्यक तयारी नपुग्ने लगायतका विभिन्न कारण देखाउँदे प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्मका लागि सारिएको छ ।
प्रतियोगिता सार्ने निर्णय गरेपछि करिब एक महिना चुपचाप बसेको युवा तथा खेलकुद मन्त्रालय अब भने नवौं राष्ट्रिय खेलकुदको आयोजनालाई लिएर अग्रसर देखिएको छ । खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार नवौं राष्ट्रिय खेलकुद मुल आयोजक कमिटीको बैठक बोलाएका छन् ।
नवौं राष्ट्रिय खेलकुदको आवश्यक तयारी अघि बढाउन मन्त्री गहतराजले भोलि शुक्रबार बिहान १० बजे जमलस्थित एल्लो प्यागोडामा मुल आयोजक कमिटीको बैठक आह्वान गरेका हुन् । बैठकमार्फत कार्यकारी समिति र विभिन्न तयारी उपसमिति गठन गरेर नवौंको आयोजनामा जुट्ने मन्त्री गहतराजको योजना छ ।
राखेप उपाध्यक्ष शिव कोईरालाले नवौंको तयारी अघि बढाउन मुल आयोजक कमिटीको बैठक बोलाईएको खेलपाटीलाई बताए । उनले नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि कार्यकारी समितिदेखि प्रतियोगिताका लागि विभिन्न उप समिति बनाउने र समिति, उपसमितिलाई काम गर्न अख्तियारी दिने तयारी भएको बताए ।
‘नवौंका लागि आवश्यक कार्यकारी समिति, उपसमितिहरु बनाउने हो । त्यसमा गृहकार्य पुरा भएको छ ।’ उपाध्यक्ष कोईरालाले भने, ‘गठन भएपछि समिति, उपसमितिले आफ्नो जिम्मेवारी अनुसार काम अघि बढाउँछन् । नवौं समयमै गर्ने लक्ष्य छ ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ सालमै आयोजना गर्नुपर्ने हो । तर कोभिडका कारण समयमै प्रतियोगिता हुन सकेन । त्यसपछि सरकार परिवर्तन, राखेपमा सदस्य सचिवको अदालती लफडाका कारण प्रतियोगिता समयमै सुरु हुन सकेन ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्री गहतराजले नवौं आयोजनालाई मुख्य कार्यभार बनाएका छन् । तर समयको प्रतिकुलताका कारण उनीपनि सफल हुन सकेका छैनन् । मंसिरको वरपर संसदीय चुनाव हुने भएकाले मन्त्री गहतराजले त्यसअघिनै राष्ट्रिय खेलकुदको आयोजना सम्पन्न गर्ने योजनामा छन्