• फाल्गुन २६ २०८२, मंगलवार

रुस विरुद्ध आर्थिक युद्ध लडिरहेको बेलायतका अर्थमन्त्रीले दिए राजीनामा

असार २२ २०७९, बुधबार

काठमाडौं । बेलायतका अर्थमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन् । बिबिसीका अनुसार प्रधानमन्त्री बोरिस जोनसनसँग असहमति राख्दै सुनकले मंगलबार राजीनामा दिएका हुन् ।

बेलायतले युक्रेनलाई रुस विरुद्ध लड्न आर्थिक तथा हतियार उपलब्ध गराइरहेको छ । यस्तो अवस्थामा अर्थमन्त्रीले दिएको राजीनामालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा उनले आफ्नो राजीनामा पत्र राख्दै आम नागरिकले सरकार पूणर् क्षमतामा ठीक तरिकाले गम्भीरतापूर्वक चलोस् भन्ने चाहना राख्नु जायज भएको बताएका छन् ।

यी मान्यताका लागि लड्नु पर्छ भन्ने लागेकाले आफूले राजीनामा दिएको उनको भनाइ छ ।
कोरोना भाइरसको महामारी, युक्रेनमाथि रूसी आक्रमण र अरू विभिन्न कारणले विश्व नै आर्थिक समस्याबाट गुज्रिरहेका बेला आफूले बेलायतको अर्थमन्त्रीबाट राजीनामा दिने निणर्य निकै सोचविचार गरेर लिएको सुनकले उल्लेख गरेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन युक्रेनलाई रुस विरुद्ध लडाउनेमा अमेरिकी राष्ट्रपति जो बाइडनपछि दोस्रो नम्बरमा पर्दछन् । यस विषयमा अमेरिका र युरोपमा विवाद चुलिइरहेको छ ।

सुनक र प्रधानमन्त्री जोनसनबीच सार्वजनिक खर्च कसरी गर्ने भन्नेबारे मतभेद रहेको बताइन्छ तर पछिल्लो समय जोनसनले एक जना विवादित सांसदलाई महत्वपूणर् नियुक्ति दिएपछि उनको मन्त्रिपरिषदमा मतभेद चुलिएको हो ।

यसैबीच बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले पनि राजीनामा दिएका छन् । प्रधानमन्त्री जोनसन शासन गर्न योग्य नरहेको भन्दै उनले राजीनामा दिएका हुन् । सुनक र जाविदको राजीनामा केही मिनेटको अन्तरमा आएको हो ।

उनीहरूसँगै केही राज्यमन्त्रीहरूले पनि जोनसन सरकारबाट राजीनामा दिएका छन् । जोनसनले अहिलेका शिक्षा मन्त्री नादिम जहावीलाई नयाँ अर्थमन्त्रीका रूपमा नियुक्त गरेका छन् भने स्टिभ बारक्लेलाई स्वास्थ्य मन्त्री बनाएका छन् ।

सुनक र जाविदको राजीनामाले बेलाबेलामा विवादमा परिरहने जोनसनलाई अब सहजै सरकार सञ्चालनमा कठिनाइ हुने अनुमान गरिएको छ ।