• मंसिर ७ २०८१, शुक्रबार

सरकारले आफ्ना उत्पादन बजारीकरण नगरिदिँदा कालिकोटे किसान निरास

असार १९ २०७९, आईतवार

वीरेन्द्रनगर । उत्पादनले कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ११ बरातु गाउँ कृषि उत्पादनमा जिल्लाकै उकृष्ट मानिन्छ । देश नै कृषि प्रधान मुलुक भनेर चिनिन्छ तर किसानहरुले गरेको उत्पादन खपत हुँदैन ।

कृषि सम्बन्धी नीति तथा कार्यक्रमहरु र बजेट पनि राम्रै छुट्याइएको हुन्छ । तर त्यो छुट्टिएको बजेट कता जान्छ ? कृषि पेसालाई व्यवसायीकरण गर्नु पर्छ भनेर २०५२ सालदेखि जनचेतना निजी फलफूल नर्सरी पनि सुरू गरि कलमी सुन्तला, ओखर, कागती, मुन्तला, आरु, नास्पाती, किवी जस्ता फलफूलका बिरुवा उत्पादन गर्दै आउनु भएका एकजना किसान हुन् तारा गिरी ।

स्थानीय सरकार आउनु भन्दा अगाडि आफ्नो उत्पादनले बजार पाएको थियो । कृषि विकास कार्यालय कालिकोटले हामीबाट बेर्ना लागेर जान्थ्यो र किसानलाई २ रुपियाँमा दिन्थ्यो तर अहिले स्थानीय सरकार आएदेखि हाम्रो उत्पादनले बजार नपाएको गिरीले गुनासो गर्नुभयो । विगत चार वर्षदेखि आफ्नै नर्सरीमा उत्पादन भएका बेर्ना पनि बिक्री नभएको उहाँको भनाई रहेको छ ।

उहाँले पहिला पहिला वर्षमा छ देखि सात हजारसम्म बिरुवा बिक्री गर्नु भएको बताउनु भयो । साथै उहाँले पहिला पहिला त बजारमा पुर्याउनै गाह्रो भएकोेले विस्तारै बजार नपाएपछि उत्पादन घटाएको बताउनु भयो ।

अहिले तिन हजार सुन्तलाको बोट छन् तर स्थानीय सरकार र कृषि विकास कार्यालयले बिरुवा बढ्ने कार्यक्रम राखेको छैन । सरकारले दियो भने सहुलियमा बेर्ना पाइने भएकाले कोही व्यक्ति गत वर्षको भन्दा पचासदेखि सयवटा बिरुवासम्म मात्रै लिनको लागि आउनुहुन्छ । स्थानीय सरकारले कार्यक्रम हुँदा पनि नगरपालिकाको कृषि शाखा र कृषि विकास कार्यालय कालिकोटले अहिले आफूबाट बेर्ना लग्दैन, किनकि कताबाट कति कमिसन आउँछ भनेर हिसाब गर्दछन् जता बढि आयो उतैबाट लाग्दछन् ।

आफ्नो बिरुवा कमिसनको खेलोमेलोमा परेको गिरीको भनाई रहेको छ । त्यसैले उहाँले अहिले तिनपाते दश हजार बिरुवा उखेलेर जङ्गलमा फाल्नु भएको छ । जो सुन्तला जातको रूखलाई कलमी गर्दा रूटको रुपमा प्रयोग गरिन्थ्यो ।

काठमाडौंको कीर्तिपुरबाट केजीको एक हजार रुपैयाँ हालेर ल्याउनु पर्ने अवस्था छ । अनि बिरुवाले ओगटेको ठाउँमा तरकारी लगायो भने बरु त्यहाँबाट केही पैसा आउँछ कि ? भनेर उखेलेर फालेको उहाँले बताउनु भयो ।

यस्तैगरी यसैगाउँको अर्की एकजना कृषि उद्यमी कोपिला फलफूल नर्सरी सञ्चालन गर्दै आएकी वीरु भारतीको पनि यस्तै देःखेसो रहेको छ । उहाँ भन्नुहुन्छ,‘विगत लामो समयदेखि उत्पादन गर्दै आएको हाम्रो उत्पादनले बजार नपाउँदा उदास भएका छौं’ ।

उहाँले थप्नु भयो,‘कृषि पेसामा हिजोदेखि नै काम गर्दै आएकोले सारै माया लाग्छ, कृषितिर केही गर्न सकिन्छ की ? भन्ने आशाले निरन्तर लागि रहेका छौं तर बिचौलियातन्त्रले किसानलाई ठूलो असर परेको छ ।’

कलमी सुन्तला, कागती र जुनारगरि चार हजारवटा बिरुवा छन् तर अझै मसँग पनि तिनपातेको बुटा सात हजार छन् अब त्यो फाल्नु पर्ने भएको छ, साँच्चै किसानलाई निरास हुन नदिने हो भने स्थानीय सरकार र कृषि विकास कार्यालयको जनतामुखी कार्यक्रम ल्याउनै पर्छ ।

घर परिवारले कृषि पढ्नु पर्छ भनेर कृषि पढेका जीवन गिरी भन्छन्,‘म पढेर जागिर खानको लागि होइन देशमै कृषिमा केही गर्न सकिन्छ कि भने सोंचले कृषि शिक्षा पढेको हुँ तर सोंचेजस्तो कृषिमा प्रगती गर्न सकिएको छैन र राज्यले पनि कुनै राहत दिएको छैन र बजारीकरण पनि गरिदिएको छैन ।’

‘निर्वाहमुखी कृषिले कृषि क्रान्ति गर्न सकिँदैन बरु अब यसलाई व्यवसायी हिसाबले गर्नुपर्छ भन्ने सोंचले कृषि विषय पढेको म आज देशका किसानको उत्पादन र सरकारले बजारीकरणमा देखाएको बेवास्ताका कारण निरास भएको छु ।’ गिरीले गुनासो गरे ।

नेपालीले उत्पादन गरेका वस्तु भन्दा विदेशबाट आयात हुने वस्तुको बजारीकरण सहज गरिदिने सरकारको उनले कडा शब्दमा विरोध गरे । टर्कीको ओखर भनेर एकपटक प्रदेश सरकार र स्थानीय सरकारले बेर्ना बाँड्यो तर त्यसको उत्पादन सफल भएन ।

नेपालमै पनि ओखरको बेर्ना पाइन्छ तर सरकारले टर्कीबाट बेर्ना ल्याउनु पर्ने कारण के हो ? भनि उनले प्रश्न गरे । साथै उनले नेपाली किसानले तयार पारेको बेर्ना नकिनेर विदेशबाट ल्याउने काम बन्द गरि पहिला नेपाली किसानले तयार पारेका बेर्नाको बजारीकरण गर्ने र त्यसपछि मात्रै विदेशबाट आयात गर्नुपर्ने धाराणा पनि राखे ।

उनको विचारमा जुम्ला र डोल्पा जस्ता हिमाली जिल्लाहरुमा किसानहरुले तयार पारेका बेर्ना बिक्री नभएर नर्सरीमै रहेका छन् । बिचौलियातन्त्रले गर्दा नेपाली किसानको उत्पादनले बजार पाउनुको सट्टा विदेशबाट बेर्ना ल्याइने गरिएका कारण यस्तो भएको हो ।

तरकारी उत्पादन किसानले त गर्दछन् तर बिचौलियाले भारतबाट विषादी प्रयोग गरेको तरकारी नेपाल ल्याएर सस्तोमा बिक्री गर्ने भएकोले नेपाली किसनले गरेको उत्पादन तरकारी र फलफूल मूल्य नपाएर खेतबारीमै कुहिएर जान्छ ।

नेपाली किसानले आफ्नो पसिनाको मूल्य पनि नआउने भएपछि सस्तोमा दिनु भन्दा बरु खेतबारीमै कुहिएर जागोस् भन्ने सोंचमा पुग्छदन् । यसरी उनीहरु कृषिमा लाग्नका लागि उत्साहीत होइन कि निरुत्साहीत हुँदै गएका छन् ।

नेपाली किसानका यस्ता कथा व्यथा नेपाली किसानको छन् । तर यस्ता व्यवथा सुन्ने र किसानलाई राहत दिने, बजारीकरणको व्यवथा गरिदिने सरकार कहाँ छ ? हालको सरकार त नेपाली किसानको हो जस्तै लाग्न थाल्यो ।