काठमाडौँ । साहित्यकार धु्रवचन्द्र गौतमः लेखन यात्राको आठौँ दशकको पूर्वसन्ध्या’ ग्रन्थ लोकार्पण गरिएको छ ।
रमाकृष्ण सिर्जना प्रतिष्ठानले प्रकाशन गरेको ग्रन्थमा आठौँ दशकको पूर्वसन्ध्यासम्मको लेखनयात्रामा स्रष्टा गौतम, पहिलो दशकसहित सात दशकको लेखनयात्रामा स्रष्टा गौतम, कृतिमा स्रष्टा गौतम अध्यायअन्तर्गत उनका कृतिका विषयमा विभिन्न समालोचक एवं साहित्यकारले गरेको समीक्षात्मक लेख समावेश गरिएको छ ।
सात वटा अध्याय रहेको ३३६ पृष्ठको ग्रन्थको अध्याय तीनदेखि सातसम्म साहित्यकार गौतमको जीवनका महत्वपूर्ण घटना एवं साहित्यिक सिर्जनाका विषयमा लेखक एवं साहित्यकारको लेख समावेश गरिएको छ । प्रतिष्ठानका अध्यक्ष महेन्द्रबहादुर गुरुङले सम्पादन गरेको ग्रन्थको जयदेव भट्टराई, डा खुमनारायण पौड्याल र डा इशान गौतमले सम्पादन सहयोगीका रूपमा काम गरेको हो ।
प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा जगमान गुरुङले गौतम साहित्य र योग दुवै विधाका साहित्यकारका रूपमा आफूले पाएको बताए । समाजमा बिथोलिँदै गएको सामाजिक सद्भाव कायम गर्न विद्वान्ले यस्ता कामलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
ग्रन्थका बारेमा समीक्षात्मक मन्तव्य राख्नुहुँदै प्रा डा ज्ञानु पाण्डेले आख्यान साहित्यलाई नयाँ युगमा प्रवेश गराउन साहित्यकार गौतमको ठूलो योगदान रहेको बताए । कविताबाट साहित्यिक यात्रामा प्रवेश गर्नुभएका गौतमले गीत, कथा, नाटक, नियात्रा, निबन्ध, एकाङ्की, अनुवादलगायत सबैजसो विधामा कलम चलाएको उनले सुनाए ।
साहित्यिक पत्रकारका रूपमा समेत काम गर्नुभएका साहित्यकार गौतमले हिमालय टाइम्स दैनिक, साप्ताहिक विमर्श, देशान्तर साप्ताहिक जस्ता पत्रिकामा स्तम्भकारका रूपमा समेत कलम चलाउने गरेको स्मरण पाण्डेले गराएका थिए ।
सो अवसरमा प्रतिष्ठानका अध्यक्ष गुरुङ, साहित्यकार रोचक घिमिरे, प्रा डा कृष्णहरि बराल, प्रा डा लक्ष्मण गौतम, विनोदमणि दीक्षितलगायतले गौतमले नेपाली साहित्यमा पु¥याउनुभएको योगदानका विषयमा चर्चा गरेका थिए । साहित्यिक अनुसन्धाताका लागि महत्वपूर्ण पुस्तकको मूल्य रु ४५० छ ।
कार्यक्रममा साहित्यकार गौतमको २८औँ उपन्यास ‘सातो’ पनि सार्वजनिक गरिएको थियो । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको उपन्यास ११४ पृष्ठको छ । पुस्तकका विषयमा समीक्षा गर्दै साहित्यकार देवेन्द्र भट्टराईले उनका चार उपन्यास अहिले प्रेसमा पुगेकाले केही समयमै सार्वजनिक हुने जानकारी दिए । उपन्यासको मूल्य रु १९५ राखिएको छ ।