यो वर्षमा अघिल्ला वर्षहरु भन्दा धेरै पानी पर्ने कुरा सार्वजनिक भइसकेका छन् । त्यसो त हरेक वर्ष मनसुनजन्य विपद्बाट नेपाल प्रताडित हुँदै आएको छ ।
हरेक वर्ष जनधनको क्षति हुने गरेको छ । हालै मात्र सरकारी निकायबाट सार्वजनिक गरिएको ११ वर्षे मनसुनजन्य विपदका तथ्यांकले नेपालमा हुने गरेका डरलाग्दा घटनाहरुको चित्र देखाएको छ ।
वितेका ११ वर्षमा मनसुनजन्य विपदका कारण देशभर ५ हजार ८ सय २५ वटा घटना घटिसकेका छन् । यी घटनामा देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गइसकेको छ । करोडौंको धनसम्पत्तिको हानीनोक्सानी हुन पुगेको छ ।
तर यस्तो तथ्यांक सार्वजनिक भइरहँदा पनि सरकारको तर्फबाट विपद् न्युनीकरण र राहत प्रदानका लागि प्रभावकारी नीति तथा कार्यक्रम कहिल्यै पनि सार्वजनिक हुने र कार्यान्वयन हुने गरिरहेको छैन ।
वर्षेनी विपदजन्य घटनाबाट हजारौं नेपाली नागरिक अपाङ्ग भएर बाँच्नु परिरहेको छ । यसले लाखौं परिवारलाई अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । हजारौं मानिस त प्रत्यक्ष प्रभावित भइरहेका छन् ।
नेपालमा वर्षाले बाढी, पहिरो तथा डुवानजस्ता समस्या एकै पटक निम्त्याउने गरेको यथार्थता हाम्रा सामु छ । पहाडी भूधरातल, कच्चा जमिनको बनोट, अव्यवस्थित विकास निर्माण, वनजंगलको फँडानी र लापर्वाहीपूर्ण बस्ती विकासका कारण कप्ना गरिएभन्दा बढी डरलाग्दा विपद् बेहोर्नु परिरहेको छ ।
वन फँडानीको क्रम बढ्दै जाँदा भिराला डाँडाहरुमा पहिरो जानेक्रम बढ्दो छ । यसमाथि २०७२ सालको भूकम्पले नेपालको कमजोर भौगर्भिक बनोटलाई खल्बल्याइदिएको छ ।
खल्बलिएका भिराला जमिनमुनी या माथि ठूलाठूला गाउँ तथा बस्तीहरु रहेका छन् । हरु रहेकाले पनि ती गाउँहरु माथि वा मुनीबाट आउने र जाने पहिरोले गर्दा निकै जोखिममा छन् । भूकम्पले हल्लाएर पारेका चिरा तथा धाँजामा पानी छिर्दा सिन्धुपाल्चोकको जुरेजस्ता ठूला र अजंगका पहिरा जाने गरेका छन् ।
तराइ लगायतका क्षेत्रहरुमा डुवानका समस्या उस्तै छन् । यस्ता जोखिमयुक्त क्षेत्रमा समयमै उद्धार केन्द्रहरु स्थापना गरिनु अति जरुरी छ । किनकि, यो वर्ष पहिलेका वर्षहरुमा भन्दा ६० वा ७० प्रतिशत बढी वर्षा हुँदै छ ।