• असार १८ २०८१, सोमबार

मष्ट परम्पराको दार्शनिक मान्यता के-हो ?

असार १७ २०७९, शुक्रबार

मष्ट : यो मानव जातिले अनादी कालदेखि सुख, शान्ति, उन्नति र प्रगतिका लागि लोक परम्पराका रुपमा अवलम्बन गरिँदै आएको परम्परा हो । मष्ट परम्परा गोसाई पुजा अर्थात् मष्ट उपासना जस्तो देखिएता पनि यो परम्परामा दार्शनिक मूल्यमान्यता समेत रहेको देखिन्छ । मष्ट शब्दको व्युत्पत्तिका बारेमा अलग-अलग धारणाहरु रहेका छन् ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, ‘सिँजाली खस भाषामा मान्छेलाई मण्ठ भनिन्छ, मण्ठले मार्ग दर्शक आराध्यदेवका रुपमा मान्ने गोसाईलाई मुन्ठाइ भनिन्छ । मुण्ठाका देवता मुण्ठाइलाई नै नेपाली भाषामा मष्ट भएको हो’ भनि उल्लेख गर्नु भएको छ । त्यसैगरि मष्टका अध्ययता कुलचन्द्र कोइरालाका अनुसार ‘मरुत, मरुत्तस्’ (वायु) बाट भएको मान्दछन् ।

आर.डी. प्रभास ‘चटौतले मष्ट शब्दको व्युत्पत्ति मश धातुबाट भएको जिकिर गरेका छन् । इरानीहरूको ‘अवेस्ता’ मा मुख्य देवताको नाउँ ‘अहुर मज्दा’ भन्ने पाइन्छ । अहुर मज्दा’लाई संस्कृतमा ‘असुर महिष्ठ’ हुन्छ । यही महिष्ठ शब्दबाट मष्ट शब्द बनेको तर्क पनि पाईन्छ ।

महिष्ठको अर्थ महान देव भन्ने हुन्छ । अर्थात् ठुला देवता । हुन पनि मष्ट गोसाईलाई देवताहरुका पनि देवता भन्ने गरिन्छ । मष्ट गोसाईलाई देवाइ, देवा, देउ, देउता, देवता आदी उपमा दिने चलन छ । यसको अर्थ मष्ट पनि देउता हुन भन्ने प्रष्ट हुन्छ । बुद्ध धर्मका अनुसार देवताहरु बस्ने ठाउँलाई देवलोक भनिन्छ । यस्ता देवलोक ६ वटा छन् भन्ने मान्यता बुद्ध धर्ममा लेखिएको छ ।

यी ६ वटा देवलोकमा असंख्य देवताहरु हुन्छन् भन्ने बुद्ध धर्मको मत रहेको छ । हिन्दू धर्मको मान्यता अनुसार पनि तेत्तिस कोटी देवताहरुको चर्चा हुन्छ । यी ६ देवलोकका तेत्तीस कोटी देउताहरुमध्ये मष्ट देवता सबै भन्दा ठुला देवता हुन भन्ने चर्चा मष्ट धर्मको फागमा पाईन्छ ।

‘देउई न मा : जैका को रे होलो ठुला
तेत्तिस कोटी देउई को रे होलो ठुलो
देवता मा : जैका मुन्ठाइ रे ठुला ।’
अर्थात् देव गण मध्येका को होलान ठुला ?
तेत्तिस कोटी देवतामा को होलान ठुला ?
देवता मध्येका मष्ट हुन ठुला ?

यसरी मष्टका फागले प्रष्ट भनेको छ, मष्ट सबै भन्दा ठुला देवता हुन् । सबै भन्दा ठुला देवतालाई ‘महा’ भनिन्छ । त्यसैले मष्टलाई महामष्ट भन्ने गरिएको छ । यही महा मष्टलाई महादेव भनिएको हो भन्ने मष्टका धामीहरुको भनाइ रहेको छ । मष्टको फागलाई आधार मान्ने हो भने मष्टबाट महामष्ट, महामष्टबाट महादेव हुन गएको प्रष्ट हुन्छ ।

मष्ट परम्परालाई एउटा संस्कृतिको रुपमा चिनाउने काम केही तप्काबाट भएको देखिन्छ तर मष्ट परम्परा संस्कृति मात्र नभएर एक मानवतावादी धर्म थियो भन्ने प्रमाणहरु समेत भेटिएका छन् । मष्टका जानकार विद्वान चन्द्रप्रकाश बाँनिया लेख्नुहुन्छ,‘मष्ट धर्म नयाँ धर्म होइन । त्यो वेदपूर्वको धर्म हो । मष्ट धर्मको अस्तित्व वेदभन्दा सदियौं जेठो छ ।’

चिनियाँ यात्री हुएन साङले आफ्नो यात्रा कथा ‘सीयूकी’मा मष्ट धर्मको उल्लेख गरेका छन् । सातौं शताब्दीमा इतिहासका प्रसिद्ध चिनियाँ यात्री हुएन साङले भारतको भ्रमण गरेका थिए । बुद्ध दर्शनको अध्ययन अनुसन्धानको सन्दर्भमा १५ वर्ष भारतमा बिताएका साङ चीन फर्कंदा अफगानिस्तानहुँदै मध्यएशियाको बाटो प्रयोग गरेका थिए । उनको यात्रा कथा ‘सी यू की’मा वर्तमान क्रिजिकिस्तानतिरको एउटा प्रसंग परेको छ ।

मष्ट सम्प्रदायीहरुले धर्म प्रचारमा बुद्धिष्टहरुलाई अवरोध पुर्याएको हुनाले उक्त राज्यका राजासँग हुएन साङ आफैले वार्ता गरेर बुद्धिष्टहरुलाई धर्म प्रचारको सहुलियत दिलाएको कुरा उल्लेख छ ।

त्यो प्रसंगले जसरी खस जातिको उत्पत्ति ककेसस पर्वत श्रृङ्खलाको आसपास भएर मध्यएशियाहुँदै दक्षिण एशियातिर स्थानान्तरित र विस्तारित हुँदै नेपालमा आइपुगेको हो । त्यसैगरी मष्ट धर्मको उत्पत्तिस्थल पनि त्यतैतिरको हो भन्ने प्रमाणित गर्दछ । क्रिजिकिस्तानमा भिक्षुहरुलाई धर्म प्रचारमा मष्टो धर्मीहरुले अवरोध पुर्याउनुको अर्थ त्यतिखेर मष्ट धर्म मध्यएशियामा अस्तित्वमा थियो भन्ने प्रमाणित हुन्छ ।

मष्ट धर्मले मुख्यतया इहलोक (मृत्यु लोक )का बारेमा व्याख्या गरेको छ । इहलोक भनेको सम्पूर्ण प्राणी लोक हो । मष्ट धर्म शास्त्रमा इहलोकलाई मन्धालोक भनिएको छ । जसको अर्थ प्राणीहरु जन्मने र मृत्यु हुने लोक भन्ने बुझिन्छ । यही मन्धालोकमा मनुष्यले कसरी सुख, शान्ति प्राप्त गर्न सक्छ ? मानिस यही मन्धालोकमा कसरी कर्मवादी भएर पुन्य कमाउन सक्दछ ? भन्ने विषयमा मष्ट दर्शन केन्द्रित रहेको छ ।

नर्क लोक, स्वर्ग लोक, ब्रम्हलोकका बारेमा मष्ट धर्मले महत्व दिएको पाइँदैन तर देवलोकका बारेमा चर्चा भएको भेटिन्छ । मष्ट गोसाई देवलोकबाट मन्धालोकमा मानिसहरुको हित गर्न आउँछन् भन्ने गरिन्छ । मस्टालाई ‘दैलाका देउ’ भन्ने पनि चलन छ । मष्ट मानिसहरुका रक्षक, न्याय निसाफ दिनक्ने देउता भनि मान्ने गरिन्छ । मष्टले दुधको दुध पानीको पानी छुट्याएर न्याय दिन सक्ने भएकाले गरिब गुरुवामा सबै भन्दा प्यारा छन् भनि माधवप्रसाद पोखरेलले ‘मस्टो हाम्रो कुलदेवता’मा लेखेका छन् ।

देवलोकमा बस्ने मष्टलाई मष्ट पूजनका बेला मनुष्य लोकमा बोलाउनु पर्ने मान्यता रहेको छ । मष्टलाई बोलाउने फागको सानो अंश यस्तो छ,

‘गाब्या र आलम
तोड गोसाई चढाउँला,
भोटबाट आयो करनाली नदी
किनारा लाग्ला ठाउँ
सुनका मुरती तुही मष्ट चढाउँला
ज्वाला र भुकुर तुही मष्ट चढाउँला
पञ्च र कलश तुही मष्ट चढाउँला
चमर र घण्टा तुही मष्ट चढाउँला
मुन्ठाइका धामीमा सवार भैइदे, गोसाइ महाराज आऊ ।’

अर्थात् राता, सेता कपडाका ध्वजा तपाईं मष्ट देवतालाई चढाउँला । हे, मष्ट देवता तपाईं साक्षत प्रकट भएर आउनुस्, हामी तपाईंलाई प्रतिक्षा गरिरहेका छौं । भोटबाट बगी आउने कर्णाली नदी जस्तै तपाईं पनि धामीका शरीरमा आउनुस् । तपाईंलाई जलत, घण्टा, चमर, भेडाको मासु आदी चढाउँला ।

मष्टलाई कतै कतै मष्टो भनेको पनि पाइन्छ । एउटालाई एउटो र चरालाई चरो भने जस्तै मष्टलाई मष्टो भन्दा अवहेलित हुन्छ । त्यसकारण मष्टो भन्न हुँदैन, मष्ट भन्नु पर्दछ । मष्टका सन्दर्भमा विभिन्न मत मतान्तरहरु पाइन्छन् । पश्चिम नेपालको हिमालयमा पूजिने देवी देवताहरुको बारेमा विस्तृत अनुसन्धान गर्नुहुने प्रा.डा. प्रयागराज शर्माले मष्टलाई अपौराणिक भन्नू भएको छ । वहाँले अपौराणिक भन्नुको तात्पर्य अवैदिक भन्न खोज्नु भएको बुझिन्छ भनि डा. जगमान गुरुङले लेख्नुभएको छ ।

मष्टलाई गण देवाता भनिन्छ । मष्टको विभिन्न पूजाहरुमध्ये देवाली (कुल पूजा ) पनि एक हो । मष्ट पुजा मष्ट पूर्णिमा, बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमामा हुने गर्दछ । कार्तिक पूर्णिमामा धलपुरो र मस्टोको पूजा गरिन्छ । बैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कार्तिक पूर्णिमा, माघ पूर्णिमा र भैल्या पूर्णिमा गरी वर्षमा ६ पटक भव्य रुपमा थार्प मस्टाको मेला लाग्ने गर्दछ ।

कतै कतै चैत्र शुक्ल अष्टमीमा र असारको अष्टमीमा पनि मष्ट पूजा गर्ने चलन रहेको छ । कुल पूजा (देवाली) चाहिँ कार्तिक पूर्णिमा, मष्ट पूर्णिमा, बैशाख पूर्णिमा, मङ्सिरे पुर्नियाँमाका दिन गर्ने चलन रहेको छ । जेष्ठी पूर्णिमालाई मष्ट पूर्णिमा भन्ने गरिन्छ । मष्ट पूर्णिमा नै मष्ट पूजन परम्परामा पवित्र दिन मान्ने गरिएको छ । भगवान गौतम बुद्ध जन्मनु भएको, ज्ञान प्राप्त गर्नु भएको र महापरिनिर्वाण प्राप्त गर्नु भएको बैशाकी पूर्णेका दिन भने रक्तबली खाने मष्टको पूजा र देवाली गरिँदैन ।

कुल पूजाको बेला एकजना नाइके हुन्छन् । जसलाई जेठो बुढो भनिन्छ । देवली पूजामा त्यही जेठो बुढोको प्रधानयता हुने भएको हुनाले जेठो बुढोलाई गण नायक भनिएको हो । यसरी गण प्रणाली रुचाउने भएको हुनाले मष्ट गोसाईलाई गण देवता पनि भनेको पाईन्छ ।
‘मस्टा परम्परा र त्यसका गीतहरु’ पुस्तकका लेखक डा.जयराज पन्तका अनुसार मष्टलाई १२ वटा गणमा राखिएको छ । ती यसप्रकार छन्,

जेठो मष्ट,(पहिलो गण) माइलो मष्ट, (माइलो गण) साइलो मष्ट, (साइलो गण) ठाइलो मष्ट (ठाइलो गण) राहिलो मष्ट, (राहिलो गण)
काहिलो मष्ट, (काहिलो गण), अन्तरे मष्ट, (अन्तरे गण) मन्तरे मष्ट, (मन्तरे गण) जन्तरे मष्ट, (जन्तरे गण), लन्तरे मष्ट,(लन्तरे गण)
लखन्तरे मष्ट (लखन्तरे गण ), कान्छो मष्ट (कान्छो गण) ।

मष्टका गण १२ भए पनि तिनका नामको संख्या एक सय तीस रहेको जानकारी मष्टाका अध्ययता थर्कबहादुर बस्नेतले दिनु भएको छ भने डा. सुर्यमणी अधिकारीले मष्टका असीवटा भेद भएको बताएका छन् । यी एक सय तीस नाम तिनै १२ गण मष्टका उपभेद हुन् ।

देवलोकमा बस्ने १२ गण मष्टलाई दुई समूहमा विभाजन गरिएको छ । दुधे मष्ट र दाह्रे मष्ट, दुधे मष्टलाई शाकाहारी र दाह्रे मष्टलाई माङ्सहारी भनिन्छ । दुधे मष्टले रक्तबली नलिने भएको हुनाले दुधे मष्टलाई प्राणी मैत्री मष्ट भन्ने गरिएको पनि पाईन्छ ।

मष्टका कुनै मुर्ती पाइँदैनन् । मष्टलाई पुजन घर (घरमा माणु बनाइएको हुन्छ जसलाई घर थलो माणु भनिन्छ भन्ने घर बाहिर बनाइएको माणुलाई वन थलो माणु भनिन्छ भनि युवराज कार्कीले बताउनु भएको छ ।

हिन्दू धर्म र बौद्ध धर्ममा नाम उल्लेख गरिने देवता इन्द्रलाई देवलोकका राजा भनिन्छ तर मष्ट गोसाई भने देवलोक र मनुष्य लोक दुबै लोकका राजा भएकाले मष्टलाई पुकार्दाका बखत मष्ट महाराज भन्ने गरिन्छ अर्थात् मष्ट देवता इन्द्र भन्दा ठुला देवता भएको मान्यता रहिआएको छ ।
मष्ट गोसाईले ब्रम्हचर्य धर्म धारण गरेको हुनाले यिनका सन्तान नभएको धामीहरु बताउँछन् ।

ब्रम्हचर्य धर्म पालना गर्ने देवाताको उपासना गर्नाले मनुष्यहरुमा सुख, शान्ति र उन्नती हुने जनविश्वास रहेको छ । त्यसैले मष्ट गोसाईलाई लौकिक जीवनका देवाता भनिन्छ ।

लेखक : विश्व मष्टधर्म महासंघका केन्द्रिय सचिव हुन् ।