• मंसिर १२ २०८१, बुधबार

प्रचण्ड र नायक राजेश हमालबीच भेटवार्ता, के भयो कुराकानी ?

असार १७ २०७९, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो ।

भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उहाँहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डो¥याएर समृद्ध बनाउन नायक हमालले निर्वाह गर्नुभएको भूमिकाको समेत अध्यक्ष दाहालले प्रशंसा गर्नुभएको थियो ।कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष प्रचण्डको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकामा प्रशन्नता व्यक्त गर्नुभएको थियो ।

उहाँले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताउनुभएको थियो । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्चा भएको बताइएको थियो ।