पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तको स्वात जिल्ला जन्मिएकी मलाला युसुफ जाई मुस्लिम परिवारकी थिइन । उनका बाबु जियाउद्दीन युसुफजई एक कवि एवं शिक्षाविद् थिए ।
मलाला डाक्टर बन्न चाहन्थिन् । उनले सार्वजनिक रूपमा यो चाहना व्यक्त गरेकी पनि थिइन् । तर बाबुले उनलाई राजनीतिमा आउन प्रोत्साहन गरे ।
राजनीतिमा उनको रूची बढाउन उनलाई बाबुले हरेक दिन राजनीतिको बारेमा बताउन थाले । यसले उनको बाल मस्तिष्कमा गहिरो प्रभाव पार्दै गयो ।
समय व्यतित हुँदै गर्दा सन् २००७ मा तालिवान विद्रोहीले स्वात क्षेत्रलाई कब्जामा लिए । त्यसपछि छोरीहरुलाई स्कूल जान रोकियो, सडकमा निस्कन र खेल्न प्रतिबन्ध लगाइयो । संगीत सुन्न र टि.भी. हेर्न पनि प्रतिबन्ध लगाइयो ।
उनको बाबुले सन् २००८ मा ‘शिक्षामा अधिकार’का विषयमा प्रवचन दिन थाले । यस क्रममा छोरी मलालालाई पनि पेशावरमा लगे । उनले त्यहाँको प्रेस क्लवमा तालिवानले कसरी उनको आधारभूत शिक्षा अधिकार खोस्यो भन्ने बारेमा बोलिन् ।
उनले साह्रै मार्मिक र संवेदनशील कुरा उठाइन् । त्यसबाट सबै मानिस प्रभावित भए । विभिन्न पत्रपत्रिका र टेलिभिजनले उनको भनाइलाई स्थान दिएर प्रचारप्रसार गरिदिए ।
मलालाले तालिवानी क्रियाकलापको विरोध गरेर ११ वर्षको कलिलो उमेरमै बिबिसी ब्लगमा लेख्न थालिन् । ३ जनवरी २००९ मा उनको पहिलो ब्लग बिबिसीमा पोष्ट भएको थियो ।
त्यसबाट उनको चर्चा संसारभरि हुन थाल्यो । उनले शान्तिको पक्षमा आवाज उठाइन् । शिक्षा र बालअधिकारको विषयमा बोलिन् ।
यस क्रममा उनले शिक्षा कोष पनि खडा गर्न थालिन् । यसले बालिका तथा किशोरीको शिक्षाका लागि पहल गर्ने र राम्रो स्कुल बनाउने कुरा प्रकाशमा ल्याइन् ।
यसै क्रममा सन् २०१२ को नोभेम्बर १० मा ‘बालिका शिक्षाबारे’ एक सभामा आफ्नो मन्तव्य राखी बसमा फर्कने क्रममा उनीमाथि तालिवानीद्वारा आक्रमण गरियो । सभामा तालिवानी नीतिको विरोध गरेका कारण उनीमाथि हमला भएको थियो ।
उनको टाउकोमा गोली लागेर गम्भीर रुपमा घाइते भएपछि उनलाई शल्यक्रियाका लागि बेलायत लगियो । उनको टाउकाको पटकपटक शल्यक्रिया गरियो । अहिले उनको स्वास्थ्यमा राम्रो सुधार भएको छ ।
संसारभरबाट मलालाको आँट र साहसको प्रशंसा गरिएको छ । पाकिस्तान सरकारले पनि उनलाई सम्मान गरेको छ । नर्वेली संसदले सन् २०१३ मा नैे नोबेल शान्ति पुरस्कारको लागि उनको नाम सिफारिस गरिसकेको थियो ।
उनले सन् २०१४ मा नोबेल शान्ति पुरस्कार पाउन सफल भइन् । सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार पाउने व्यक्ति मलाला नै हुन् ।
उनका जीवनोपयोगी भनाइहरु :
१. हामीलाई त्यति बेलामात्र हाम्रो आवाजको महत्वबोध हुन्छ, जति बेला हामीलाई चूप लाग बाध्य पारिन्छ ।
२. एउटा बालक, एउटा शिक्षक, एउटा किताब र एउटा कलमले संसार परिवर्तन गर्न सक्छ ।
३. जब सिंगो संसार नै निशब्द हुन्छ, त्यति बेला एउटा आवाज पनि भयंकर शक्तिशाली बनेर आउँछ ।
४. शिक्षा भनेको शिक्षा नै हो ।