• असार २५ २०८१, सोमबार

घोराही बजारमा बन्दा पाइन छोड्यो, बेखुशी भइ फर्किए ग्राहक !

असार १६ २०७९, बिहीबार

घोराही १६, असार ।
‘साहुजी बन्दा छ ?’ रिजाल तरकारी पसल घोराही १४ सब्जीमण्डीमा सोमबार दिउँसो ग्राहकले सोधे । बोरामा प्याक गरेको बन्दातर्फ इंगित गर्दै विष्णुप्रसाद रिजालले ‘छैन, यो बन्दा गइसकेको छ’ भनेर जवाफ दिए । दुई जना ग्राहक लेघ्रो तानेर फर्किए ।

उनीहरु बेखुसी हुनुको कारण बंगलाचुलीबाट आएर पनि बन्दा नपाउनु थियो । चाउमिनमा चाहिने बन्दा खोज्न आएका हुन् । थोक पसलहरुमा सोध्दा पनि बन्दा पाइएन । थोक विक्रेता रिजालका अनुसार यो समाचार तयार पार्दाको बन्दाको मूल्य थोकमा ६५ रुपैयाँ सम्म छ । तिन सयदेखि तिन सय २५ रुपैयाँमा एक लम्बरी आउँछ ।

यतिबेला रोल्पा र सल्यानतिरबाट बन्दा आएको छ । त्यहाँको सकिन लागेपछि पालुङ र टिष्टुङतिरबाट बुटवलहुँदै आएको छ । त्यताको बन्दा आएपछि मूल्य घटेको हो । त्यताबाट नआउँदा थोकमै ९० रुपैयाँ किलोसम्म मूल्य गयो । चार सयदेखि चार सय ५० लम्बरीलाई पर्दथ्यो । अहिले बाहिरको बन्दाले गर्दा मूल्य घटेको हो ।

यसैगरी डाँगी तरकारी सप्लायर्समा केहि बोरा बन्दा स्टक थियो । चाउमिनको चलन बढेसँगै बन्दाको मूल्य र माग अक्कासिएको तारा डाँगीले बताउनुभयो । उहाँका अनुसार घोराही बजारमै दैनिक ४० बोरासम्म बन्दा विक्री हुन्छ ।

मूल्य बढेपछि भने आधा कम भएको छ । होटलले चाउमिन बेचेर फाइदा निकाल्न नसक्ने भन्दै केहिले पकाउनै छोडेका छन् । प्रतिकिलो ५० भन्दा माथि गएपछि बन्दा विक्री घट्न थाल्छ ।

यति बेला बन्दाको फुट्कर मूल्य प्रतिकिलो ८० देखि एक सय २० रुपैयाँसम्म रहेको व्यवसायीको भनाई छ । केहिले असाध्यै नाफा निकाल्छन् । खरीदको दोब्बर मूल्यमा बेच्ने गरेका छन् । बन्दा प्रसस्त नपाइने भएकाले कमाइ गर्ने मौकाका रुपमा लिएका छन् ।

कतिपयले कालोबजारी गरेका छन् । अचाक्ली महंगोहुँदा एक सय ४० रुपैयाँ किलोसम्म बन्दा पुगेको कृषि उपज बजार सञ्चालक समितिका निवर्तमान अध्यक्ष मानबहादुर घर्तीको भनाई छ ।

उहाँको पसलमा बन्दा थिएन । थोरैका तरकारी पसलमा मात्रै बन्दा देखिन्थ्यो । उहाँका अनुसार चाउमिन र अचार बनाउने काममा बन्दा उपयोगी हुन्छ । धेरै विक्री हुन्छ । अहिले अभाव रहेका बेला कालोबजारी गर्नुहुन्न ।

गत वर्ष किसानले बारीमा कुहाएर फालेका कारण यस वर्ष बन्दाको अभाव भएको व्यापारीको बुझाई छ । अघिल्ला दुई वर्षमा किलोको पाँच रुपैयाँमा बेच्दा समेत बन्दा बिवक्री भएन । त्यसपछि खेतमै जोतेर बन्दा नष्ट गरेको किसानले बताउँदै आएका छन् ।

‘किसानलाई उत्साहित बनाउने सरकारको नीति नै छैन’ सिद्धार्थ एग्रोसेन्टर घोराहीका सञ्चालक एकनारायण पौडेलले भन्नुभयो, ‘न्यूनतम मूल्य तोक्ने त्यो भन्दा भाउ घट्यो भने अनुदान दिने नीति हुनुपर्छ । यसो गरे खास किसानले राहत पाउँछ । अहिले त पहुँचवालाले लिएका छन् । खास किसानले पाएकै छैनन ।’

उहाँका अनुसार अनुदान फोकटमा खर्च भएको छ । न उत्पादन न किसानलाई उर्जा मिलेको छ । बिक्री नभएपनि सरकारले लैजान्छ भन्ने वातावरण बनाए उत्पादन घट्दैन ।

गत वर्ष किसानले ठूलो मात्रामा बन्दा नष्ट गरे । लगातार दुई वर्ष यसैबेला कोरोनाका कारण लकडाउन गरियो । त्यसको असरले कतिपय किसान पेसा नै छोड्नेगरी थला परे । यसपटक पनि त्यस्तै हुने पो हो कि भन्ने त्रासले खेति नै गरेनन् । बन्दा अलसिजन हो ।

फागुन चैतमा बेर्ना राखेको भए २२ दिनमा तयार हुन्थ्यो । बेर्ना रोपेको ९० दिनदेखि दुई महिना भित्र फलिसक्थ्यो । यतिबेला बजारमा आउँथ्यो । किसानले कमाउँथे, होटलहरुमा चाउमिन चल्थ्यो र व्यापारीलाई पनि टाढाबाट ल्याउनु पर्दैन्थ्यो । यतिबेला स्थानीयमा बन्दा उत्पादन कहिँपनि छैन ।