काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ऋण लिएर चलचित्र निर्माण गर्दा ठूलो क्षति भोग्नु परेको बताएका छन् ।
मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरम र नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको चलचित्र गीत संगीतको सरोकार,कानून र करको अधिकार विषय कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो कुरा बताएका हुन् ।
उनले चलचित्र निर्माताहरुले घर धितो राखेर ऋण लिएर चलचित्र निर्माण गर्दा निर्माताहरुको निकै ठूलो क्षति भोग्नु परेको बताउदै सरकारले चलचित्र निर्माता व्यवसायीहरुलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताए ।
अध्यक्ष गोल्छाले सरकारले घोषणा गरेका नीति तथा कार्यक्रमहरु शतप्रतिशत रुपमा कार्यान्वयन हुनसके मात्रै चलचित्र क्षेत्रको समस्या समाधान हुनेमा जोड दिए ।
उनले चलचित्रले हाम्रो सोचलाई प्रभावित र राज्यप्रति मानिसहरुको सद्भाव र प्रेम चलचित्रको माध्यमबाट उठ्ने भएकाले चलचित्रको विकास आवश्यक रहेको बताए ।