काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्याल न्याय परिषद्को छानबिन प्रक्रियाको रेड जोनमा परेका छन् ।
हात्तीको दाह्रासहित पक्राउ परेका तीन अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिएको घटनामा उनीमाथि छानबिन प्रक्रिया अघि बढाउन लागिएको न्याय परिषद स्रोतले जानकारी दियो ।
२०७८ फागुन २७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले महाराजगञ्जको होटल ओदानबाट हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको थियो। त्यसबेला पाँचथरको फिदिम नगरपालिका–४ का रमेश सुवेदी, झापाको भद्रपुर नगरपालिका–७ का भक्तिकुमार लिम्बू र भद्रपुर नगरपालिका–६ का अशोक कार्की पक्राउ परेका थिए ।
पक्राउ परेकाहरुकै बयानको आधारमा हात्तीको दाह्रा चोरी शिकारीमा इलामको जितपुरका रमेश राई, झापाको बनियानीका चन्द्रबहादुर भट्टराई, मोरङको बबियाविर्ताका सुजिन्द्र कार्की र मोरङको मिक्लाजुङका भोजराज कार्कीसमेत संलग्न रहेको खुलेको थियो।
पुर्पक्षमा थुनामा पठाउनु पर्ने अभियुक्तलाई धरौटीमा रिहा गरेपछि अर्याल छानबिनमा तानिने भएका हुन्। न्याय परिषद्ले अहिले न्यायाधीश अर्यालले गरेको फैसलाको छानबिन गरिरहेको छ ।
वन्यजन्तु चोरी शिकारीजस्तो गम्भीर कसुरमा संलग्न रहेको भन्दै उनीहरुलाई १५ वर्षसम्म कैद र १० लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो।
तर, न्यायाधीश अर्यालको इजलासले गत वैशाख १४ गते उनीहरुलाई धरौटीमा रिहा हुने आदेश दिएको थियो। लिम्बू र सुवेदीलाई जनही १० लाख र कार्कीलाई ७ लाख धरौटीमा रिहा हुने आदेश दिइएको थियो। त्यसपछि उनीहरु रिहा भएका थिए।
सामान्यतया तीन वर्षभन्दा बढी कैद सजाय माग भएका मुद्दाको सुनुवाइ पुर्पक्षमै राखेर गरिँदै आएकोमा अर्यालले भने १५ वर्ष कैद सजाय माग भएको मुद्दामा समेत धरौटीमा रिहा हुने आदेश दिएका थिए। पुर्पक्षमा पठाउनु पर्ने व्यक्तिलाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए ।