• मंसिर १३ २०८१, बिहीबार

‘हामी बेलैमा सतर्क नभए हैजाले महामारीको रूप लिन सक्छ’

असार १४ २०७९, मंगलवार

काठमाडौं । केही दिन यतादेखि काठमाडौंका विभिन्न स्थानमा हैजाका बिरामीहरू फेला परिरहेका छन् । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा यसका बिरामीहरू देखिएका हुन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएको पुष्टि गरेका छन् । उनले सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिएका हुन् ।

‘हैजा पुष्टि भएकामध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो’, उनले भनेका थिए । यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरू कामपा–२८ बागबजारमा बस्दै आएका थिए ।

हैजाका बिरामीको बढ्दो ग्राफले काठमाडौं उपत्यकामा भित्रभित्रै हैजा फैलिरहेको देखिन्छ । उपत्यकामा हैजाका बिरामी थपिने क्रम बढ्दै गएपछि चिकित्सकहरूले पानी र खानेकुरामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उपत्यकामा हैजा फैलिन नदिन जनस्तरबाट नै सतर्कता अपनाउनुपर्ने सङ्क्रामक रोग विज्ञहरूको सुझाव छ ।

हैजाको जोखिम कम गर्न स्थानीय तहहरूले पनि चेतनामूलक सन्देश प्रवाहदेखि पानी शुद्धीकरण गर्ने रसायन वितरणसम्मका कार्यक्रम गरिरहेका छन् । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निर्देशनमा हैजाको जीवाणु फैलिने सम्भावना न्यूनीकरण गर्न नगरपालिकाभरि खुला स्थानमा पानीपुरी बेच्न रोक लगाइएको छ ।

हैजाबाट बच्नका लागि मुख्यतया पानी र खानेकुरामा ध्यान दिनुपर्ने डा. अनुप बास्तोला बताउँछन् । उनी भन्छन्, ‘हैजाबाट सतर्क रहनका लागि मुख्यतया पानी, खानेकुरा र सरसफाईमा ध्यान दिनुपर्छ । पानी उमालेर मात्र खानु पर्छ । पानीको स्रोतलाई सधैँ सफा राख्नुपर्छ । फोहोर, दूषित बासी, काँचो खानेकुराहरू खानुहुँदैन । पानी उमालेर खान नसक्ने अवस्थामा निर्मलीकरण गरेर खानुपर्छ ।’

उनका अनुसार हैजाको लक्षण देखिएका व्यक्तिहरू स्वास्थ्यकर्मी कहाँ जानुपर्छ । पोषणयुक्त खानेकुराहरू खानुपर्छ र नियमित रूपमा साबुन पानीले हात धुनुपर्छ । हैजाको लक्षण देखिएका बिरामीहरूको पहिचान गर्नुपर्छ । यसको नियन्त्रणका लागि पहिले स्रोतको न्यूनीकरण गर्नुपर्छ ।

‘यसका मूल्य लक्षणहरू चौलानी पानी जस्तो दिसा लाग्ने, भमिट हुने हुन्छ । धेरै मात्रामा डायरिया भयो भने जल वियोजनका लक्षणहरू देखा पर्छन् । कमजोरी हुने थकाइ लाग्ने, प्रेसर कम हुने, मुटुको धड्कन बढेर जाने जस्ता लक्षणहरू पनि देखा पर्न सक्छन्’, उनले अगाडी थपे, ‘सङ्क्रमित भएको १० प्रतिशत मानिसहरूमा यस्ता लक्षणहरू देखिन सक्छन् । केही व्यक्तिहरूलाई सामान्य झाडापखाला लाग्न सक्छ भने केहीलाई लक्षणहरू नदेखिन पनि सक्छन् ।’

दूषित पानीको स्रोतहरू भएको ठाउँमा हैजा भेटिएको उनले भनाई रहेको छ । ‘हैजा लाग्नुको मुख्य कारण दूषित पानीको सेवन हो । त्यस बाहेक खुल्ला ठाउँमा भएको झिँगा भन्केको खाना काँचो चिजहरू खाएमा हैजा लाग्छ’, उनले भने ।

वर्षा लागेसँगै पानीजन्य सङ्क्रमणहरू फैलिरहेको अवस्थामा हैजा देखिनु चिन्ताको विषय रहेको डा. बास्तोलाले बताए । सरकार र नागरिकहरू बेलैमा सतर्क नभए यसले महामारीको रूप लिन पनि सक्ने उनको भनाई रहेको छ ।