• मंसिर २० २०८१, बिहीबार

महामारीका रूपमा नफैलियोस् हैजा

असार १३ २०७९, सोमबार

काठमाडौं सहरमा हैजाका बिरामी फेरि पनि दोहरिएर देखा परेपछि यसले सबैलाई सतर्क र सशंकित दुवै गराएको छ । दुई हप्ताअघि मात्र टेकु अस्पतालमा पहिलो पटक हैजाका बिरामी भेटिएपछि यसले जनमानसमा त्रास उत्पन्न गराएको थियो ।

काठमाडौंका गल्लीगल्लीमा महिनौदेखि थुप्रिएका फोहर कुहिएर यसको दुर्गन्धले हैजा निम्त्याउन सक्ने भनी आशंका बढिरहेका बेलामा केही बिरामीमा देखिएको हैजाका किटाणु फोहर उठाइसकेपछि हराउने छन् भनी आशा गरिएको थियो ।

तर अहिले एकपछि अर्को गरी टेकु अस्पतालमा हैजाका बिरामीको संख्यामा थोरै भए पनि बढोत्तरी हुँदै जाँदा यसले मुख्यतः काठमाडौंवासी र सामान्यतः देशैभरका जनतामा सन्त्रास निम्त्याउन थालेको छ ।

काठमाडौंजस्तो सघन बस्तीमा हैजाका बिरामी देखापरेपछि यसलाई फैलन नदिन समयमै स्वास्थ्य सतर्कता अपनाइए पनि अपेक्षाकृत यसमा कमी आउन सकेन । मनसुन सुरु भए पनि कहिले पानी पर्ने र कहिले निकै गर्मी हुने गरी विषम प्रकारको मौसम देखा पर्नुले पनि हैजाजस्तो महामारीलाई यसले बढावा दिनेमा शंका छैन ।

सुरुसुरुमा फोहर उठाउन नकिएर यस्तो अवस्था निम्तिएको भनिए पनि पछि हैजा अन्यत्र कतैबाट पनि फैलन सक्ने भनी अध्ययन र अनुसन्धानको दायरा केही फराकिलो बनाइएपछि खानेपानी, खाद्यान्न तथा फलफूल र अन्य दैनिक उपभोग्य सामग्रीमाथि पनि निगरानी सुरु गरिएको छ ।

तर पनि आशंकाको विषय त यो रहिरह्यो कि अझैंसम्म कुन स्रोतबाट हैजाको जीवाणु देखियो भन्ने कुरा हालसम्म पत्ता लाग्न सकिरहेको छैन । यसले जनसामान्यमा तनाव र स्वास्थ्यविद तथा स्वास्थ्यकर्मीहरूमा अन्यौलतामा सिर्जना गराएको छ ।

विभिन्न स्रोतहरुमध्ये फोहोर र प्रदूषित पानीका कारण हैजाका जीवाणु देखिएको हुनसक्नेमा पुर्वानुमान गरिए पनि अनुसन्धानमा त्यसको पुष्टि हुन भने सकेन । हैजाको जीवाणु देखिएपछि राजधानी सहर महामारीको जोखिममा रहेको अनुभूत सबैलााई हुन गएको छ ।

अर्को गम्भीर र संवेदनशील कुरा भनेको राजधानी सहर काठमाडौंबाट दैनिक दशौं हजार मानिस देशभित्र र देशबाहिर आवत जावत गरिरहन्छन् । यति बेला संक्रामक रोग हैजा कतै देशभर फैलन जाने त होइन भनेर बेलैमा ख्याल पुर्‍याउनु जरूरी हुन गएको छ ।

रोकथाम र सतर्कताका लागि सरकारले बजारमा रहेका अशुद्ध खानेपानी नखान, प्रदुषित खानेकुरा तथा झिंगा भन्केका खानेकुरा नखान र आवश्यक सतर्कता अपनाउन सूचित गरे पनि यसका लागि अझैं प्रभावकारी कदम चाल्न सकेको छैन ।

व्यक्तिगत सरसफाइ, खानेकुराको सरसफाइ तथा खुला रूपमा दिसापिसाब नगर्न र चर्पीको प्रयोग गर्न र दिसापिसाब गरेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन जनतामा आग्रह गरे पनि यदि महामारी फैलिइ नै हालेछ भने उपचारका लागि अस्पतिालहरु तयारी हालतमा राखिनु पर्छ ।

हैजा गर्मी याममा फैलने महामारी हो । यो महामारीका रुपमा भदौ महिनासम्म फैलन सक्छ । त्यसैले खण्ड वृष्टि, बढ्दो तापमान, फोहरको अवैज्ञानिक व्यवस्थापन, आवतजातमा निरन्तरता आदिलाई मध्यनजर गर्दै उपचारका लागि सामुदायिक तथा निजी अस्पतालहरुलाई तयारी हालतमा राखिनु पर्छ ।

महामारी रोग आफैमा विपत्ति हो, यो बाजा बजाएर आउँदैन । साथै, यो सरकारी आश्वासन र प्रतिबद्धताले पनि पार लाग्दैन । यसको सामना गर्न व्यवहारिक तयारीमा जुट्नु पर्छ ।