• मंसिर १७ २०८१, सोमबार

गायिका सुनार मृत्यु प्रकरण: खुल्दैछ रहस्य, मध्यरातीसँगै बसेर मदिरा पिएका प्रेमी आखिर किन भागे ?

असार १२ २०७९, आईतवार

काठमाडौैं । लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरण झनै रहस्यमय बन्दै गएको छ । आफ्नै कोठाको ओछ्यानमा मृत अवस्थामा फेला परेकी सुनारको अनुसन्धानमा खटिएको प्रहरी टोलीले थप नयाँ तथ्य फेला पारेको छ ।

शनिबार बिहान करिब ११ बजे सुनार मृत अवस्थामा भेटिएको जानकारी आएपछि प्रहरी वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले घटनाको अनुसन्धान गरिरहेका छन्। आइतबारसम्मको अनुसन्धानको क्रममा सुनारको हत्या नै भएको हो या होइन भन्ने विषयमा थप खुल्न बाँकी छ ।

शुरुमा सुनारले आत्महत्या गरेको हुन सक्ने र आत्महत्या दुरुत्साहनमा उनको प्रेमी खिलबहादुर श्रेष्ठ रहेको कोणबाट अनुसन्धान भएको थियो । गायिका सुनारको फेसबुक स्टाटस हेर्दा पनि उनले कसैलाई दोषी नलगाउनू भन्ने लेखेको देखेपछि प्रहरीले आत्महत्या दुरुत्साहनको आशंका गरेको थियो ।

बाँचेर पनि दिनदिनै मर्नु परेको कुरा उनले फेसबुक स्टाटसमा उल्लेख गरिकी थिइन्। उनमा मानसिक तनावमा आएको हुनसक्ने प्रहरी विश्लेषण छ। ‘अब म बाँच्न सक्दिन यो दुनियाँ धेरै स्वार्थी छ। मैले आफ्नै इच्छाले यो कदम उठाएकी छु। कसैलाई दोष नलगाउनू’ फेसबुकमा सुनारले लेखेकी छन्। अझ अघि उनले लखेकी छन् ‘जीवनमा धेरै उतारचढाव आए। कसैको माया पाउन जति धेरै कोशिस गर्दा पनि पाइनँ।’

गायिका सुनार मृत भेटिएको भन्ने जानकारीपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले नयाँ नयाँ तथ्य फेला पारेको छ । अनुसन्धानको क्रममा प्रहरीले उनका प्रेमी सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई शनिबार नै नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुबाट पक्राउ गरेको हो। सुरुमा श्रेष्ठले आफूलाई सुनारको मृत्यु प्रकरणबारे केही जानकारी नै नभएको प्रहरीलाई बताएका थिए। तर प्रहरीले सुनार बस्ने नेपालटारस्थित कोठा आसपासका सिसी टिभी फुटेजबाट श्रेष्ठ सुनार बस्ने घरमा गएको दृश्य देखाएपछि रहस्यको पर्दा विस्तारै खुल्दै जान थालेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिए ।

‘सुरुमा श्रेष्ठले इन्कार गरेका थिए पछि सिसिटिभी देखाएपछि बिस्तारै घटनाको रहस्य खुल्दै जान थालेको छ,’ ति प्रहरी अधिकारीले भने । अनुसन्धानमा श्रेष्ठ सुनारकै कोठामा बसेको देखिएको र मोबाइल लोकेशन हेर्दा सुनार र श्रेष्ठ एकै ठाउँमा रहेको देखिन्छ, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ।

आत्महत्या गर्दा प्रयोग भएको भनिएको सल प्रहरीले महाराजगन्ज नजिक नेपाल इन्भेष्टमेन्ट बैंक नजिक नालीमा फेला पारे पनि मोबाइल भने अझै भेटिएको छैन । मोबाइलको विषयमा श्रेष्ठले केही नबताएकाले थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।

१५ महिनादेखि ‘लिभिङ टुगेदर’मा
सुर्खेत घर भएकी गायिका सुनार श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर नेपालटारमा बस्दै आएकी थिइन्। उनका एक छोरा सुर्खेतमै बस्दै आएका छन्। यता प्रहरीले पक्राउ गरेका व्यक्ति श्रेष्ठ भने गोठाटारमा सुन पसल सञ्चालन गर्दै आएका छन्। उनीहरुबीच विगत १४/१५ महिनादेखि सम्बन्ध रहेको देखिएको छ। सुनार र श्रेष्ठ लिभिङ–टुगेदर जसरी नै बस्दै आएको पाइएको प्रहरीको भनाइ छ। घरबेटीले पनि श्रेष्ठ सुनारको कोठामा आइराख्ने व्यक्ति भएको बताएका छन्।