भनिन्छ, आँधी आउनु अघि सन्नाटा छाउँछ । नेपालमा अहिले राजनीतिक दलका आआफ्ना विचार र विशिष्टता अनरूपका गतिविधि हुन छाडेका छन् । जे भइरहेका छन्, तिनमा जनताको चासो र आकर्षण छैन ।
राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरूको गतिविधि देश र जनताको पक्षमा छैनन् । सबै आआफ्ना वैयक्तिक स्वार्थ र हितका लागि लागि परेका छन् ।
बरू सापेक्षतामा विदेशी शक्ति केन्द्रहरूको नेपालको मामला र गतिविधिलाई लिएर उनीहरूको दृष्टिकोण अनुसार टीका/टिप्पणी हुने गरिरहेको छ । यसमा पनि आमनेपालीको न चासो व्यक्त हुन सकेको छ, न त विरोध नै ।
स्थानीय तहको सरकार निर्माणका लागि निर्वाचनको परिणामसँगै दलहरूले आआफ्ना प्रतिनिधि निर्वाचित गराए पनि त्यसमा भनेजस्तो चासो कतैबाट पनि अभिव्यक्त हुन सकेको छैन ।
स्थानीय जनता पनि ‘हामीले आआफ्ना जनप्रतिनिधि छान्यौ’ भनी खुशी हुने र ढुक्क हुने अवस्थामा छैनन् । एकखालको उपेक्षा र वेवास्ता व्यापक बनेर आएको छ ।
कसैले पनि उत्साहपूर्वक कुरा गर्ने गरेको र उसका कुरा अरूले सुन्ने गरेको देखिदैन । मानौ कसैको कुराप्रति अरू कसैको चासो पनि छैन । जनतामा राजनीतिक रङ हराएको छ ।
नेताहरूको गाली राजनीतिको पनि लगभग अन्त्य हुन गएको छ । ‘तैं चार, मै चोर’ चूपचापको अवस्था छ । बल्ल खुलेको छ, देशको राजनीति र राजनीतिक नेताहरूको आन्तरिक चाला !
अघिसम्म चिर्बिराइरहेका चराचुरूङ्गी शान्त र सतर्क छन् । हल्ला गरिरहेका स्याल, हुँडार र अन्य जनावर मौन छन् । अघोषित मौनताको अवधि सुरू भएको छ ।
जनताका आँखा तिरमिर भएको देखिन थालेका छन् । उनीहरूका कान ठाडा छन्, तर सदाको भन्दा भिन्न ध्वनी र पदचाप पछ्याइरहेका छन् । निकै शान्त र गम्भीर मुद्रामा !
हल्ला छ, देश युक्रेन त हुने होइन ? तर ओंठ लेब्य्राउनु बाहेक यसको जवाफ छैन कतै । कतै देश श्रीलंका त हुने होइन ? दोस्रो प्रश्नपछि कसैको वक फ्ट्छ, ‘श्रीलंका नाइ, युक्रेन होला !’
संभावित रणयुद्ध अदृश्य रूपमा हरेक नेपालीको टाउकामाथि घुमिरहेको छ । हरेक नेपाली त्रासको मनोवैज्ञानिक भूतबाट लखेटिइन थालिसकेको छ । ‘यो अत्यासलाई चिर्न केही त गरे हुने थियो !’
‘एस्पीपी के गर्छन् होला ?’, आमजिज्ञासा यही हो नेपालीहरूको । तर संसदीय राजनीतिक दलहरू र तिनका नेताहरूले मनभित्र गढेर रहेको अव्यक्त जवाफ हो– ‘एस्पीपी अबको भदौ महिनाको अन्तिमसम्म पारित गरी स्वीकार गरिदिने ।’
दलहरुको यो ‘अन्तिम वाणी’ बाहिर भनिसक्नु छैन । किनकि त्यतिबेलासम्म उनीहरु ‘कोमा’मा पुगिसकेका हुनेछन् । उनीहरु ‘आईपीएस्’को ओछ्यानमा आराम गर्दै ‘एमसीसी’को गाउन लगाएर ‘एस्पीपी’को अक्सिजन सिलिण्डर मुखमा जोडिसकेका हुने छन् । शायद भेटघाट पनि कोमाबाट बाहिर निस्किएपछि मात्र हुने सूचना टाँगेर ।
सडक खाली खाली छन् । बाहिर रहेका दलहरुको पनि ‘हुती’ देखिएको छैन । संसदीय राजनीतिक दलहरुलाई जस्तै जनताको साथ छैन उनीहरुलाई ! अविश्वासको खडेरी छ । आशंकाको साम्राज्य छ !
पक्का हो, महाशक्तिको विरोध तिम्रो बसमा छैन । हुन पनि सक्तैन । तर तिम्रा लागि नेपाली विशिष्टतामा, नेपाली मौलिकतामा बन्न सक्ने सोच, नीति तथा कार्यक्रम त कसैले पनि घोषित रुपमा छिनेर लगेको छैन नि !
राजनीतिक दल र तिनका नेताहरुलाई जनताले निरन्तर सोधिरहेको प्रश्न हो, ‘के तिम्रो सोच्ने क्षमता, सिर्जनशीलता, आँट र इच्छाशक्ति सबै गुमकै हो ?’
यस्तो गतिहीन, निष्प्राण, सूचना विहीन गुमाहको अत्यासलाग्दो बादल कहिले फाट्छ ? निकै भारी बनेर सुनसान पो हुन गयो त सिंगो देश !