• मंसिर ७ २०८१, शुक्रबार

मन्त्रीले नै मच्चाए लफडा, एकीकृत समाजवादीको विवाद उत्कर्षमा, अध्यक्ष नेपालले अब के गर्लान् ?

असार ११ २०७९, शनिबार

काठमाडौं । फिर्ता बोलाउने पार्टीको निर्णयविरुद्ध उभिएका एकीकृत समाजवादीका मन्त्रीहरूले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । मन्त्री फेर्ने पार्टी निर्णयविरुद्ध खुलेआम उत्रिएका उनीहरूले नेतृत्वसँग उल्टै दलको बैठक माग गरेका हुन् ।

पार्टीले आफूहरूमाथि अपराधीको जस्तो व्यवहार गरेको र नयाँ मन्त्रीको नाम सन्तुलित नभएको भन्दै उनीहरूले आठबुँदे ध्यानाकर्षण पत्र पार्टीमा पेस गरेका छन् । पर्यटनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्यमन्त्री विरोध खतिवडाले लिखित ध्यानाकर्षण गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा उनीहरूले ६ जना अन्य सांसदको पनि हस्ताक्षर संकलन गरेका छन । पार्टी निर्णयको विरोधमा मन्त्रीहरू खुलेआम उत्रेपछि एकीकृत समाजवादीमा लफडा मच्चिएको छ । एकीकृत समाजवादीका मन्त्रीहरूले पद जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म गुहारेका छन् ।

उनीहरूले मन्त्री फेर्ने निर्णयमा पुनर्विचारका लागि पार्टी अध्यक्ष माधव नेपाललाई ‘दबाब’ दिन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन् ।

यता अध्यक्ष नेपालले भने पार्टी निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टीले गरेको निर्णयमा तलमाथि नहुने भन्दै कार्यान्वयनका पक्षमा उभिन मन्त्रीहरूलाई निर्देशन दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।