• असार १८ २०८१, सोमबार

७० वर्षमा एसईई दिने भइन् हजुर आमाले !

असार ९ २०७९, बिहीबार

भन्छन्, मानिसले मर्दासम्म पनि नयाँ नयाँ कुरा सिकिरिहेको हुन्छ । यस कुरालाई बूढेसकालमा विद्यालयमा कक्षा १ मा भर्ना भई पढ्दै गरेकी मोदी गाउँपालिका–८ चित्रे, पर्वतकी विष्णु गुरुङले पुनः पुष्टि गरेकी छिन् ।

गुरूङ अहिले ६० वर्षकी छिन् । यो उमेरमा विद्यालय जान थालेर उनले सबैलाई चकित र प्रेरित गरिरहेकी छिन् । उनी हाल मोदी–८ चित्रेकै वडाध्यक्ष सुकबहादुर गुरुङकी जीवन संगिनी हुन् ।

उनी अहिले स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत छिन् । बाल्यकालमा पढ्न नपाउँदा अहिले आफूलाई असजिलो महसुस भइरहेकाले उनी पढ्न कम्मर कसेर लागेकी हुन् ।

उनी साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थालेकी हुन् । पढ्न जान थालेपछि उनको अनुहारमा उज्यालो आशा छाएको छ ।

 

उनको चित्त बुझाइ छ, ‘त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन, अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ ।’ तर अचम्मको कुरा त के थियो भने ‘म विद्यालय जाँदै छु भनेर श्रीमानलाई भनेकी थिइनन् ।

विद्यालयमा भर्ना हुनेबारे श्रीमान श्रीमतीका बीचमा सरसल्लाह नै भएको थिएन । श्रीमान सुकबहादुर गुरूङ वडाकार्यालयबाट फर्किएपछि पो उनले ‘पढेर आएको’ भनी सुनाउँदा उनी अचम्म परेका थिए ।

 

‘वडाबाट फर्कंदा पो लौ म त कक्षा १ मा भर्ना भएर आएँ भनिन्, श्रमितीले’, गुरूङ थप्छन्, ‘म त अचम्ममा परेँ, फेरि सोचे उनको यो कामले अरू निरक्षर प्रौढलाई राम्रै पाठ सिकाउला ।’

विष्णु गुरूङको थप गुनासो छ, ‘गाउँमा धेरै पाहुना आउने, लौ आमा यो पढ्नु, यो हेर्नुस् भन्दा मलाई केही पनि नआउने लाजको मर्नु हुने भएपछि पढ्न हिँडे ।

चित्रेमा होम स्टे पनि छ । यो पर्वत जिल्लाकै नमूना हामेस्टे हो । यहाँ आउने पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने गर्छिन्, विष्णु गुरूङ । यति मात्र होइन, विद्यालयमा भर्ना भएसँगै विद्यालयको वातावरण पनि निकै रमाइलो बनेको शिक्षकहरुको भनाइ छ ।

उनको सहभागिता र लगनले साना उमेरका विद्यार्थीको सिकाइमा पनि निकै सुधार ल्याउन थालेको छ । उनको अध्ययनले सबैलाई उत्प्रेरित गरिरहेको छ ।

विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिना त ‘पुराना पुस्ताका व्यक्तिले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिमा थप विकास गराउने र हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने’ कुरा ढुक्कताका साथ राख्ने गरिरहेका छन् ।

अहिले ६० वर्षको उमेरमा विद्यालय भर्ना भएकी विष्णु गुरूङले अबको १० वर्षपछि ७० वर्षको उमेरमा एसईई पूरा गर्नेछिन् ।