काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम बिहीबार समेत निरन्तर जारी रहेको छ ।
एक दिनको वृद्धिपछि सेयर बजारले लगत्तै पछ्याउने गरेको गिरावट बिहीबारको कारोबारमा पनि देखिएको छ। बिहीबार नेप्से परिसूचकले ४५.२५ अंकको फराकिलो गिरावट लिँदै ओर्लिएको छ। कारोबार बन्द हुँदा परिसूचक १८४८.२८ को विन्दुमा सीमित हुन पुगेको हो।
सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ।
सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । बुधबारको तुलनामा कारोबार रकम बढेका कारण लगानीकर्ता अत्तालिन थालेर बेचिरहेको देखिन्छ । बाह्य क्षेत्रलाई जोडेर आगामी मौद्रिक नीति कसिलो आउने विश्लेषण हुने थालेपछि सेयर बजार झन् खस्किन थालेको छ। यसै बीच बाह्य क्षेत्रमा परेको भ्वाङ सहजै सिउन मुस्किल हुने सेयर बजारको वर्तमान गतिविधिले उदृत गरेको छ।
बिहीबार कुल २३७ वटा कम्पनीको ३३ हजार ४६० वटा कारोबारबाट ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार खुले लगत्तै तीव्र गतिले बजार घट्दा घाटा बहन गर्न नसक्नेहरुको जमात सक्रिय देखिन्छ। बिहीबार डेढ अर्ब रुपैयाँ बराबरका कुल ५० लाख कित्ता अधिक सेयर किनबेच भएका हुन्।
घट्दो बजारमा पनि आँधीखोला लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लाग्यो । यसको मूल्य ९६०.७० रुपैयाँ पुगेको छ । सीईओसी नेपाल लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेर ६०५.३० रुपैयाँ पुगेको छ ।