• चैत्र २६ २०८१, बुधबार

महङ्गियो भान्छा: तरकारीदेखि दैनिक उपभोग्य बस्तुमा छोइ नसक्नु मूल्यबृद्धि

असार ९ २०७९, बिहीबार

काठमाडौं । पछिल्लो तीन महिनामा इन्धनमा भएको मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालीको भान्सासम्म पुगेको छ । इन्धन र ढुवानी खर्च बढ्दा बजारमा तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक मूल्यमा अधिकांश फलफूल तथा तरकारीमा मूल्य बढेको छ। तरकारी तथा फलफूलको मूल्य किलोमै सय रुपैयाँसम्मले बढेको छ।

अघिल्लो वर्षको तुलनामा अहिले तरकारी मूल्य आकाशिएको छ। तरकारीमा आलु, प्याजको मूल्य स्थिर रहँदा बाँकी वस्तुको मूल्य बढेको समितिले उल्लेख गरेको छ। काउलीको मूल्य ६० बाट ७०, चमसुरको साग १०० बाट २०० पुगेको छ। एक महिना अघिमात्रै चमसुरको साग १५० रुपैयाँ प्रतिकिलो रहेको थियो।

त्यस्तै कन्य च्याउ १ वर्षअघि २५० रहेकोमा ३०० रुपैयाँ पुग्दा डल्ले च्याउ २८० बाट अहिले ४०० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कागती १०० रुपैयाँ रहेकोमा अहिले १६० रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष अकबरे खुसार्नी १५० रहेको थियो अहिले २५० रुपैयाँ पुगेको छ। गाँजर १०० रुपैयाँबाट १२० पुगेको छ। भारतीय ठूलो गोलभेँडा ५० रुपैयाँ रहेकोमा अहिले १०० रुपैयाँ पुगेको छ।

तामा १०० रुपैयाँबाट १४० रुपैयाँ भएको छ। स्थानीय बन्दा ४० रुपैयाँ रहेकोमा अहिले ९० रुपैयाँ पुगेको छ। ब्रो काउली १४० रुपैयाँ रहेकोमा २०० रुपैयाँ पुगेको छ। हरियो फर्सीको मूल्य ५० बाट ६० रुपैयाँमा पुगेको छ।

खाद्यान्नमा सबैभन्दा महंगो खाने तेलको मूल्य रहेको छ। गत असारमा २२० देखि २३० रुपैयाँमा पाउने खानेतेलको मूल्य खुद्रामा ४०० रुपैयाँसम्म बिक्री भएको छ।