काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा फेरि अर्का तत्कालीन नायब सुब्बा र उनका परिवारका चार जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ ।
४ वर्ष सरकारी सेवामा बसेर सवा ६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले असार ३ गते मात्रै गुल्मीका भीमकान्त भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
त्यसको एक साता नबित्दै अख्तियारले अर्का तत्कालीन नासु गणपति झाविरुद्ध करिब साढे २ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०३९ मंसिर ९ बाट खरिदार (गाविस सचिव)बाट सरकारी सेवा प्रवेश गरेका धनुषा जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा (साविक देवपुरा रुपैठा गाबिस–२) का ५८ वर्षीय गणपतिले २०७८ साउन ३ मा नासु पदबाट अवकाश पाएका थिए ।
तत्कालीन जिल्ला विकास समिति (जिविस) कार्यालय कैलाली र धनुषा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, डिभिजन सडक कार्यालय जनकपुर, हेभी इक्विपमेन्ट डिभिजन कार्यालय जनकपुर, गृह मन्त्रालय र अवकाश हुँदा जिल्ला प्रशासन कार्यालय धनुषा गरी ८ स्थानमा कार्यरत झा धनुषा प्रशासनबाटै अनिवार्य अवकाशमा गएका थिए ।
गणपति सरकारी सेवामा हुँदा सेवाग्राहीबाट घुस माग्नेदेखि निर्माण कार्यमा कमिसन खोज्ने र आफैंले कागज मिलाएर आफन्तका नाममा निर्माण कम्पनी खोल्नेसम्मका काम गरेका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।