संसार आफैमा विचित्र छ । विचित्र यस कारणले कि अहिलेसम्म देखिएका र भएका भन्दा पनि फरक र आश्चर्यका चित्र बनाउँदै र बन्दै जान्छन् यो संसारमा ।
अहिले एउटा आश्चर्यको तर विश्वास लाग्दो खोज वैज्ञानिकहरूले गरिरहेका छन् । त्यो हो मलद्वारबाट श्वास फेर्ने र थप जीवन जिउने हो !
अहिलेसम्म हामीले जानेको विश्वास गरेको कुरा हो, मानिसले नाक र मुखबाट मात्र श्वास फेर्छ । तर वैज्ञानिकले बनाउँदै छन् कि निकट भविष्यमै मानिसले आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ ।
एक अनौठो कुरा :
मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुरा सुन्दैमा अनौठो मात्र होइन, अपत्यारिलो पनि लाग्छ । यदि यसो गरियो भने त यसले मानव शरीरको संरचनामा मात्रै होइन, मानव जीवनमा र समग्र चिकित्सा विज्ञानमा नै ठूलो हलचल आउने छ ।
मलद्वार निस्कासन प्रणालीमा भाग लिने सबै भन्दा महत्वपूर्र्ण अङ्ग हो । निस्कासन प्रणालीमा भाग लिने अङ्गले कसरी श्वासप्रश्वास प्रणालीमा भाग लिन सक्ला ? यो आम चासो र जिज्ञासाको विषय पनि हो ।
शरीरका विभिन्न प्रणाली :
एउटा जीवको सजीव अस्तित्वका लागि उसको शरीरमा निहित विभिन्न प्रणालीहरूले एकैसाथ तर संगतिपूर्ण काम गर्नै पर्छ । यसरी आआफ्ना काम गर्ने प्रणालीले अर्को भिन्न प्रणालीको कामको जिम्मा पनि लिन सक्ला र ?
मानव शरीर त झनै जटिल र धेरै विभिन्न प्रणालीको योग हो । मानव शरीरमा स्नायु प्रणाली, श्वासप्रश्वास प्रणाली, रक्तसञ्चार प्रणाली, पाचन प्रणाली, निस्कासन प्रणाली, अस्थिपञ्जर प्रणाली, मांशपेसी प्रणाली, रिप्रोडक्टिभ प्रणाली आदिले काम गरिरहेका छन् ।
वैज्ञानिक परीक्षण :
मानिसको मलद्वारबाट दिसा निस्कासन हुन्छ । कहिलेकाँही अपानवायु अथवा पाद पनि निस्कन्छ । तर त्यही दिसा र अपानवायु निस्कासन हुने मलद्वारबाट सास कसरी लिन सकिएला ? त्यहीबाट सास लिएर बाँच्ने, यो सबैका लागि आश्चर्यको विषय पनि हो ।
तर मानिसले मलद्वारबाट श्वासप्रश्वास गर्नसक्ने कुरालाई प्रमाणित गर्नका लागि वैज्ञानिकको टिमले यसको परीक्षण सुँगुर र मुसामा गरिसकेका छन् । मात्र केही समय अघि यो परीक्षण कछुवामा पनि गरिएको थियो ।
यसको परीक्षण रिपोर्ट क्लिनिकल एण्ड ट्रान्सलेसनल रिसोर्स एण्ड टेक्नोलोजी इनसाइट जर्नलमा प्रकाशित भइसकेको छ । यस प्रयोगका लागि ल्याइएका जीवहरूको आन्द्रालाई वैज्ञानिकहरुले रगडेर आन्द्राको ‘म्युकोसल लाइन’ पातलो बनाइदिएका थिए ।
म्युकोसल लाइन पातलो बनाएमा आन्द्राको रक्तप्रवाहमा तिव्रता आउँछ, बाधा हटेर जान्छ । यसरी म्युकोसल लाइन पातलो बनाइएका जीवहरूलाई कम अक्सिजन भएको कोठामा राखियो ।
अपवादका रूपमा कछुवाको आन्द्रामा प्राकृतिक रूपमै पातलो म्युकोसल लाइन हुन्छ । यसै कारणले कछुवामा मलद्वारबाट स्वास लिनमा कुनै पनि समस्या आउँदैन । चिसो याममा पनि मलद्वारबाट स्वास लिएर कछुवा जीवित रहिरहन्छ ।
तुलनात्मक अध्ययन :
डेलीस्टारमा प्रकाशित भएको खोजी रिपोर्ट अनुसार आन्द्रा पातलो ‘नगराइएका’ र आन्द्रा पातलो ‘गराइएका’ जनावरलाई कम अक्सिजन भएको च्याम्बरमा सँगै राखियो ।
आन्द्रा पातलो नगराइएका जीव ११ मिनेटपछि मरे । तर आन्द्राको म्युकोसल लाइन पातलो बनाइए जीव १८ मिनेटसम्म बाँचे । यसरी थप ७ मिनेटसम्म बाँचिरहेका जीवले मलद्वारबाट पनि श्वासप्रश्वास लिइरहेका थिए ।
थप परीक्षण :
तर वैज्ञानिकहरूले उक्त परीक्षण करीब १ घण्टासम्म जारी राखे । यसको कारण थियो, आन्द्रा पातलो बनाइएका जीवको मलद्वारबाट थप प्रेसर अक्सिजन दिएपछि परिणाम के हुन्छ, त्यसको परीक्षण गर्ने ।
त्यसो गर्दा तीमध्ये ७५ प्रतिशत जीव थप १ घण्टासम्म जीवित रहन सके । यसबाट आन्द्राको पत्रलाई पातलो बनाइएको खण्डमा मुसा र सुँगुरले कम अक्सिजन भएको बेला आफ्नो मलद्वारबाट समेत श्वास फेर्न सक्दा रहेछन् भन्ने पुष्टि हुनुका साथै निरन्तर अक्सिजन पाउन सके नाक र मुखबाट स्वास लिन नसकेको अवस्थामा पनि मलद्वारबाट सास लिएर बाँच्न र बचाउन सकिदो रहेछ ।
केही आध्यात्मिक आधार :
अध्यात्म चिन्तनले जीवमा र मुलतः मानिसमा पाँच प्रकारका प्राणको कल्पना गरेको छ । तिनमा घाँटीमा रहने उदान प्राण, मुटुमा रहने प्राण, हड्डीमा रहने समान प्राण, मासुमा रहने व्यान प्राण र मलद्वारमा रहने अपान प्राण मुख्य रहेका छन् ।
यी मध्ये हाल वैज्ञानिकहरुले अपान प्राणमा स्वासप्रस्वासको संभावनाको खोजी गरिरहेका छन् । किनकि यसले शरीरभित्र हावा लिने र फ्याक्ने क्रियामा भाग लिन सक्ने ल्याकत राख्छ ।
ग्रामीण प्रयोग :
गाउँघरमा कुखुरा र कुखुराका चल्ला केही उचाइबाट झर्दा बेहोस हुन गएमा तिनका गुदद्वारबाट निरन्तर स्वासप्रस्वास गराइन्छ । यो प्रक्रिया गाउँघरमा मानिसले आफ्नो मुखमा हावा लिँदै र निरन्तर फुक्दै गरेर गर्ने गर्दछन् ।
गम्भीर चोट नलागेका कुखुरा र तिनका चल्ला यस प्रक्रियापछि बाँचेर हिँड्ने गरेका देखिन्छन् । गाउँघरमा किसानहरुले यसको वैज्ञानिक कारण त थाह पाएका छैनन् ।
तर यसो गरेमा कुखुरा र तिनका चल्लाहरु बाँच्छन् भन्नेमा ढुक्क र विश्वस्त भने देखिन्छन् । व्यवहारमा सफलतापूर्वक प्रयोग पनि गर्दै आएका छन् ।
निष्कर्ष :
वैज्ञानिकहरू मानिसको आन्द्रामा म्युकोसल लाइन पातलो बनाएमा मानिसले पनि मलद्वारबाट सास फेर्न सक्नेमा ढुक्क भएका छन् । उनीहरुले उक्त सफल परीक्षणले मानिसमा पनि मलद्वारबाट श्वास फेर्न सकिने बनाउन सम्भव रहेको बताएका छन् । तर पनि अहिलेसम्म यस्तो परीक्षण मानिसमा गरिएको छैन । यसका लागि कानुनी बाधाहरु फुकाउने क्रम जारी छ ।