काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उडान बन्द गर्ने वायु सेवा सञ्चालक संघको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।
प्राधिकरणले एकलौटी रूपमा पूरा गर्नै नसकिने प्रावधान ल्याएको भन्दै सेवा प्रदायकले भोलि बुधवारदेखि आकस्मिकसहितका सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
तर आज नै पत्रकार सम्मेलन गरेर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले वायु सेवा क्षेत्र अत्यावश्यक क्षेत्र भएकाले बन्द नगर्न चेतावनी दिए । उनले भने, ‘धाक–धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरू कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’
आजदेखि लागू हुने गरेर काठमाडाैंबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरेर मात्रै उडान गर्न पाइने प्राधिकरणले आफूहरूसँग एक पटक पनि छलफल नगरी एकतर्फी रूपमा ल्याएको यो प्रावधान मान्न नसकिने सङ्घको भनाइ छ ।