• मंसिर २० २०८१, बिहीबार

राजनीतिक दल हेरेको हेर्‍यै छन्

असार ७ २०७९, मंगलवार

राजनीतिक दलहरु देशमा सिर्जित परिस्थिति हेरेको हेर्‍यै छन् । उनीहरुले हेर्नु र नहेर्नुमा तात्विक अन्तर पनि छैन । हेरेका छन् वा छैनन्, त्यसको प्रतिक्रिया पनि छैन । अमूक, अमूक र अव्यक्त, अव्यक्त छ अवस्था !

स्थानीय निर्वाचन भयो, देशैभर राजनीतिक दलहरुका मानिस चुनिए । मात्र केही ठाउँमा स्वतन्त्र उम्मेदवार चुनिएर आए । तर देशभरका सबै राजनीतिक दलका निर्वाचित प्रतिनिधिहरुको सामूहिक पल्लाभन्दा केही स्वतन्त्र उम्मेदवारहरुको पल्ला भारी रह्यो ।

निर्वाचित सिट संख्या त आआफै गणना गरे राजनीतिक दलहरुले, तर गुण भने उनीहरु कसैको पनि पोल्टामा परेन । स्वतन्त्र उम्मेदवारहरुको पोल्टामा पुग्यो । चर्चा/परिचर्चा स्वतन्त्रहरुकै रह्यो । अहिले त ती दलका नेताहरुको एकअर्कालाई पत्तासाफ पार्ने खेल पनि धेरै मत्थर भइसकेको छ ।

महंगीले आकाश छोइरहेको छ । सरकार यसका बारेमा ‘चुँ’ सम्म पनि बोल्दैन । शायद, बोल्ने हैसियत र ल्याकत पनि राख्दैन । देश उँधो लागिरहेको छ । शोधनान्तर घाटा बढ्दै छ । दैनिक उपभोग्य वस्तु खरिदका लागि आवश्यक पर्ने डलरको सञ्चिती पनि छैन ।

रेमिटेन्सले गति लिन सकिरहेको पनि छैन । शेयर मार्केट ओह्राले लागिरहेको छ । सरकार र राजनीतिक दलहरुले हेरेको हेर्‍यै छन् । प्रश्न अनगिन्ती छन्, अनुत्तरित छन् । जनाका माझमा प्रश्नै प्रश्नले घर गरिरहेका छन् । तर प्रश्नका घरले मनसुनी पानीबाट समेत जनतालाई ओतपात दिन सकिरहेका छैनन् ।

सरकारले के गर्छ भनेर जनताले सोध्न छाडिसके । अब त जनता रवि लामिछानेको स्वतन्त्र पार्टीको उद्घाटन र भाषणमा कुद्न थालिसके । उनीहरुको कर्मप्रतिको चासो बढेको छ । आशा त्यतैतिर मोडिन थालेको देखिन्छ । राजनीतिक दलहरु यी सबै गतिविधि हेरेको हेर्‍यै छन् ।

शायद राजनीतिक दलहरुका आफ्ना एजेण्डा सिद्धिए छन् कि क्या हो, छिमेकी र विदेशी शक्तिहरुका एजेण्डालाई कार्ड बनाएर खेल्न थालेका छन् । देशमा केही नगर्दा राजनीतिक दलहरुलाई जति घाटा छ, त्यो भन्दा बढी घाटा छिमेकी देशहरु तथा विदेशी शक्ति केन्द्रहरुको एजेण्डालाई तास फिटे झैं फिट्ने र खेल खेल्न थालेपछि हुँदै गएको छ । यो खेल जनताले हेरेको हेर्‍यै छन् ।

त्यसैले राजनीतिक दलहरु अबका दिनमा तिमीहरुले निर्माण गरेर सोझ्याएको वर्षौं पुरानो सोच र बाटाहरुमा धेरै फोहर जमिसकेका छन् । धेरै झाडी र बुट्यानहरु उम्रिइसकेका छन् । ती सबैलाई सानो मेहनतले सफा गर्न सकिने अवस्था छैन । त्यसैले नयाँ गतिविधिमा जनताको आकर्षण बढ्न थालिसकेको छ ।

तर राजनीतिक दलहरु किंकर्तव्यविमूढ बनेर यी सबै घटनाक्रम हेरेको हेर्‍यै छन् ।