काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले भोलि बुधबारदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने घाेषणा गरेको छ ।
संघले आज पत्रकार सम्मेलन गरेर सबै आन्तरिक हवाई उडान बन्द गर्ने जानकारी दिएकाे हो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सरकार तथा क्यानले एकतर्फीरुपमा दमनकारी प्रवृति देखाएको भन्दै बाध्यकारी भएर यस्तो कदम चाल्नु परेको बताए ।
संघले सरकारले दमनकारी प्रवृति देखाएको भन्दै आफ्ना ५ बुँदे माग पूरा नभएसम्म विमान र हेलिकोप्टरले दिने आपतकलिन तथा नियमित सेवा बन्द गर्ने जानकारी दिएको हो ।
नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं बाहेकका विमानस्थलबाट बिश्राम गरी उडान गर्न गरेको निर्देशन तत्काल पालना गर्न नसकिने संघको भनाइ छ ।
हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आईपर्ने समस्याहरुप्रति वेवास्ता गरिएको र एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरुबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सृजना भएको संघको तर्क छ ।