काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु हुन थालेसँगै सुर्खेतमा कर्णली प्रदेशको प्रादेशिक कृषि विकास रणनीतिको दस्तावेजमाथि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको यो अन्तरक्रिया कार्यक्रम संघीय सरकार कृषि तथा पशुपक्षी मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा गरिएको हो ।
सोमबार शुभारम्भ भएको दुई दिने कार्यक्रममा प्रदेश सरकारका कृषिमन्त्री चन्द्रबहादुर शाहीले नेपाली विष्टितालाई बढी जोड दिएका छन् । उनका अनुसार प्रदेशमा हावापानी र माटो सुहाउँदो कृषि विकास रणनीति तय गरिएमा मात्र प्रतिफल हात लाग्छ ।
त्यसैले कर्णाली सरकारले प्राङ्गारिक कृषिको अवधारणा अघि सारेको र यो कृषि विकास रणनीतिले सरकारको त्यो अवधारणा सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाउने शाहीको दाबी छ ।
कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले पनि कर्णालीको कृषि विकासका लागि सबैभन्दा पहिले कृषि प्रसार नीति २०६४ को जगमा आजको कृषि विकास रणनीतिले टेकेर जानुपर्नेमा जोड दिएका छन् ।
मिश्रका अनुसार कृषि विकास रणनीतिले स्थानीय विशिष्टतासँग मेल खानु पर्ने कुरामा जोड दिए । साथै, कृषि बीमा र मलखाद पनि यो रणनीतिको अभिन्न अंग बनेर आउने कुरामा जोड दिए ।
प्रदेशस्तरीय अन्तक्र्रियामा मन्त्रालयका ईन्द्रहरि पौडेल तथा कृषि विकास रणनीतिका बद्री बस्ताकोटीले दीर्घकालीन कृषि विकास रणनीतिका आवश्यक सम्भाग, प्रतिफल, क्रियाकलाप, उक्त रणनीतिको कार्यान्वयन अवस्था, त्यसका नीतिगत, संस्थागत संरचना, कार्यक्रम सूचकका बारेमा आफ्ना प्रस्तुति राखेका थिए ।
उक्त कार्यक्रममा स्याउ, ह्याचरी, फलफूल, उद्योग, बैंक, बीमा, हाटबजारलगायतका विभिन्न क्षेत्रमा काम गर्ने कृषि विज्ञ, उद्योगी, व्यवसायीसहितका सरोकारवालाको सहभागिता रहेको थियो ।