भक्तपुर । भक्तपुरमा ‘बो’ सिंह को पुनस्र्थापना भएपछि स्थानीय वासी तथा पर्यटकहरुमा यसले थप खुसी ल्याएको छ । ‘बो’ सिंहका नामले पुकारिने उड्ने सिंह ३७१ वर्ष पुरानो रहेको छ ।
भक्तपुर नगरपालिका दरबार स्क्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा यो पुरानो ‘बो’ सिंह स्थापना हुँदा उत्सवका रुपमा लिइएको छ ।
वि.सं. १९९० को महाभूकम्पमा भत्किएपछि शिखर शैलीको उक्त मन्दिरलाई फर्सी आकारमा निर्माण गरिएपछि फर्सी देवका रुपमा चिनिँदै आएको थियो । पछि आएर वि.सं. २०७२ को भूकम्पले मन्दिर पुन: भत्काएको थियो ।
अहिले १९९० साल भन्दा अगाडिकै स्वरुपमा शिखर शैलीमा मन्दिर पुन:निर्माण गरिए पछि जनताले पुनर्जागरणको अनुभूति गर्न थालेका छन् । हाल पुन:निर्माणको अन्तिम चरणमा रहेको उक्त मन्दिर मल्लकालीन अवस्थाको हो ।
अहिले राजा जयप्रकाश मल्लको पालामा विसं १७०७ मा बनेको ऐतिहासिक नीलकण्ठेश्वर महादेवका नाममा समेत चिनिने शिलु महादेव मन्दिरमा बाजागाजाका साथ बो सिंहलाई ल्याएर पुन:स्थापना गरिएको छ ।
भक्तपुर दरबारस्क्वायरको ‘गोसाईं कुण्ड’का रुपमा समेत चिनिने यो मन्दिरको चारैतर्फ रहेको उड्ने सिंह स्थापना गरिएको थियो । वि. सं. १९९० सालको भूकम्पमा मन्दिर भत्किएपछि ८८ वर्ष अगाडि दुईवटा सिंहलाई भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकामा र दुई वटालाई भक्तपुर नगरपालिका–७ गोल्मढीस्थित ग:हिटी (ढुङ्गे धारा)को दायाँबायाँ राखिएको थियो ।
मन्दिरको पेटीका पाँचमध्ये तीन तहमा जोर जनावर राख्ने परम्परा लिच्छिवी तथा मल्लकालदेखि रहँदै आएको छ । शिलु महादेव मन्दिरमा सबैभन्दा तल हात्ती, त्यसको माथि दोस्रो तहमा सिंह र सोभन्दा माथि साँढे राखिएका छन् ।
मन्दिरका देवताको पहरेदारको रुपमा ढोका वा सिँढीमा सिंह र अन्य जनावर राख्ने ऐतिहासिक परम्परा हो । यसलाई धार्मिक आस्थासँग पनि जोडिने गरिन्छ ।
नेवारी भाषामा शिलुलाई गोसाइँकुण्ड भनिन्छ । स्थानीयवासीका अनुसार गोसाइँकुण्ड जान नसक्ने बालबालिका, ज्येष्ठ सदस्य एवं अशक्त भक्तजनका लागि यो मन्दिर १७ औँ शताब्दीतिर बनेको हो ।
करिब चार करोडको लागतमा पुन:निर्माण भएको यस मन्दिरको दायाँबायाँ अन्य दुई मन्दिर पनि रहेको पुराना तस्बिरमा देख्न पाइन्छ । वि.सं. १९९० अगाडि यस मन्दिरको बायाँपट्टि कुनामा हरिशङ्करको मन्दिर रहेको थियो । जसलाई नेपाल भाषामा लाँ पाँ देग अर्थात् बाटो छेकेर बनाइएको मन्दिर वा देवल भनेर चिनिने यो मन्दिर भने अहिले यहाँ देखिँदैन ।
यो मन्दिर १९९० सालको भूकम्पमा भत्किएपछि नयाँ नबनाउँदा मन्दिर देख्न पाइँदैन भने यहाँको मूर्ति राष्ट्रिय कला संग्र्रहालय, भक्तपुरमा राखिएको छ । शिलु महादेव मन्दिरको दायाँतर्फ भने भूइँ तलामा दक्षिणामूर्तिको मन्दिर र माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुका मन्दिर रहेको संस्कृतिविदहरूको भनाइ छ ।
विसं १९६५ र १९९० को भूकम्पमा धराशायी बनेका तीन तले माथि गुम्बज शैलीको ती मन्दिर पनि १९९० सालपछि पुन:निर्माण नहुँदा तस्विरमा मात्रै देख्न पाइन्छ ।