• मंसिर १३ २०८१, बिहीबार

तनाव कम गर्न प्रहरी वृत्तमा योगाभ्यासको प्रस्ताव

असार ६ २०७९, सोमबार

काठमाडौं । आफ्नै संस्थाका काम तथा नागरिक/सामुदायिक साझेदारी काम गर्दा प्रहरी कर्मचारीमा आइ पर्ने तनाव कम गर्न योगाभ्यासले काम गर्ने भन्दै गृहमन्त्री बालकृष्ण खाणले प्रस्ताव गरेपछि यसले प्रहरी कर्मचारीमा नयाँ उत्साह ल्याएको देखिएको छ ।

एक व्यस्त कर्मचारीले दैनिक अविछिन्न रुपमा गर्ने विविध काम र कामका कारण सिर्जित हुने तनाव व्यवस्थापनका लागि योगाभ्यासले सहयोग पुर्‍याउने गृहमन्त्रीको दाबी रहेको छ ।

मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले पुर्‍याउने फाइदा हेरेर यसलाई नियमित एक अंगकै रुपमा प्रहरी कर्मचारीभित्र राख्दा उपयुक्त हुने पनि देखिन्छ ।

गृहमन्त्री खाणले यो कुरा मौखिक प्रस्तावका रुपमा आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै गरे पनि यसले प्रहरी कर्मचारीमा आशा भने जगाएको छ ।

योग र योगाभ्यासले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न ठूलो टेवा दिन्छ । साथै, यसले जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन पनि निरन्तर उर्जा भरिरहन्छ ।

मानव समाज दैनिक विभिन्न प्रकारका घटना, दुर्घटना र अपराध परिवेशमा रुमलिइरहेको हुन्छ । यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि सोच र व्यवहारमा सन्तुलन ल्याउनु जरुरी छ । त्यसमा पनि दैनिक आमजनतासँग जोडिएर काम गर्नु पर्ने प्रहरी कर्मचारीका लागि त अति जरुरी नै छ ।

गृहमन्त्री खाणका अनुसार ‘मानवताका लागि योग’ भन्ने नारालाई आत्मसात् गरेर मात्र समाज र राष्ट्रको हित तथा विकासमा आफूलाई समर्पित गर्न सकिन्छ । योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर तथा मस्तिष्कलाई स्वस्थ र सन्तुलित राख्छ ।