काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तत: अमेरिका जाने नै भए । निकट भविष्यमा हुने भनिएको उनको संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिक रूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएपछि यो कुरा स्पष्ट हुन गएको हो ।
प्रम देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालसँगको भेटमा उक्त भ्रमणवारे बताएका हुन् । तिथिमिति तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा पनि देउवाले व्यक्त गरिसकेका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएपछि भुसालले प्रमसँग भेट गरेकी हुन् । सचेतक भुसाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य पनि हुन् ।
समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको कुरा बताएका थिए ।
बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षामन्त्रीलाई आगामी बैठकमा पुन:आमन्त्रण गर्ने निर्णय गरेको छ ।