• मंसिर ११ २०८१, मंगलवार

स्वास्थ्यका लागि सिधेनुनको प्रयोग किन उत्तम छ ?

असार ५ २०७९, आईतवार

नुन मानव शरीरका लागि अति नै आवश्यक तत्व हो । तर, मानव शरीरमा नुन निर्माणको कुनै जैविक प्रक्रिया नहुने  हुँदा खानामार्फत् यसको परिपूर्ति आवश्यक हुन्छ । नुन (सोडियम) सागपात, गेडागुडी, फलफूल तथा अन्नहरूमा पनि प्रशस्त पाइन्छ ।

तर सदियौंदेखि स्वाद र स्वास्थ्यका लागि समुद्री लवण (नुन) लाई प्रयोग गर्ने प्रचलनले गर्दा हाम्रो मनमस्तिष्क यस्तो भएको छ कि नुनविना खानाको स्वाद नै  हुँदैन । नुन बिनाको दाल, तरकारी खाना कति गाह्रो हुन्छ भन्ने सबैलाई थाहा छ ।

त्यसैले अहिले नुन हाम्रो खानाको अभिन्न र अपरिहार्य अङ्ग बन्दै आएको छ । तर हिजोआज हामीहरूले व्यापकरूपमा प्रयोग गर्दै आएको सेतो नुनको समुचित प्रयोग नगर्ने हो भने यो नुन स्वास्थ्यका लागि निकै खतरनाक पनि हुन सक्दछ ।

तर, स्वास्थ्यको लागि कुन नुन, दैनिक कति र कसरी खाने भन्ने विषयमा जनसाधारणमा अद्यापि प्रशस्त भ्रम र अन्यौल कायम रहेको छ ।

के हो सेतो नुन ?

शरीरमा पोषक तत्व र उर्जाको सञ्चार, द्रवहरूको मात्रात्मक सन्तुलन, मस्तिष्क, फोक्सो, हृदय, कलेजो र मांशपेशी लगायतका शरीरका सबै अङ्गहरूका स्थुल र हजारौं सुक्ष्म कार्यमा प्राथमिक भूमिका खेल्ने नुन निश्चित रूपले हाम्रो स्वस्थ जीवनको आधार पनि हो ।

तर, हामीहरूले दैनिक प्रयोग गर्ने सेतो नुन प्रकृतिले हामीलाई सग्लो खाद्य पदार्थको रूपमा उपलब्ध गराएको ८४  ट्रेस मिनरल र माइक्रो न्यूट्रिएण्ट सहितको प्राकृतिक स्वास्थ्यवद्र्धक नुन चाहीँ होइन । वास्तवमा भन्ने हो भने यो कृत्रिम नुन हो । नक्कली नुन हो ।

कसरी बन्छ सेतो नुन ?

समुद्रको पानी वा प्राचिन नुन खानीबाट उत्खनन गरिएको सामुद्रिक लवणलाई कारखानामा १२०० देखि १५०० डिग्री फरेनहाइटको तापक्रममा सघन प्रशोधन र सेतो तुल्याउन ब्लिचिङ् गर्ने क्रममा मानव शरीरलाई अत्यावश्यक म्याग्नेशियम, क्याल्सियम, पोटासियम, व्रोमाइड र रूविडियम समेतका सबै खनिज र पोषक तत्वलाई पन्छाएर केवल सोडियम (३९ दशमलव ५ प्रतिशत) र क्लोराइड (६० दशमलव ५ प्रतिशत) को संयोजनद्वारा यस्तो सेतो नुन उत्पादन हुने गर्दछ ।

शुद्धता (रिफाइण्ड)को नाममा प्रकृति प्रदत्त सग्लो खाद्य वस्तुमा हुने कुनै पनि प्रकारको प्रशोधन आफैँमा प्राकृतिक नियमविरूद्ध र मानव स्वास्थ्यको लागि निकै अहितकारीे हुन्छ, चाहे त्यो सेतो नुन होस् वा चाहे त्यो सेतो चिनी वा अत्यधिक सेतो चामल वा मैदा होस् ।

प्रशोधनका अतिरिक्त यस्तो नुनमा आद्र्रता नआओस् वा नपग्लियोस् भन्नाका लागि अल्मुनियम हाइड्रोक्साइड र फेरो सायनाइडजस्ता एन्टी केकिङ्ग रसायनहरू मिलावट गरिन्छ, जो स्वास्थ्यका लागि निकै घातक छन् ।

यस्तो नुन अजैविक त हुँदै हो, प्रकृतिले हाम्रो शरीर अनुकुल हुने गरी दिएको शुद्ध र प्राकृतिक स्वरूपको नभएर नक्कली वा कृत्रिम पनि हो । बितेका केही दशकदेखि संसारभर यही सेतो नुन ज्यादै चल्तिमा छ । यही कारण संसारभर अनेक रोगहरू पनि बढ्दै गएको विषेशज्ञ बताउँछन् ।

खतरनाक सेतो नुन :

हिजोआज उच्च रक्तचाप, ब्लड सुगर, आथ्र्राइटिस, मुटुको अनियमित चाल, विविध हृदय रोग, दम, ब्रोङ्काइटिस र अन्य श्वास प्रश्वासका रोग, दीर्घ ग्यास्ट्राइटिस, महिलाहरूमा महिनावारी गडबडी (पीएमएस्), अस्टियोपोरोसिस, डिप्रेसन, हृदयाघात, ऐड्रिनल फेटिग, कलेजोको रोग, मिर्गौला र पित्त थैलीमा पत्थरी जस्ता रोगहरू अभुतपूर्व बढ्दै गएका छन् ।

यस्ता रोगहरू बढ्नुमा सेतो नुनको अत्याधिक सेवन पनि एक प्रमुख कारण भएको विशेषज्ञहरू बताउँछन् । नुनको सोडियम घटकको हाइड्रोफिलिक स्वभावले गर्दा यसले आफ्नो तौलको २० गुणासम्म बढी पानी सञ्चय गर्न शरीरका कोषिकाहरूबाट पानीको मात्रा तानेर लिन्छ ।

नुनको सेवनपछि प्यासको स्वाभाविक अनुभुति साथै रक्त प्रवाहमा अत्यधिक जलसंचयले हृदयका धमनीहरूमा अतिरिक्त दबाब पर्न गई रक्तचापमा बृद्धि हुन सक्दछ । सोडियम अधिकताको कारण अनावश्यक पानी छानेर पिसावबाट निस्कासन गर्ने मृगौलाको कार्य क्षमतामा कमी आउन थाल्दछ ।

मृगौलाका समस्याहुँदै शरीर फुल्नेसम्म स्थिति बन्छ । त्यसमाथि सेतो नुनमा सोडियमलाई सन्तुलनमा राख्न प्रकृतिले दिई पठाएको म्याग्नेसियमलाई नुनको प्रशोधन र धुलाइकै बखत मिल्काइने र यस्तो नुनमा शरीरमा बचेखुचेको म्याग्नेसियमलाई समेत निषेध गर्ने रसायन हुन्छ ।

यो रसायनले धमनीहरूमा संकुचन ल्याई रक्तचापमा अरू जटिलता थपिन्छन् । त्यसैले पनि यस्तो नुनको उपयोगलाई यथासक्य न्यूनतम गर्न सन् २००५ देखि डब्लुएएसएच (वास) कार्यक्रम थालनी भएको छ । र, हालसम्म ९५ देशका ५२७ संगठनहरू यस अभियानमा संलग्न छन् ।

कुन नुन  राम्रो ?

जति पनि नुनका प्रकारहरू छन्, कुनै न कुनै समय समुद्रकै पानीबाट तयार हुने समुद्री लवण नै हुन् । सेतो नुनलाई जस्तो व्यापक धुलाई, प्रशोधन र केमिकल ट्रिटमेन्ट नगरी सामुद्रिक नुनलाई सिधै समुद्रको पानीलाई सुकाएर वा प्राचिन समुद्र सतह पुरिएर २५ देखि ५० करोड वर्ष पूर्व बन्न गएका भौगोलिक पकेटहरूबाट उत्खनन गरेर जस्ताको तस्तै उपभोक्ता बजारमा  पुर्याइन्छ ।
यसर्थमा सबै समुद्री लवण प्राकृतिक लवण नै हुन् । यसमध्ये पनि हिमालयको काराकोरम श्रृंखला अन्तर्गत हाल पाकिस्तानको पञ्जाव प्रान्तको खेवरा नुनखानीबाट उत्पादित सिधे नुन गुणवत्ताको हिसावमा सबैभन्दा उच्च कोटिको नुन मानिएको छ ।

सिन्ध इलाकामा उपलब्ध हुने हुनाले यस नुनलाई सैन्धव वा सिधे नुन भनिएको हो । यो नुन मानव समाजको उत्पत्ति अघिकै उत्पादन हुनाले हालका हानीकारक औद्योगिक र अन्य रसायन, रेडियोधर्मी तत्व र प्रदुषणबाट सर्वथा मुक्त छ ।

सोडियम क्लोराइडको मात्राको हकमा सेतो नुनको ९९ दशमलव ५ प्रतिशतको अपेक्षा यसमा ८७ प्रतिशत र बाँकी अवयव संरचनामा मानव शरीरलाई चाहिने २१ प्रकारका अनिवार्य र ३० प्रकारका सहायक खनिज तत्व सहित हाम्रो खानामा दुर्लभ हुँदै गएका फलाम, तामा, चाँदी, सुन र लिथियम जस्ता धातु वोनसको रूपमा मिल्ने हुँदा मानव स्वास्थ्यको लागि यो अत्यन्तै गुणकारी सावित हुन्छ ।

सिधे नुनमा सेतो नुनको तुलनामा सोडियमको मात्रा कम हुनाले मात्र श्रेष्ठ होइन कि यस्तो सोडियम हाम्रो शारीरिक आवश्यकता अनुरूप प्राकृतिक स्वरूपमा हुने हुँदा बायो एक्सेसिवल अर्थात् सहज ग्रहणयोग्य पनि हुन्छ । शरीरका बात, पित्त, कफ जनित त्रिदोषलाई समन गरी सात्विक भाव र स्वास्थ्य प्रवद्र्धन गर्ने हुँदा यसलाई नुनलाई नुनको राजा भनेर महर्षी सुश्रुतले इशापूर्व छैठौ शताब्दीमै आफ्नो संहितामा यसको उल्लेख गरेका छन् ।

त्यस्तै इ.पू. पाँचौ शताब्दीको वौद्ध ग्रन्थ विनयपिटक र इ.पु. चौथौ शताब्दीको चरक संहितामा पनि यसको प्रशस्त गुणगान पाइन्छ । अमेरिकाका चर्चित चिकित्सक डा. डेविड व्राउन्स्टीनले पनि सिधे नुनलाई सर्वश्रेष्ठ नुन भनेका छन् ।

उनका अनुसार सिधे नुनले उच्च र न्युन दुवै रक्तचाप सुधार गर्ने, रगतमा चिनीको मात्रालाई सन्तुलनमा ल्याउने, कोषिकाको अम्लियता र खास गरी मस्तिस्क कोषिका (न्युरोन) मा सञ्चित अम्ललाई हटाई शरीरलाई क्षारीय तुल्याउने, शरीरका यावत विकारहरूलाई निस्कासन गरी शरीरलाई शुद्ध तथा निर्मल गर्न सर्वोत्तम भूमिका निर्वाह गर्ने बताउँछन् ।

सिधे नुनले मुटुको चाललाई सामान्य गर्ने, शरीरका अन्तश्रावी ग्रन्थीहरूलाई दुरूस्त गर्ने, मस्तिष्कको कार्य कुशलता वृद्धि गर्ने, ब्याक्टेरियाको संक्रमणहरू रोक्ने, शरीरको रोगप्रतिरोध क्षमता मजबुत गर्ने, शरीरमा उर्जा, उत्साह र शौर्य ल्याउने काम गर्छ ।

साथै, यसले दम र व्रोङ्काइटिसजस्ता समस्याहरूमा आराम पुर्याउने, सेरोटोनिन र ट्रिप्टोमाइन जस्ता स्नायुरसायनहरू उत्पादन गरी स्नायुप्रणाली अनि मन र मस्तिष्कलाई समेत शान्ति र सितलता प्रदान गर्ने जस्ता अनेकौ स्वास्थ्य लाभ हुने कुरा नविनतम अध्ययन अनुसन्धानले पनि बताएको छ ।

समुद्र लवणको रङ्ग उपलब्ध हुने स्थान र घटक खनिजको प्राधान्यताबाट प्रभावित हुन्छ । सिधेनुन आइरन अक्साइडको प्राधान्यताले हल्का गुलावी, एट्लान्टिकको ब्रिटानी समुद्र तटमा उपलब्ध फ्रेन्च (केल्टिक) समुद्र लवण हल्का खरानी वा वालुवाको रङ्गको, हवाइयन एलि नुन रातो र अर्को हवाइयन कालो नुन कोइलाको प्रभावले कालो रङ्गमा पाइने गर्दछ ।
समुद्र लवणका लाभहरूको पुरापुर आनन्द उठाउन यसलाई नपकाई भोजनका बखत दाल वा तरकारीमा मिश्रण गर्ने र एक पटकमा ३ औलाको चिम्टीमा आउने (१ चौथाई चिया चम्चा) वरावरको मात्रा उचित हुने वताइएको छ ।

तथापि समुद्र लवणमा सोडियमको तह सेतो नुनमा भन्दा कम हुने हुँदा शारीरिक अवस्था र स्वाद अनुसार थोरै मात्रात्मक हेरफेर गर्न भने सकिन्छ ।

पुछारमा :

सेतो नुनको लाभ अति नै न्यून छ । तर यसबाट स्वास्थ्यका लागि हानी भने धेरै छ । यसमा राखिएको आयोडिन पनि नेपालका सबै ठाउँ र मानिसहरूका लागि आवश्यक छैन । त्यसैले यस नुनको ठाउँमा सिधे नुन प्रयोग गर्ने वा दैनिक ३ ग्राम भन्दा बढी यस नुनको सेवन नगर्ने हो भने स्वास्थ्यमा सकारात्मक प्रभाव देखिने पक्का छ ।

थाइरोइडिज्म, मुटुको रोग, हाइब्लड प्रेसर, मोटोपना, सुगर तथा किड्नी फेलियर आदिको समस्याहरू स्वतः कम हुनेछन् । त्यसैले सेतो नुनको ठाउँमा सिधे नुन सेवन गरौं । स्वस्थ जीवन बाँचौं !