• मंसिर ११ २०८१, मंगलवार

नेताको काम के हो ?

असार ४ २०७९, शनिबार

उसले उसको कद घटाएँ भन्छ
फेरि उसले उसको गढ भत्काएँ भन्छ
के नेताको काम खाली खाने र भत्काउने मात्रै हुन्छ ?
नकचराहरु !
देशको कद कस्ले घटायो थाहा छ ?
तिम्रो पार्टीको झण्डा माथि उचाल्दा
देशको झण्डा किन तल झर्छ ?
तिमीले चुनाव जित्दा
छिमेकीहरुमा झलमल्ल हुन्छ
उनका कार्यकताहरुमा ढलमल्ल हुन्छ ।

फलानो चिन्ह भएको पार्टीको
लज्जास्पद हार भयो रे
फेरि फलानो चिन्ह भएको पार्टीको त
जमानत जफत भयो रे !
देशको लज्जास्पद हार भएको
देशको इज्जत जफत भएको
तिम्रो फुटेको आँखाले देख्दैन ?
यस्ता कपुत पुत्रहरु कस्को
रगतले जन्मे खै ?
अब त छरछिमेकीले पनि
सोध्नै छाडे ।
उसले गठबन्धन गरेको रे
ऊ फलानोसित मिलेको रे
नेपाली नेपाली मिलेर विकास गरेको खै ?
फलानो यति भोटले पराजित भयो रे
फलानो यति भोटले विजय भयो रे
तर दूरदराजमा बसेका
थाहा छैन गरिव किसानका मागहरु
सेवा र सुविधाहरु कति भोटले पराजित भए ?
फलानोले पोहोर पनि जितेको रे
फलानोले पोहोर पनि हारेको रे
तर खै जित्नेले के पायो ?
खै हार्नेले के पायो ?

यो गरिवको भागमा खाली
हार मात्रै पर्दछ
उसको भागमा
जित कहिले पर्छ खै ?
के नेताको काम अर्काको
गढ भत्काउने र कद घटाउने मात्रै हो ?