काठमाडौं । गठबन्धनका दुई ठूला दल कांग्रेस र माओवादीले भने तत्काल मन्त्री हेरफेर नगर्ने भएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टीका तर्फबाट मन्त्री हेरफेर गर्नेबारे छलफल नभएको बताए ।
‘हाम्रो पार्टीमा मन्त्री फेर्ने विषयमा छलफल भएको छैन,’ उनले भने, ‘दुई दिनअघि बसेको गठबन्धन बैठकमा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरिसकेको हुँदा बजेट पास भएपछि उक्त निर्णय कार्यान्वयन गर्ने कुरा भएको हो ।’
माओवादी नेता वर्षमान पुनले मन्त्री हेरफेर गर्नुपर्छ भनेर पार्टीमा कुरा उठे पनि निर्णय नभएको बताए । ‘पार्टीमा सामान्य कुरा उठेको छ तर यसबारे कुनै निर्णय भएको छैन,’ उनले भने ।
खास गरेर अर्थमन्त्री जनार्दन शर्मा पटक–पटक विवादमा आएको भन्दै माओवादीका कतिपय नेताले मन्त्री हेरफेर गर्न अध्यक्ष दाहाललाई दबाब दिए पनि उनी यसका लागि तयार छैनन् ।
कांग्रेसमा मन्त्री हेरफेरबारे कुरा उठे पनि प्रधानमन्त्री देउवा तयार छैनन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि मन्त्री हेरफेर गर्नेबारे पार्टीमा छलफल नभएको बताए ।
‘अहिलेसम्म नेतृत्व तहमा मन्त्री फेर्ने, नफेर्ने कुनै कुरा भएको छैन, व्यक्तिगत रूपमा कसैलाई लाग्नु बेग्लै कुरा भयो,’ प्रवक्ता महतले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।