काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ ।
चिनीको मूल्यबारे धेरै गुनासो आएपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो ।
बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए । केही दिन अघिसम्म ९५ रुपैयाँ किलो रहेको चिनीको बजार मूल्य प्रतिकिलो ११० रुपैयाँसम्म पुर्याइएको छ ।
छलफलका क्रममा बजारमा चिनीको अभाव नहुने भए पनि मूल्य बढ्नुको कारण लागत बढ्नु भएको दाबी व्यापारीले गरेको शर्माले बताए । सरकारी स्वमित्वका निकायसँग चिनी कत्ति पनि नभएको र खरिदको कुनै प्रक्रिया पनि नथालेको पाइएको विभागले जनाएको छ ।