• मंसिर १२ २०८१, बुधबार

मगरहरुले यसरी मनाए यसपालीको भूमे पर्व (हेर्नुहोस् तस्विर)

असार ३ २०७९, शुक्रबार

काठमाडौं । नेपालका मगर समुदायका मानिसहरुले यसपाली पनि भूमेपर्व मनाएका छन् । विभिन्न पेसा गर्दै काठमाडौंमा बस्दै आएका उनीहरुले टुंडिखेलमा जम्मा भएर यसपालीको भूमेपर्व मनाएका हुन् ।

 

संस्कृतिको रक्षा, सामुहिकताको पहिचान र एकताको प्रतिकको रुपमा उनीहरुले यो पर्वलाई मनाउँदै आएका छन् । मगरहरुको साझा संगठन नेपाल मगर संघको आयोजनामा भएको भुमे मेलामा देशभरबाट काठमाडौंमा जम्मा भएका मगरहरुले यो पर्व रमाइलो गरेर मनाए ।

उनीहरुले असार १ देखि ३ गतेसम्म रमाइलो गरेर यो पर्व मनाएका छन् । यसपर्वको ऐतिहासिकताका बारेमा मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर हामीलाई जानकारी दिएका छन् ।

खासगरि उनले ३ वटा कुरालाई जोड दिएर यसको महत्वका बारेमा स्पष्ट पार्ने कोसिस गरेका छन् ।

उनले वर्षाको समय भएकोले रोगव्याधी नलागोस् भनेर पूजाआजा गरेर मनाउने गरेको र खासगरि असारको महिनालाई आर्थिक वर्षको पहिलो महिना मान्दै आइएकोले वर्षभरीको हिसाव टुङ्ग्याएर नयाँ हिसाव सुरु गर्ने गरिन्छ भन्ने जानकारी दिए ।

सरकारले गर्ने बजेट भाषण र यो पर्वको उद्धेश्य उस्तै रेको उनको भनाई रहेको छ । यसैगरी उनले यसलाई बाली राम्रो बनाउने उद्धेश्य पनि यसमा रहेको बताए ।

साथै यस समयमा मगर समुदायमा रहेका केटाकेटीहरु हिमालको छेउमा बुकी टिप्न जाने भएकोले यसै समयमा प्रेम पनि गर्ने चलन रहेको उनको भनाई रहेको छ ।

प्रेम भइसकेकाहरुले भने यसै समयमा केटी भगाएर ल्याउने चलन रहेको उनको भनाई रहेको छ । यसकारणले असार १ गतेबाट नयाँ घरजम गर्न सरु गर्ने चलनको रुपमा लिने गरेको उनको भनाइ रहेको छ ।

यसपालीको भूमेमा प्रेम सुरु भएर अर्को वर्षको भुमेमा विहे गरम्ला भनेर भाका राख्ने चलन पनि यसैपाली गरिने जानकारी पुनले दिए । यसरी यस पर्वलाई मगरहरुको साँस्कृतिक पर्व पनि भन्न सकिन्छ ।

अध्यक्ष पुनले भुमेलाई आर्थिक, किसानी र संस्कृतिका रुपमा लिनु पर्ने बताए ।

 

यसपर्वको बेला सामुहिकरुपमा नाचिने भएकोले मगरहरुको बिचमा एकताको भाव पैदा गर्ने उनको बुझाइ रहेको छ । त्यस्तै नयाँ र पुरानो पुस्ताका मानिसरु सबै एउटै माला बनेर नाचिने भएकोले संस्कृतिको पुस्ता हस्तान्तरण पनि हो । यसकारण यो सामाजिक पक्ष पनि हो ।

नेपालको मध्यपहाडको रोल्पा तथा रुकुम लगायतका जिल्लाहरुमा यो पर्व मौलिकरुपमा अझै जिवीतै छ तर अन्य क्षेत्रमा भने भुल्दै गएको आभाष भएको छ । तर पनि अन्य ठाउँ पनि कतै भँयर पूजा, कतै भुँयर पूजा, कतै भूँइ पूजा त कतै बलि पूजाको नाममा देशै भरी मनाइन्छ ।

समयक्रममा पुथ्वीमा रहेको पानी जमिन अलग भएसँगै जीवको उत्पति भएको हो । यसैक्रममा मानव सभ्यताको विकास जमिन वा भुइँबाट भएको हो । यसैकारण मानिसको जीवन पनि जमिनसित जोडिएको हुनाले जमिनलाई पूजा गर्ने वा यसको रक्षा गर्नुपर्छ भन्ने भावना फैलाउने गर्दै आइएको हो ।

जमिन नभएको भए जीवहरुको अस्तित्व नै नहुने भएकोले यसको स्मरण गरिने पर्व नै भूमे पर्व हो । हजारौं वर्षदेखि यो परम्परालाई मनाउँदै आइएको हो ।

वर्षभरी जसरी जमिनले हामीलाई पाल्छ र सम्मान गर्छ भने हामीले वर्षको एक दिन जमीनलाई स्मरण गरि पूजा गर्नुपर्दछ । यसको आधारमा यो पर्वको जन्म भएको हो ।