• मंसिर २० २०८१, बिहीबार

झगडा होइन, हिम्मत भए सामना गर्न तयार होऊ

असार ३ २०७९, शुक्रबार

अमेरिकी सैन्य साझेदारी ‘स्टेट पार्टनरसिप प्रोग्राम (एस्पीपी)’ को विषयलाई लिएर नेपाली राजनीति दल र यिनका नेताहरु एकअर्कालाई सत्तोसराप गरिरहेका छन् । तर कसैले पनि यो काम हाम्रो पालामा भएको भनेर स्वीकार गरिरहेका छैनन् ।

यस अघि नै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), जो पछिल्ला सिलसिलेवार घटनाक्रमका ‘माउ दस्तावेज’ हो, हातमा ठेला पर्ने गरी टेबुल ठटाएर संसदबाट पारित गरिसकेका छन् । एसपीपीलगायतका पछिल्ला कुराहरु एमसीसी कार्यान्वयनका क्रममा कार्यक्रमिक रुपमा देखापरेका फगत कार्यक्रम मात्र हुन् ।

त्यसैले ‘एमसीसी पो पारित गरेको एसपीपी कहाँबाट आयो’ भन्नु ‘संविधान पो बनाएको हो, ‘यो देवानी संहिता, कार्यविधि संहिता, फौजदारी संहिता, ऐन, नियम र नियमावली कहाँबाट आए’ भनेर घोर अज्ञानता र धोखाधडी अभिव्यक्त गर्नुबाहेक केही होइन ।
तर राजनीतिक दलका नेताहरु गरिरहेका छन् यही । शासक/प्रशासकले भन्न र गर्न नसुहाउने यो कार्य सर्वथा निन्दनीय कार्य हो । तर यसै विषयमा पानी माथिको ‘ओभानो’ हुने कुचेष्टामा तल्लिन छन्, दल र तिनका हर्ताकर्ता नेताहरू !

उता अमेरिकी कुटनीतिक नियोगले एक एक प्रमाण सार्वजनिक गरेर यिनीहरुलाई बारम्बार नङ्ग्याइरहेको छ नेपाली जनताका माझमा । यता नेपाली शासकहरु भने गल्ति गरिएको कुरा प्रष्ट्याउने र सच्याउने भन्दा पनि थप गिजोल्दै लैजाने र नेपाली जनतामाझ भ्रम सिर्जना गर्ने दुष्कर्म गरिरहेका छन् ।

भित्रभित्रै देशघाती र जनघाती सन्धिसम्झौता गर्ने तर जनतालाई गुमराहमा राख्ने शासकीय विरासत आजको होइन । यही कारण नेपालीले अप्रत्यक्ष वैदेशिक दासत्व पनि बेहोर्दै आइरहेका छन् ।

राज्यका निकायहरु बीचमा अन्तरसम्बन्ध र समन्वय कायम नगर्ने, एकले अर्कालाई उछिन पाछिन गरेर जान्ने ठहरिने, सम्बन्धित क्षेत्रमा ज्ञान र दख्खल नभएका मन्त्री र राजदूतहरु बन्ने/बनाइने, कोटा निर्माण गरेर आफन्तहरु भर्ने, शक्तिको चाकरी गरेर सत्ता टिकाउने, स्वदेशी अन्तरविरोध विदेशीको कानमा भर्ने, राष्ट्रिय स्वाधिनता रक्षाका लागि एकजुट हुन नसक्ने कमजोरीका कारण अहिले देश विदेशी शक्ति राष्ट्रहरुको चक्रव्युहमा फसिसकेको छ ।

नेपालको मित्रराष्ट्र अमेरिका कुनै पनि हालतमा नेपालमा अड्डा जमाएर चीन र भारतलाई तह लगाउने दाउँमा रहेको छ । यता नेपालका छिमेकी राष्ट्र चीन र भारत अमेरिकाको यो बढ्दो र आक्रामक गतिविधि देखेर नेपाली शासक र प्रशासकहरुमाथि गम्भीर प्रश्नहरु गरिरहेका छन् ।

अबका दिनमा नेपाल र नेपालीलाई विदेशी शक्तिहरुको चक्रव्युहरुपी दबाब र गतिविधि थेग्न निकै गाह्रो हुने देखिएको छ । विदेशी चक्रव्युह र एटोमिक चट्याङसहितको आँधीहुरी नेपाली भूमिमा निम्त्याउन राजनीतिक दल र तिनका नेताहरु प्रत्यक्ष रुपमा संलग्न छन् ।

दल र दलका नेताहरु आफूले गरेका गल्ती कमजोरीबाट कहिँकतै पनि उम्कने वा लुक्ने ठाउँ छैन । त्यसैले ०.५ प्रतिशत जति पनि तिमीहरु इमान्दार छौ भने गालीगलौजको अभिशप्त विरासत त्याग ।

नेपालको विदेश नीतिका सन्दर्भमा राष्ट्रिय एकता कायम गरेर छिमेकी तथा मित्र राष्ट्रहरुलाई नेपालको असंलग्नतामा आधारित विदेश नीतिबारे बोध गराऊ ! त्यो नीतिमाथि परिआउने हरव्यवधानको सामना गर्न तयार होऊ ।