• मंसिर ११ २०८१, मंगलवार

पनौतीको ब्रहमायणी जात्राको एक झलक

असार २ २०७९, बिहीबार

काभ्रेका सात गाउँमध्येको एउटा गाउँ पनौती कला कौशल र साँस्कृतिक दृष्टिले  महत्वपूर्ण स्थान हो । मल्लकालीन कला कौशल र साँस्कृतिक दृष्टिले पनि भक्तपुरपछिका पूर्वतिरका बस्तिहरुमा पनौतीको स्थान अग्रणी मानिन्छ ।

प्राकृतिक दृष्टिले पनि पनौती चारैतिर डाँडाहरुले घोरेएको खोपासीसम्म ठूलो उर्वर फाँट रहेको रमणीय ठाउँ हो । पनौती काठमाडौँदेखि करिब ३२ कि.मि पूर्वदक्षिणमा रहेको छ । यहाँ प्रत्येक बाह्र वर्षमा माघ महिनाभरि मकर मेला लाग्दछ ।

पनौतीमा वर्षभरि जसो विभिन्न जात्रा मनाईरहेको पाइएतापनि त्यहाँको ठूलो जात्रा भनेको ब्रहनायणी जात्रा हो । पनौती ब्रहमायणीको जात्रा प्रत्येक वर्ष जेष्ठ शुल्क द्वाशीबाट प्रारम्भ भएर  पूर्णीमासम्म चारदिन चल्दछ ।

जात्राको पहिलो दिन  :-

जेष्ठ शुल्क द्वाशीको दिन जात्रा प्रारम्भ हुन्छ । यो दिनलाई घ :कवाहाँ विज्याइगु भनिन्छ । पहिलो दिनमा ब्रहमायणीको मूर्तिलाई भित्रको मूल कोठाबाट बाहिरको अर्को कोठामा ल्याइन्छ । त्यसैगरी भद्रकालीलाई पनि मूल कोठाबाट बाहिरको कोठामा रहेको विशेष प्रकारको सिहंसनमा राखिन्छ । त्यसदिन देखि पनौतीवासीहरु जात्रा शुरु भएको मान्दछन् । घरवरपर सफासुग्घर गरी राम्राराम्रा लुगा लगाई पाहुनाहरुलाई स्वागत गर्न तमतयार रहन्छन् । घरैच्छिे सबैदिन देवताहरुको पुजा आजा गर्दछन् ।

जात्राको दोस्रो दिन :-

जेष्ठ शुल्क त्रयोदशीको दिन जात्राको दोस्रोदिन पर्दछ । त्यसदिनलाई डुईचा ङयकेगु भनिन्छ । स्थानीय नेवार दाजुभाई तथा दिदी बहिनीहरु त्यसदिनलाई कुलक्या पनि भन्ने गर्दछन् । यस दिन विहान डुईचाले (पुटुवार) दुईबाट हरियो बाँस ल्याई  ब्रहमायणीको देवघर बाहिर राख्दछ ।

त्यसपछि साँझ परेपछि मानेश्वर बसपार्कमा दुरेलाई हनुमान ढोकाबाट ल्याएको खड्ग दिने चलन छ । जात्राको लागि खड्ग ग्रहण गरेपछि उक्त खड्ग बोकी विभिन्न बाजा समूहहरुबाट
बाजा बजाई जात्राको दुरेले पनौती नगरमा रहेका विभिन्न देवी देवताहरुको दर्शन तथा पुजा आजा गर्दछ । विहान ल्याएको बाँसमा राता र सेता कपडाहरु राखेर देउला अघि पुर्याउँदछ ।

त्यसबेला बाजा गाँजाका साथ पूजाका समान बोकेकी स्त्री जातिकी डुईचासहित नगरका थकाली, सुगाल, कर्माचार्यहरु पनि पछि लाग्दछन् । बेलुकी जब ब्रहमायणीको रथ त्रिवेणी घर नजिकैको झोलुङ्गेपुल नजिकै पुर्याएपछि मूल पुजारी सुगाल र डूईचा गरी तीनजना पुल तरेर खोलापारि रहेको ब्रहमायणीको मन्दिरमा पुग्ने गर्दछन् । पुल तर्दा ती तिनै जनाले विशेष प्रकारले हिंड्ने गर्दछन् । त्यसैलाई डूईचा न्याकेगु भनिन्छ । खुट्टालाई नउचाली घिसारेर हिंड्छन् ।

यसलाई पुराना बुढापाकाहरुले पहिले पुण्यमाता खोलामा बाढी आएको कारणले तर्न नसकेर बासुकी नागको आराधनापछि नाग स्वयम पुल बनेर वरिपरी गर्न नागको शरीर माथि टेकेर हिंडेको हुनाले हाल पनि त्यसरी नै विस्तारै पाइला नउचालिकन हिंड्ने गरेको भन्ने भनाई छ ।

डुईचा ङ्केगु प्रकियापछि भद्रकालीको रथमा भद्रकाली र दुरेलाई राखी बाजागाजासहित रथ तानेर ल्याइन्छ । जब भद्रकालीको रथ ब्रहमायणी मन्दिर पुगेपछि भद्रकालीलाई रथबाट झिकेर ब्रहमायणी मन्दिरमा लशकुश गरी भिर्त्याइन्छ । त्यसपछि भद्रकालीको मूर्तिलाई ब्रहमयणी मन्दिर भित्रको भद्रकालीकै शिलामुर्तीसँगै राखिन्छ ।

यो कार्यपछि मन्दिरमा प्रवेश निषेध गरिन्छ । रातभर मन्दिरभित्र सम्बन्धि पुजारीद्वारा तान्त्रिक पूजा गरिन्छ । यज्ञ गर्नु अगाडी एउटा राँगो बली दिइन्छ । यज्ञ पछि भने बोका काटेर भद्रकालीलाई बलि दिने गर्दछ । यस समयमा ब्रहमयणी मन्दिरको ठिक पारीपट्टी रहेको बासुकी नागलाई नगरबासीद्वारा दुध चढाउने चलन रहेको छ ।

जात्राको तेस्रो दिन :-

जात्राको तेस्रो दिन चतुर्दशीको दिन विहानैदेखि पनौती नगरका बासिन्दाहरु र पाहुनाहरु ब्रहमायणी मन्दिरमा दर्शन गर्न घुइँचो लाग्दछ । त्यसदिन श्रद्धालुहरुले बली चढाउने पनि गर्दछन् । त्यस दिनलाई मू :जात्रा (मूल जात्रा )पनि भनिन्छ । त्यसदिनमा  सम्पूर्ण पनौती बासीहरुले आ-आफ्ना इष्टमित्र पाहुना पाछा बोलाएर भोज खुवाउने गरिन्छ ।

यही दिनमा गणेशको पनि भव्य जात्रा गरिन्छ । चर्तुदशीका दिनमा भैरवको पुजा गरी ईन्द्रेश्वर मन्दिरको चोक भित्र राँगो बली दिने चलन छ । हरेक वर्षको एकदिन चतुर्दशीको दिन मात्र राँगो काट्ने र देउला (पोडे) हरुलाई मन्दिर प्रवेश गर्ने दिइन्छ । काटिएको राँगोलाई भोलिपल्ट जात्रा गर्दा उन्मन्त भैरव र भद्रकालीलाई माला जस्तै गरी लगाइदिने चलन छ । सोही दिनमै ब्रहमयणी देवाघरको पटाङ्गिनीमा तीनवटा माटाका स-साना ध्याम्पाहरु राखी बोका बली दिएर जोगीचक्र दिन पराम्परा छ ।

जात्राको अन्तिम दिन :-

पनौतीबासीहरुले पाहुना पासाहरुलाई जात्राको तेस्रोदिन बोलाएतापनि जात्राको अन्तिमदिन अर्थात्  पूर्णीमाको दिन निकै रमाइलो हुन्छ । यस दिनमा पनौती आस पासका सबै स्थानहरुबाट ठूलो संख्या जात्रा हेर्न आउँछ । वर्षा शुरु हुनु भन्दा अगाडी यो जात्रा हुने भएकोले आषाढ महिनाको लागि घुम (एक प्रकारको बाँस र पातबाट बनेको छाता) बेच्न ल्याउने धेरै हुन्छ । त्यसैले यो जात्रालाई घुम जात्रा पनि भनिन्छ । कुनै कुनैले हिले जात्रा पनि भन्ने गरिन्छ । नेवारीमा ज्या पुन्ही भनिन्छ ।

अन्तिम दिन पनौती लायकु डबलीमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मन्त्र भैरवका रथहरु एक आपसमा जुधाई जात्रा गरिन्छ । यो जात्रा मध्यराति गरिने परम्परा भए पनि केही वर्षदेखि सुरक्षा र अन्य कारणले दिउँसो गरिदै आइएको छ । जेष्ठ शुल्क  पूर्णीमाको दिन पनौतीस्थित त्रिवेणी घाटमा नुगइ धुगई गरी रथ जुधाएको हेरेमा वर्ष भरिको पापबाट मुक्त हुने जनविश्वास रहेको छ ।

जात्रामा विशेष गरी उन्मत्त भैरवको खटले पछाडीबाट तीनपल्ट र इन्द्रेश्वर महादेवको रथले अगाडीबाट तीनपल्ट भद्रकालीको रथसँग जुधाउने परम्परा छ । यसरी रथ जुधाउँदा रथजात्रामा संलग्न व्यक्तिहरुले चारैतिरबाट अबिरको वर्ष गराउँदै गर्दा त्यस क्षेत्रमा एक विशेष उमङ्गको वातावरण सृर्जना हुन्छ । उन्मक्त भैरवको खटले पछाडीबाट र इन्द्रेश्वर महादेवको रथले अगाडीबाट भद्रकालीको रथसँग जुधाउने परम्परा आफैमा देवीदेवता बीच यौनक्रिडा भएको र सो देख्न नसकोस् भनेर अबिर छर्ने गरिएको किम्बदन्ती छ ।

पनौतीको यस जात्रा सम्बन्धि एउटा छुट्टै किम्बदन्ती प्रचलनमा छ । किम्बदन्ती अनुसार परापूर्वकालमा महादेवले श्री कृष्णको चरित्र हेर्ने विचार गरी कृष्णका थुप्रै पन्तीहरुमध्ये आफूलाई एउटी दिन महादेवले आग्रह गरे । कृष्णले पनि कोठामा रहेको एउटी मन पर्ने एउटी लाग्न अनुमति दिए । जब महादेव प्रत्येक कोठामा चहार्दै जाँदा हरेक कोठामा कृष्णसँग बसिरहेको मात्र भेटाए ।

त्यो देखेर महादेव कैलाश फर्की सबै कुरा पार्वतीलाई सुनाए । महादेवको कुरा सुनेर पार्वती ६४ योगिनीको रुप धारण गरेर कामातुर भई महादेवलाई लखेटन थालिन । सो रुपदेखि महादेव डराएर भाग्दै पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रुपमा लुकेर बसे । लुकेर बसेको स्थानमा ६४ योगिनी पार्वतीले प्रतीक्षा गरिरहिन् । यो पार्वतीले मलाई नछोड्ने भनेर महादेव पनि उन्मन्त्र भैरवको रुप धारण गरी योगिनी पार्वतीको छेऊ आए ।

योगिनीरुपी पार्वती छोडेर भद्रकालीको रुप बदलेर रोशीखोला किनारै किनार भाग्न थालिन् । यसरी भाग्ने क्रममा पनौतीको लायकु डबली पुगेपछि उन्मन्त्र भैरवले भद्रकालीलाई पछाडीबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अक्स्थामा आइन् । आफ्नो यौन चाहना पूरा भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरुपमा आई सम्भोग गर्ने इच्छ प्रकट गरिन र फेरि अगाडीबाट भैरव महादेवको वास्तविक स्वरुपमा आई पुन तीनपटक सम्भोग गरे ।

यसरी पनौतीको रथ जुधाउने जात्रा सकिएपछि बेलुकी चिराग बालेर जात्रा गरी पुलिसपाटीमा राखिएकी ब्रहनायणीलाई लशकुश गर्दछ । ब्रहनायणीलाई रथमा राखी जात्रा गरेर बजारमा परिक्रमा गराई देवघरमा भित्र्याइन्छ । सोही दिनको बेलुका अघिल्लो दिन इन्द्रेश्वर प्राङ्गणमा बलि दिइएको राँगाको मासुको परिकार बनाई ‘बल भ्वय’ खाइन्छ ।

अनि पनौतीको जात्रा एक वर्षको लागि समाप्त हुन्छ । पनौतीको जात्राका पौरानीकता जे जस्तो भए तापनि यसलाई जोगाई भावी पुस्तालाई हस्तारण तर गर्नु हाम्रो कर्तव्य हो । जसले गर्दा यस क्षेत्रभित्र रहेका हरेक संस्कृतिहरु जोगिन्छ । साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन र प्रचारप्रसार गर्नु हाम्रो कर्तव्य तथा दायित्व हो ।