काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा लोकप्रिय मानिएको इसेवाले ‘हेलिकोप्टरबाट गोसाइँकुण्ड तीर्थयात्रा गराउने’ नाममा कानुनविपरीत चिट्ठा खोलेर ग्राहकबाट पैसा असुलेको छ ।
इसेवाले ‘आहा मात्र रु. ५० मा हेलिकोप्टरमा गोसाइँकुण्ड’ नामबाट चिट्ठा कार्यक्रम सञ्चालन गरी सदस्य ग्राहकबाट पैसा असुल गरेको हो । यो कार्यक्रमा सहभागी हुने सदस्यले ५० रूपैयाँ तिर्नुपर्नेछ ।
सहभागीमध्ये गोला प्रथाद्वारा दुई भाग्यमानी ग्राहकलाई इसेवाले हेलिकोप्टरमार्फत गोसाइँकुण्डको तीर्थयात्रा गराउने र बाँकी सबैको रकम फिर्ता गर्ने भनिएको छ ।
राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमति लिएको कुनै पनि संघसंस्थाले चिट्ठा खोल्ने कार्यक्रम ल्याएर आफ्ना ग्राहकबाट पैसा उठाउन पाइँदैन ।
तर राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने अनुमति लिएको इसेवाले भने चिट्ठा कार्यक्रमका नाममा नयाँ पुराना ग्राहकबाट ५० रूपैयाँको दरले रकम लिने गरेको छ । यो सरासर गैरकानुनी काम हो ।
राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले वित्तीय कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिएका कुनै पनि संघसंस्थाले चिट्ठा र यस्तै प्रकृतिका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने जानकारी दिए ।
‘आफ्ना ग्राहकबाट पैसा उठाएर चिट्ठा खोल्नु सरासर गैरकानुनी काम हो,’ पोखरेलले सोमबार भने, ‘इसेवाले चिट्ठा प्रयोजनका लागि सदस्यहरूबाट पैसा उठाएको छ भने यो कानुनविपरीत हो ।’ यो समाचार नागरिक दैनिकमा छ ।