काठमाडौं । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ ।
पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो । अहिले पुनः अमेरिकाले सैन्य समझदारीपत्रमा हस्ताक्षर गर्न जोड गरेको छ ।
यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ‘ए’ फ्लिनले नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी)मा नेपाली सेनाले हस्ताक्षर गर्नु पर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरेका छन् । स्रोतका अनुसार देउवाले प्रमुख राजनीतिक दलहरूलाई सहमतिमा ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
देउवा सो सम्झौताको विषयमा सकारात्मक भइसकेका छन् तर नेपाली सेना भने अहिले नै सम्झौताको गर्ने विषयमा भने सहमत भइनसकेको स्रोतले बताएको छ । यो समाचार राजधानी दैनिकमा छ ।