काठमाडौं । कृषिबाट हरितगृह ग्यास उत्सर्जनलाई रोक्नको लागि न्युजिल्याण्डले किसानका लागि भेडा र गाईले डकार गरे जरिमाना तिर्न पर्ने कानुनी मस्यौदा तयार गरेको छ । न्युजिल्याण्डको वातावरण मन्त्रालयले बुधवार मस्यौदा कानून पेश गरे अनुसार किसानहरूले प्रत्येक भेडा वा गाईलाई डकार गर्दा शुल्क लगाइने जनाएको छ ।
न्युजिल्याण्डको वातावरण मन्त्रालयका अनुसार कानूनले मुर्तरुप लिएपछि किसानहरूलाई पशुधन उत्सर्जनको लागि भुक्तान गर्ने न्यूजील्याण्ड पहिलो देश हुने न्यूजिल्याण्डको समाचार एजेन्सीले समाचारमा उल्लेख गरेका छन् ।
एक रिपोर्ट अनुसार ५० लाख जनसंख्या भएको न्युजिल्याण्डमा १ करोड गाईगोरु तथा २ करोड ६० लाख भेडा छन् । न्युजिल्याण्ड विश्वको ठूलो कृषिउपज निर्यातक मुलुक हो । न्युजिल्याण्डमा हुने हरितगृह ग्यास उत्सर्जनको आधा हिस्सा त कृषि क्षेत्रबाट हुने गर्दछ । कृषि क्षेत्रबाट उत्सर्जन हुने हरितगृह ग्याँसमा मिथेन मुख्य हिस्सा ओगटेको हुन्छ ।
सरकार तथा कृषकका प्रतिनिधिहरु समेतको सहभागितामा तयार पारिएको उक्त मस्यौदा अनुसार सन् २०२५ बाट उक्त कानुन कार्यान्वयन हुनेछ ।