जुम्लाको तिला गाउँपालिका–५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानले ठूलो राहत महसुस गरेका छन् । स्थानीय भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएपछि स्थानीय जनता उत्साहित हुन पुगेका हुन् ।
उद्योग स्थापना भएपछि उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसान आफ्नो आम्दानी बढ्ने र रोजगारको ढोका खुल्ला रहनेमा आशावादी हुन पुगेका छन् । उद्योग स्थापना भएको गाउँका स्थानीय जनताको मुख्य आम्दानीको स्रोत भनेको भेडापालन नै रहेको छ ।
उद्योग स्थापना भएपछि वडाध्यक्ष ललितबहादुर शाही पनि निकै खुशी छन् । उनले भन्ने पनि गरेका छन्, ‘स्थानीय भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका लागि उद्योग स्थापना गरिएको हो ।’
‘राडीपाखी उद्योगमा केही बेरोजगार युवाले रोजगारी पाउने’ भन्दै वडाध्यक्ष शाहीले ‘ऊन उत्पादन जिल्लाको एक गतिलो पहिचान बन्ने’ विश्वास समेत व्यक्त गरेका छन् । तर यसका बजारीकरणका लागि वडा सरकारले आवश्यक सहयोग पु¥याउनु पर्ने कुरामा उनले जोड दिँदै आएका छन् ।
देश पूरै परमुखापेक्षी बन्दै गइरहेको बेलामा परंपरागत रुपमा गरिँदै आएको भेडापालन पनि लोप हुँदै गइरहेको छ । यस्तो बेलामा स्थानीय भेडापालक किसानलाई पुनः आशावादी बनाएर राडीपाखी उद्योग स्थापना गर्नमा जोड दिनु स्थानीय सरकारको दीर्घकालीन सोचको उपज भएको जान्नेसुन्नेहरु बताउन थालेका छन् ।
केही मानिसको आशा र विश्वास घट्दो क्रममा रहे तापनि अरु केहीमा भने भेडापालनप्रति मोह र आशा बढेर जान थालेको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताउँछन् । उनका अनुसार यो मोह र विश्वासले ऊन उत्पादनमा बढोत्तरी ल्याउने छ ।
उद्योग स्थापनाको यो प्रतिफल पशु अस्पताल तथा पशुसेवा कार्यालयको ‘एक पालिका, एक पशु सेवा’ अन्तर्गतको कार्यक्रम कार्यान्वयनका क्रममा हात लागेको हो । ९ लाख ५० हजारमा पशु अस्पताल तथा राडीपाखी उद्योग स्थापना गरिएपछि अहिले पशुसेवा कार्यालय किसानको नजरमा पर्न थालेको छ ।
यो उद्योगले ऊनी वस्त्र उत्पादनका रुपमा राडीपाखी, सुइटर, लिउ, पाखीजस्ता सामग्रीको उत्पादन गर्ने तथा तिनको वैज्ञानिक बजार व्यवस्थापनमा लाग्ने वडापालिकाले जनाएको छ ।